arrow

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा मतदान

logo
रासस,
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
bishow-prakash-sharma-vote-jhapa-mechinagar.jpg

झापा। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन्। स्थानीय तहको निर्वाचन अन्तर्गत उनले बिहान मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशभर उत्साहपूर्वक मतदान भइरहेको र काँग्रेसको पक्षमा नतिजा आउने विश्वास रहेको बताए।

यसैबीच मेचीनगरमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र ) र जनता समाजवादी पार्टीको गठबन्धनका तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएको इन्द्र बुढाथोकीले मेचीनगर १० को शिशु साक्षर मतदान केन्द्रमा मतदान गरे। सोही वडाको हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेचीनगरमा नेकपा (एमाले)बाट नगरप्रमुख पदमा उम्मेदवार गोपालचन्द्र बुढाथोकीले समेत मतदान गरे।

आज बिहानैदेखि मौसम शीतल भएकाले मतदाता उत्साहित भएर मतदान केन्द्रमा लामबद्ध भएका छन्। मेचीनगरमा ९० हजार २०२ मतदाता छन्। ती मध्येमा ४५ हजार ९० महिला र ४५ हजार ११२ पुरुष मतदाता छन्।

निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगरमा ३२० उम्मेदवार रहेको जानकारी दिए। तीमध्ये एमालेको तर्फबाट एक दलित महिला उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकी छिन्।

मेचीनगरमा ३५  मतदान स्थल र १०२  मतदान केन्द्र छ। मेचीनगरमा ८१६ जना कर्मचारीसहित सुरक्षाकर्मी र पर्यवेक्षक चुनावमा खटिएका छन्।



नयाँ