arrow

माधव नेपालको क्षेत्रमा गठबन्धन हुन सकेन, कागेश्वरीमा कांग्रेस–माओवादीको तालमेल बलियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
279785499_589215852200055_1465430838817694357_n.jpg

काठमाडौं । देशभर प्रायः सत्तारुढ गठबन्धन हुँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चुनावी क्षेत्रमा भने गठबन्धन हुन सकेन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर चुनावी तालमेलको अन्तिम कसरतमा गठबन्धनका दलहरु सक्रिय भए पनि माधव नेपालको क्षेत्र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भने अन्तिमसम्म नै त्रिपक्षीय भिडन्त हुनेछ । त्यहाँ गठबन्धन हुने अवस्था देखिएको छैन । पुरानै उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन् । 

नेपालले लामो समयसम्म आफ्नो निर्वाचन क्षेत्रमा चुनावी गठबन्धन कायम राख्ने निकै प्रयास गरे पनि नेपाली कांग्रेस र माओवादी केन्द्रले अलग्गै गठबन्धन गरेपछि अहिले त्रिपक्षीय भिडन्तको चरणमा छ । गठबन्धन दलहरुले तालमेल हुन नसकेको स्थानमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी केन्द्रमा सहमति गरेपछि एस कागेश्वरी मनोहरामा कांग्रेस र माओवादीसँग प्रतिष्पर्धामा उत्रिनु पर्ने भयो । 

दुई दल एक ठाउँमा उभियो एस एक्लै पर्यो । कांग्रेसले मेयर र माओवादी उपमेयरमा उम्मेदवारी दिएका छन् भने एमाले र एसले एकल्लाएक्लै उम्मेदवारी दिएका छन् । जसले गर्दा त्यहाँ त्रिपक्षीय भिडन्त हुने अवस्था आएको छ ।

एसबाट निवर्तमान मेयर कृष्णहरी थापा निर्वाचनमा होमिएका छन् भने कांग्रेस र माओवादीका तर्फबाट कांग्रेसका स्थानीय नेता उपेन्द्र कार्की मैदान उत्रिएका छन् । 

कांग्रेसले माओवादीलाई उपमेयर दिएर निर्वाचनमा होमिएको छ । २०७४ सालको स्थानीय चुनावमा थोरै मतले पराजित भएका कार्कीले यसपटक माओवादीसँग सहकार्य गर्दा सहज जित निकाल्न सकिने धेरैको बुझाइ छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा थापासँग ४ सय ८२ मतले मात्रै कार्की पराजित भएका थिए । त्यसमा नेकपा एमालेका तर्फबाट अहिले नेकपा एसमा गएर मेयरका उम्मेदवार बनेका थापाले ८ हजार ९ सय १८ मत ल्याएर जीत हासिल गरेका थिए भने कार्कीले ८ हजार ४ सय ८२ मत ल्याएका थिए । 

त्यतिबेला माओवादीले करिब ३ हजार मत ल्याएको थियो । अहिले एमाले विभाजित भएको छ । एमालेबाट रामशरण ढुंगाना उम्मेदवार बनेका छन् ।
एमाले उम्मेदवारको सन्तुलन मिलाएका कारण जित्ने अपेक्षा गरिएको छ । 

भद्रवासबाट मेयर र गोठाटारबाट उपमेयरको उम्मेदवार तय गरेर सन्तुलन मिलाएको उनीहरुको दाबी छ । अहिले त्यहाँ १ लाख ३३ हजार जनसंख्या रहेको नगरपालिकामा ३५ हजार मतदाता रहेका छन् । करिब २८ देखि ३० हजार मत खस्ने अनुमान गरिएको छ । 

सो अनुमान अनुसार १० देखि १२ हजार मत ल्याउनेले निर्वाचन जित्न सक्ने अनुमान गरिएको छ । त्यसमा एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन् । दुवैले प्रतिस्पर्धा गरिरहँदा एस पार्टीले मत काट्दा एमालेलाई अप्ठेरो पर्ने भएको छ । तर वडा नं ७ का वडाध्यक्ष एमालेमा प्रवेश गरेकाले उसले केही राहतको महसुस गरेको छ । सामान्यतया माओवादीले १२ देखि १५ सय मत कांग्रेसलाई थपिदिएमा जीत सहज हुने भएको हो ।
 
कांग्रेसका कार्कीले स्थानीय तहलाई अधिकार सम्पन्न गराएर जनताको मर्म र भावाना अनुसार काम गर्ने बताएका छन् । अहिलेको मेयरले जनताको भावना र मर्मविपरित काम गरेकाले जनता धेरै नै प्रताडित बन्नु परेको बताउँदै पारदर्शिता र सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । 

नयाँ बस्ती विकासको अवधारण अनुसार कृषि, पर्यटन, ढल निकास जस्ता समस्यालाई समाधन गर्ने गरी अघि बढ्ने उनको योजना रहेको छ । ‘परदर्शिता र सुशासनमा धेरै चुक्यो कागेश्वरी अब त्यस्तो हुन्न कांग्रेस माओवादीको गठबन्धनले चुनाव जितेपछि पारदर्शिता र सुशासनलाई ध्यान दिनेछ । कागेश्वरी मनोहरा महानगरपालिकासँग जोडिएको छ, बस्ती विकासमा अव्यवस्थित छ त्यसलाई व्यवस्थित बनाएर सुन्दर शहर बनाउनु पर्ने पहिलो दायित्व हो हरेक वडामा नमूना बस्ती बसाउनु छ, हरेक वडामा खानेपानी समस्यालाई समाधान गर्नुछ,’ कांग्रेसका उम्मेदवार कार्कीले भने । 

त्यसैगरी उनले नगरपालिकालाई स्पोर्टस सिटीको रुपमा पनि अघि बढाउने संकल्प गरेका छन् । शहरको ब्राण्डिङ गर्ने, स्पोर्ट सिटीको रुपमा विकास गर्ने, उत्पादन सहयोग गर्ने, दिगो विकासको लक्ष्यमा अघि बढ्ने योजना रहेको छ । शिक्षा स्वास्थ्यमा अब्बल शहरको रुपमा विकास गर्नेछौ’, कार्कीले भने ‘पूरा नहुने सपना बाँडेको छैन सबै पूरा गर्ने बाँचाहरु छन् जुन कुरा मैले भन्ने गरेको छु त्यही पूरा गर्नेछु ।’

त्यसैगरी एमालेले २०४९ सालमा भद्रवास वडाध्यक्ष र गाविस अध्यक्ष भएर काम गरिसकेका ढुंगानालाई उम्मेदवार बनाएको छ । आफ्नो जीत सुनिश्चित रहेको बताउने ढुंगाना एमालेको संगठन बलियो रहेको बताउँदै पार्टीले अघि सारेको घोषणा पत्र अनुसार काम गर्ने बताए । 

उनले सडक यातायात, सडक सुरक्षा, आवास व्यवस्था, कृषि तथा सहकारी, भूमि व्यवस्थापन र शहरी विकास, फोहोर मैला व्यवस्थापन र सरसफाई, खानेपानी ढल निकास, स्वास्थ्य शिक्षा, सुशासन र पारदर्शिता, श्रम रोजगारी र गरिबी निवारण, पर्यटन कला, संस्कृति, आधुनिक उर्जा, विपद जोखिम व्यवस्थापन, जेष्ठ नागरिक सम्मान, वन तथा वातावरण, जस्ता विषयलाई प्राथमिकतामा राखेको बताए । 

उनले गुणस्तरीय शिक्षाको अवधारणा अनुसार कागेश्वरी मनोहरामा कक्षा १० सम्म निःशुल्क शिक्षा दिनेसमेत बताएका छन् । नेकपा एसका निवर्तमान मेयर थापा पनि आफू चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन् । 

उनले अघिल्लो कार्यकालमा अधुरा रहेका कामलाई पूरा गर्ने भन्दै जनतामाझ मत मागिरहेका छन् । ‘हामीले पाँच वर्ष काम गरेको अनुभव छ जितेको भोलिपल्ट काम गर्न सक्ने अवस्था छ अहिले गरेको विकास निर्माणकै कामको आधारमा मलाई नगरवासीले मतदान गर्नेछन्’, एस पार्टीबाट उम्मेदवार बनेका थापाले भने । 

यतिबेला तीन वटै पार्टीहरुले आफूलाई जित्ने बताए पनि कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने अवस्था छ । एस पार्टीको संगठन पनि नभएको र संगठित मत पनि नभएका कारण दुई पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको हो । 

कागेश्वरी मनोहरा नगरपालिकामा खासगरी कार्की जनघनत्व बढी भएको स्थानको उम्मेदवार भएका कारण पनि उनलाई सहज अवस्था रहेको छ । साथै अहिले माओवादीसँग सहकार्य गरिरहेकाले पनि उनलाई मत लिन सहज हुने अनुमान गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ