arrow

जग्गा फुकुवाको माग गर्दै आन्दोलनमा उत्रिए विमानस्थल क्षेत्रका स्थानीय

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ असार ७ मंगलबार
biratnagar-airport-locals-struggle-committee.jpg

मोरङ । विराटनगर विमानस्थलस्थल क्षेत्रका स्थानीय जग्गा फुकुवाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । विमानस्थल विस्तार गर्ने भन्दै सरकारले रोक्का राखेको जग्गा फुकुवाको माग राखेर मङ्गलबारदेखि स्थानीयले चरणबद्ध आन्दोलन शुरु गरेका हुन् ।

लामो समयदेखि जग्गा रोक्का राखेको‚ मुआब्जासमेत नदिएको र बजेटमासमेत मुआब्जा सुनिश्चितता नगरिएको भन्दै विमानस्थल पीडितहरू आन्दोलनमा उत्रिन बाध्य बनेको संघर्ष समितिका संयोजक वेदराज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार विमानस्थल पीडित सङ्घर्ष समितिले गत जेठ ३० गते जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ७ दिने अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको थियो । तर अल्टिमेटमको समय सकिए पनि सरकारले आफ्ना मागमा कुनै चासो नदिएको भन्दै आन्दोलन थप सशक्त बनाएको उनको भनाइ थियो ।

उनका अनुसार समितिले असार १० गते जिल्ला प्रशासन कार्यालयअगाडि जग्गा प्राप्ति ऐन, २०३४ जलाउने र ऐन परिमार्जनका लागि सरकारलाई दबाब दिने कार्यक्रम राखेको छ । समितिले असार ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पुत्ला दहन, प्रमुख राजनीतिक दलहरूलाई आन्दोलनप्रति समर्थन र अपनत्व ग्रहणका निम्ति पत्राचार तथा शीर्ष नेताहरूसँग अन्तरक्रियाको कार्यक्रम राखेको जानकारी पौडेलले दिए ।

डेढ वर्षदेखि सरकारले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अधिग्रहणका लागि भनेर विराटनगर विमानस्थल क्षेत्र आसपासका १२६.४६ बिघा जमीन रोक्का राखेको भए पनि विमानस्थल विस्तारको विषय ओझेलमा परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ