arrow

राजेन्द्र महतोको वडामा कांग्रेसको झण्डा फहरायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
shambu-teli.JPG

सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको गाउँमा नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्षमा बाजी मारेका छन् ।

महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका शम्भु प्रसाद साह तेली ६१२ मत सहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका ४७ वर्षीय कामेश्वर साह तेलीले ५४४ मत मात्र प्राप्त गरे । 

लोसपाका वरिष्ठ नेता एवं राष्ट्रिय राजनीतिमा समेत चर्चित खेलाडीको रूपमा परिचित राजेन्द्र महतोको गाउँमा ४२ वर्षीय शम्भुले वडाध्यक्षमा विजय हासिल गर्दै कांग्रेसको चार तारे झण्डा फराउन सफल भएका छन् । लोसपा वरिष्ठ नेता महतोको वडामा निकै वर्षपछि कांग्रेसले जीतेको हो ।

नेता राजेन्द्र महतोका दाजु महेन्द्र महतो सुडीले चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा पुनः उम्मेदवारी दिएका छन् । उनी यसअघि पनि चन्द्रनगर गापामा निर्वाचित अध्यक्ष थिए । राजेन्द्र महतो र अध्यक्षका प्रत्याशी महेन्द्र महतो सुडी दाजुभाइले आफ्नै वडाको वडाध्यक्ष चुन्न गरेको मतदान खेर गएको छ । त्यस्तै राजेन्द्र महतोका भतिजा एवं महेन्द्र महतो सुडीका छोरा उपेन्द्र महतो क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क बाट प्रदेश सभा सदस्य छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भने उक्त वडाबाट राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) बाटै रामनारायण महतो कोइरी ८६४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए । यो पटकको निर्वाचनमा भने रामनारायण कांग्रेसमा प्रवेश गरे र उनका छोरा राजकुमार महतो स्वयं कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको प्रत्याशी छन् । त्यस्तै चन्द्रनगर–१ को वडाध्यक्षमा पनि कांग्रेसका राम ईश्वर महतोले ६४६ मत सहित वडाध्यक्षमा बाजी मारे । त्यहाँ निकटतम प्रतिद्वन्द्वी लोसपाका सुशील कुमार रायले ३७१ मत मात्र पाएका छन् ।

दुई वटा वडाको मत गन्दा गाउँपालिका अध्यक्षमा पनि कांग्रेसका राजकुमार महतोले अग्रता हासिल गरेका छन् । कांग्रेसका महतोले एक हजार ६५९, लोसपाका महेन्द्र महतो सुडीले ९६८ र नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ६११ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा भने कांग्रेसकी मञ्जु देवीको एक हजार २२७, माओवादीकी गीता देवी महतोको एक हजार २२ र लोसपाकी कुन्ती देवी साहको ९४५ मत रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ