arrow

मेयर बन्ने भएपछि वालेन्द्रले भने - पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
balen-saha.PNG

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बन्ने पक्का भएपछि स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुने बताएका छन् । 

सामाजिक सञ्जालमा सबैलाई धन्यवाद दिदै उनले घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला भनेका छन् । 

वालेन्द्रले समर्थकहरुलाई काठमाडौं नआई आफ्नै ठाउँमा खुसीयाली प्रकट गर्न  'धन्यवाद र्‍याली' गर्न अनुरोध गरेका छन् । उनले बाटो बिराउन लागे भने खबरदारी गर्न भनेका छन् । 

उनी नेपाली कांग्रेस र एमालेका उम्मेदवार भन्दा करिब दोब्बर मत ल्याएर काठमाडौंको मेयर बन्दै छन् । 

वालेन्द्रको भनाइ
स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुँदैन ।

जीत-हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने सङ्केतसम्म पनि नगरौँ । 

यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । हाम्रो स्वयमको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरूलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा सङ्केत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।

दोस्रो, ठाउँ ठाउँबाट र्‍यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईँहरू कोही पनि र्‍यालीका लागि काठमाडौं आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ । 

अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा 'धन्यवाद र्‍याली' गर्नु होला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । 'बालेन'हरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ  । 

अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ । हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ । 

हामीलाई साथ र सुझाव जति महत्त्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैँ तपाईँहरूसँग जोडिरहेका हुन्छौँ । तपाईँहरूको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।

अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोल टोल र गाउँ गाउँमा 'बालेन'हरू भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् । अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ