arrow

चुनावका बेलामा पानी पर्ने चिन्ता, तीन प्रकारका प्रणाली एकैपटक सक्रिय, यस्तो हुनेछ अवस्था 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
weather-2022-evergreen.jpg
तस्बिर– फाइल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ ।

आइतबार जारी गरिएको बुलेटिनअनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । 
साथै दक्षिण बङ्गालको खाडीमा चक्रवात  ‘असानी’  विकसित भएको छ । उक्त प्रणाली उत्तरपश्चिम (भारत) तर्फ सर्ने क्रममा रहेको र बैशाख ३० गतेसम्म कमजोर अवस्थामा उत्तरी बङ्गालको खाडीमा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना देखिन्छ । सो कारणले आसन्न स्थानीय निर्वाचनमा देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । 

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

महाशाखाले मौसमी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने जनाएको छ ।

काठमाडौं उपत्यकामा दिनभरजसो नै फाटफुट वर्षा भइरह्यो । साँझ परेपछि भने बढी नै वर्षा भएको थियो । देशका अधिकांश भागमा आइतबार फाटफुटदेखि मध्यम वर्षा भएको छ । सबैभन्दा बढी वीरेन्द्रनगरमा वर्षा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ