काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना साउदी अरेबिया र इजरेलको भ्रमण गर्ने र यसबारे ह्वाइट हाउसले यसै हप्ता यात्राको घोषणा गर्ने योजना गरिरहेको स्रोतले रायटर्सलाई बताएको छ ।
जुलाईको मध्यतिर हुने अपेक्षा गरिएको भ्रमणका क्रममा बाइडेनले साउदीका राजकुरमा मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने सम्भावना रहेको स्रातेले जनाएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले बाइडेनको इजरेल र साउदी अरेबिया भ्रमणको योजना बनाइएको पुष्टि गरेका छन्। 'हामीसँग पुष्टि गर्न कुनै थप यात्रा विवरण छैन, तर हामी चाँडै घोषणा गर्नेछौं,' प्रवक्ताले भनेका छन्।
सन् २०१८ मा टर्कीमा राजनीतिक प्रतिद्वन्द्वी एवं वाशिंगटन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यामा साउदीका राजकुमार सलमानको भूमिका रहेको बाइडेनले शंका गरेको ह्वाइट हाउसले जनाएको छ ।
इस्तानबुलको साउदी वाणिज्य दूतावासमा खशोग्गीको हत्याले साउदीका राजकुमार सलमानको छविलाई धमिलो बनाएको छ। तर साउदी सरकारले उनको कुनै पनि संलग्नता अस्वीकार गरेको छ।
बाइडेनले अमेरिकामा पेट्रोलको मूल्य घटाउने उपाय खोजिरहेका बेला यो भ्रमण साउदी अरेबियासँगको सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यको हुने ठानिएको छ ।
बाइडेनकाे साउदी भ्रमणकाे विषयमा डेमाेक्रेटकै सांसदले समेत असन्तुष्टि जनाएका छन् ।