arrow

‘काठमाडौंलाई महान् घर जस्तै गरेर चलाउँछु’ – सिर्जना सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
srijana-singh-2079.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी मेयरकी उम्मेदवार सिर्जना सिंहले नेपाली कांग्रेसको घोषणापत्र र आफूले निकालेको संकल्प पत्रलाई अगाडि सारेर काम गर्ने बताएकी छिन् । 

पाँच दलीय सत्ता गठबन्धनको काठमाडौँको शान्तिबाटिकामा आयोजित संयुक्त चुनावी आमसभामा बोल्दै सिंहले महानगरलाई आफूले महान् घर बनाउने अठोटसमेत सुनाएकी छिन् । 

उनले महानगरभित्र सुशासन कायम गर्ने आफ्नो प्रमुख दायित्व भएको भन्दै मेयर भएपछि डिजिटल दुनियाँमा घरबाटै सेवा लिने गराउने बताइन् । 

उनले फोहर व्यवस्थापनदेखि सडकको समस्या समाधान गर्ने पनि उनले बताएकी छिन् । सडक विभागभित्र समन्वय गरेर सडकका खाल्डा पुर्नेदेखि ट्राफिक व्यवस्थापन गर्नेसमेत पनि उनले बताएकी छिन् । 

उनले देशको राजधानी असुरक्षित र अन्धकार भएको भन्दै टोल गल्ली सबैतिर सीसीटीभी राख्नुका साथै बत्ती राखेर टोलटोलमा ‘क्विक रेस्पोन्स टिम’ समेत तैनाथ गर्ने उनले बताइन् । 

उम्मेदवार सिंहले महिलाहरुका लागि विशेष प्याकेज लिएर आउनेसमेत बताइन् । उनले भनिन्, ‘महिला दिदी बहिनीलाई उहाँहरुले उत्पादन गरेको सामानलाई कोशेली घर बनाएर उहाँहरुको राम्रो उत्पादनलाई विदेश लैजानसमेत कोसिस गर्नेछु ।’ 

उनले आफूले पनि हनुमान ढोकाको जेलको चिसोदेखि धेरै दुःख पाएको भन्दै युवाहरुलाई आफूले केही दिने पनि बताइन् । 

काठमाडौंको कलालाई बाहिर ल्याउने भन्दै उनले युवा परिचालन गर्ने पनि उनले बताइन् । 

सबै खेलकुदका क्लबहरुलाई समेटेर खेलकुदमा युवालाई जोड्ने पनि उनले प्रण गरेकी छिन् । उनले प्रत्येक वडामा ज्येष्ठ नागरिक भवन बनाउनेसमेत आश्वासन दिएकी छिन् । 

उनले प्रत्येक वडामा डाक्टर र नर्स राखेर ज्येष्ठ नागरिकलाई घरघरमा गएर सेवा दिने पनि उनले बताइन् । 

उनले शिक्षाको गुणस्तर बढाउने पनि बताइन् । उनले काठमाडौं ७७ जिल्लाकै मानिसहरु बस्ने शहर भए पनि यसको मौलिक सम्पदाको पनि उजागर गरेर सधै अगाडि ल्याउन अग्रसर हुने पनि बताइन् । 

उनले काठमाडौं शहरलाई विश्वमा चिन्ने शहर बनाउने बताउँदै उनले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने पनि बताइन् । त्यस्तै २४ ऐ घण्टा बजार खुलाउने पनि उनले बताइन् । 

उनले आफ्ना ससुरा एवं सर्वमान्य नेता गणेशमान सिंहको भनाइलाई सम्झदै महानगरपालिकाभित्रका सबै नदी नाला सफा गरेर देखाउने बताइन् । 

उनले शहरमा एक गिलास पानीसमेत पिउन नपाउने भन्दै वडा र समुदायसँग समन्वय गरेर निःशुल्क पानीको व्यवस्था गर्नेसमेत बताइन् । 

उनले मतदाताको कहिले पनि शिर निहुरिन नदिने भन्दै निःशुल्क शौचालयकोसमेत व्यवस्था गर्ने उनले बताइन् । 

उनले ‘काठमाडौंलाई महान् घर जस्तै गरेर चलाउँछु’ भनिन् । त्यसका लागि उनले आफूलाई र आफ्नो टिमलाई जिताउनसमेत उनले आह्वान गरेकी छिन् । उनले गठबन्धनलाई नै जिताउन आग्रह गर्दै तपाई मैले कल्पना गरेको भरिपूर्ण काठमाडौं बनाउने बताइन् । 

सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नेछन् । सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् । 

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।
 



नयाँ