arrow

माधव नेपालले भत्काइदिए आफैंले खडा गरेका किल्लाहरु, निरीह बने केपी ओली, लालगद्दार सम्हालिनसक्नु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
ko-oli-madhav-nepal1.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमालेलाई  स्थानीय तहको निर्वाचनमा विभाजनको गम्भीर असर परेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पालिकामा एमालेका उम्मेदवार थोरै मतले पराजित हुनु र एमालेका किल्लाहरु भत्किनुले विभाजनको असर परेको हो । 

एमाले विभाजनपछि ३० वर्षदेखिका किल्लाहरु भत्किएका छन् । खासगरी बुटवल, धरान, इटहरी, हेटौडा, विदुर दमक लगायतका शहरी इलाकाहरु एमालेले गुमाएको छ । केही उपनगरपालिका र नगरपालिकाबाहेक एमालेलाई घाटा लागेको छ । मतान्तरण अवस्था फराकिलो नभएको र एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनले सत्ता साझेदार दललाई फाइदा भएको देखिन्छ भने एमालेलाई घाटा भएको छ । 

६ वटामध्ये कुनै पनि महानगरपालिकामा एमालेले जित निकाल्न सकेन । कम्तीमा दुई वटा महानगर जित्ने अपेक्षा राखेको एमालेलाई यसपल्ट पार्टी विभाजनले ठूलै घाटा भएको छ । एमालेबाट विभाजित भएको माधव नेपाल नेतृत्वको नेकपा एसले एमालेकै उम्मेदवारलाई पराजित गरेका पनि छन् । 

रौतहटको गौरमा एकीकृत समाजवादीका उम्मेदवारले कांग्रेस, एमाले तथा माओवादी केन्द्र जस्ता दलका उम्मेदवारलाई नै पराजित गरेका थिए । सल्यानको कपुरकोट गाउँपालिका, मुगुको सोरु, उदयपुरको उदयपुरगढी गाउँपालिका लगायतका अन्य पालिकामा एमालेकै उम्मेदवारलाई पराजित गरेका छन् । 

गत भदौमा एमालेबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नेकपा एस गठन गरेका थिए । एमाले विभाजनपछि भएको स्थानीय तहको निर्वाचनबाट वर्षौंदेखि एमालेका गढ क्षेत्र भत्किएका छन् । थोरैथोरै मतले कांग्रेसले निर्वाचनमा जित हात पारेको छ । 

कांग्रेसले एमालेका गढ भत्काएर जित हात पारेको छ । बुटवलमा हारेपछि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई संसदीय निर्वाचनमासमेत अप्ठेरो पर्ने अवस्था छ । 

हेटौंडा २०४९ सालपछि पहिलो पटक एमालेको कब्जाबाट बाहिर आएको छ । त्यहाँ एमाले इतरको गठबन्धन रहेको थियो । एमालेको गढको रुपमा रहेको पोखरा पनि पहिलो पटक एमालेबाट फुत्किएको छ । यसरी हेर्दा अघिल्लो निर्वाचनमा उसले २९४ पालिकाको नेतृत्व जितेको थियो । समग्रमा उसलाई करिब ९० पालिकाको नेतृत्व घाटा लागेको देखिन्छ ।

इलाममा नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र गोदकमा बहुदलपछि पहिलो पटक नेपाली कांग्रेसले जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका दिलीप प्रधान ‘ओमनाथ’ ले सो क्षेत्रमा जितेका हुन् । 

३१ वर्षदेखि त्यस स्थानमा एमालेले जित्दै आएको थियो । त्यहाँ कांग्रेसको जितसँगै एमालेको किल्ला भत्किएको छ। कांग्रेसका प्रधान एमालेका उम्मेदवार रोम लुंगेलीलाई ३ सय ६० मतले पछि पार्दै गोदकको वडाध्यक्ष बनेका हुन् । प्रधानले १ हजार ४ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लुंगेलीले १ हजार ४८ मत पाए ।

इलामकै सन्दकपुर गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपा एसले लिएर चुनावी गठबन्धन गरेका थिए । गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भए । त्यहाँ पनि एमाले विभाजनको असर स्पष्ट देखिएको छ । 

कास्कीको माछापुछ्रे गाउँपालिकामा पनि कांग्रेसले बाजी मारेको छ । अन्तिम मत परिणामअनुसार गाउँपालिका प्रमुखमा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पछि पार्दै कांग्रेसका मिनबहादुर गुरुङले जितेका हुन् । 

उपप्रमुखमा पनि कांग्रेसकी सीता अधिकारीले एमालेकी सीता तिवारीलाई पछि पार्दै विजय हात पारिन् । अधिकारीले ६ हजार ३ सय ७६ र तिवारीले ५ हजार ९ सय ५१ मत पाए । 

त्यहाँ पनि २०५४ र २०७४ मा एमालेले जितेको थियो । नारायण नगरपालिका–१ दैलेखको सदरमुकाम रहेको वडा हो। राजनीतिक हिसाबले निकै  महत्वपूर्ण मानिने सो वडामा यसअघिका दुई स्थानीय निर्वाचन एमालेले जितेको थियो ।

२०५४ देखि निर्वाचनमा जित्दै आएको वडामा २६ वर्षपछि एमालेले हार भोगेको छ । त्यस्तै अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले ‘क्लिन स्विप’ गरेको धनकुटाका दुई पालिकामा अहिले कांग्रेसले जितेको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा कांग्रेसले जित हात पारेको हो ।

छथर जोरपाटी गाउँपालिकामा कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३ सय ५९ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेका शेरबहादुर लिम्बूले ४ हजार १ सय ६४ मत प्राप्त गरे। 

त्यस्तै साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जितेन्द्र राई ५ हजार ३ सय ९९ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी एमालेका कुमारजंग याख्खाले ४ हजार ८ सय २८ मत पाए । 

त्यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिकामा पनि एमालेको गढ भत्किएको छ । त्यहाँ २६ वर्षपछि कांग्रेसले चुनाव जित्ने अवसर पाएको छ । सोताङमा कांग्रेसका खिलराज बस्नेतले एमालेका प्रकाश कार्कीलाई पराजित गरेका हुन् । 

एमालेकै किल्ला मानिएको रामेछापको गोकुलगंगा गाउँपालिकामा पनि कांग्रेसले ३० वर्षपछि जित निकालेको छ । 

वर्षौंदेखिको वामपन्थी गढ मानिएको काठमाडौंको कीर्तिपुरमा पनि यसपटक कांग्रेसले जित निकालेको छ । कीर्तिपुर नगरपालिकामा कांग्रेसले मेयरसहित बहुमत वडामा जित हासिल गरेको छ । 

मेयरमा कांग्रेसका राजकुमार नकर्मी एमालेका रत्नकेशर बज्राचार्यलाई पछि पार्दै विजयी भएका हुन्। नकर्मी ९ हजार ४३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा एमालेका बज्राचार्यले ५ हजार ५ सय ७ मत ल्याए । कीर्तिपुरका अघिल्ला दुई स्थानीय निर्वाचनमा एमालेले विजय हासिल गरेको थियो । 

यसपटक मेयर–उपमेयरसहित ९ वटा वडाको वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भए । एमाले नेतृत्वले पार्टीभित्र १० बुँदे सहमतिका पक्षधर नेतालाई टिकट नदिनु र कीर्तिपुरका लोकप्रिय नेता सुरेन्द्र मानन्धर जिम्मेवारीविहीन हुनु नै हारको प्रमुख कारण मानिएको छ । 

गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका खिलध्वज पन्थी पनि थोरै मतले विजयी भएका छन् । उनले एक हजारभन्दा कम मतले प्रतिस्पर्धी एमालेका राजेन्द्रप्रसाद पाण्डेलाई हराएका हुन् ।

त्यसो त एमालेभित्रै धेरै नै ‘लालगद्दार’ जन्मिएको पनि बताइन्छ । विभिन्न पालिकामा एकले अर्कोलाई सहयोग नगर्ने नीति स्पष्टै देखिएको छ । नेताहरु आफ्नो जुँगाको लडाइँ स्थानीय तहको निर्वाचनमै देखाउन खोज्दा आफ्नै पार्टीका उम्मेदवारमाथि गद्दारी गर्न पुगेको बताइन्छ । 

एमालेका एक केन्द्रीय सदस्य भन्छन्, ‘हाम्रोमा लालगद्दारहरु सम्हालिनसक्नु भए । आफू र आफ्नाले टिकट पाए जित्नलाई खर्च गर्ने र अर्कैले टिकट पाए हराउनलाई खर्च गर्ने प्रवृत्ति बढ्यो । यसले हानि पार्टीलाई नै गर्ने हो ।’
हार्नलाई किन खर्च गर्नु पर्यो त ? भन्ने जिज्ञासामा उनले सटिक जवाफ दिए, ‘अहिले फराकिलो मतान्तरले हराइयो भने अर्को पटक त्यही निहुँमा आफूले टिकट पाइन्छ । अहिलेदेखि नै जनताका काम गरेजस्तो गरियो भने जित्ने पक्काजस्तै हुन्छ ।’

यहाँनेर राजनीतिलाई करियरका रुपमा हेर्दा पनि यो ‘तिकडम’ खेल्नु नेताहरुको बाध्यता बनेको छ । तर ‘आफ्नै नेताहरुलाई सम्हाल्न नसक्ने हो र आफ्नालाई मात्र टिकट दिने हो भने स्थानीय तहले त ऐना देखाएको छ । संघीय चुनावले पूरै उदाङ्गो बनाइदिने छ । यसबारे पार्टीमा गम्भीरपूर्वक छलफल हुनुपर्छ’, उनले भने । 

माधवकुमार नेपालले भने एमाले बनाउनका लागि निकै नै मेहनत गरेका थिए । तर उनी नै पार्टीबाट विद्रोह गरेर छुट्नु परेपछि आफैंले खडा गरेका लालकित्ता भत्काउन बाध्य भएका हुन् । छोटो समयमै नेपालले पनि आफ्नो अस्तित्व देखाइदिएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली भने यतिबेला निरीह बनेका छन् । उनले आफ्नो भाषणबाटै मतदाता पट्याउँछु भन्ने सोचेका थिए । २०७४ सालको निर्वाचनमा उनले राष्ट्रभक्ति धेरैलाई पढाएका थिए । यसपालि उनको साढे तीन वर्षे कार्यकालका बेलामा भएको भ्रष्ट चरित्र उदाङ्गिएसँगै कसैले पत्याएनन् । 

मौनतामा ओलीः दश दिन जहाँ भाषण गरे अधिकांश पालिकामा हार्‍यो एमाले 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ