arrow

बामदेवलाई कार्यवाहक दिएर बैंकक गए ओली

विमानस्थलमा आफ्नो बाँयापट्टी राखेर नेता कार्यकर्ता चकित पारे

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
oli-news-TIA.jpeg
काठमाडौं । लामो समयको तिक्ततापछि अन्ततः एमाले अध्यक्ष केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर बैंकक उडेका छन् । 
 
स्वास्थ्य उपचार गर्न दुई साताका लागि बैंकक उडेका अध्यक्ष ओलीले उपाध्यक्ष गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । विहीबार नै एमाले महासचिव ईश्वर पोखरेलले गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको पत्र हस्तान्तरण गरे । 
 
अध्यक्ष ओली स्वास्थ्य परीक्षण गर्न थाइल्यान्डको राजधानी बैंकतर्फ उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमाले नेतारुको भीड लाग्यो । 
 
अध्यक्ष ओलीलाई विदाई गर्न उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य किरण गुरुङ, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु विमानस्थल पुगे । यद्यपि, ओलीले अन्य नेता भन्दा बामदेवलाई नै विमानस्थलमा बढी खोजे । 
 
उपाध्यक्ष गौतम ओली पुग्नुभन्दा आधा घण्टा अघि नै विमानस्थलको भीआइपी कक्षमा पुगिसकेका थिए । ओली भीआइपी कक्षबाट प्रेस कक्षमा आइपुग्दा गौतमलाई नदेखेपछि एकछिन् दायाँबायाँ हेर्न थाले । 
 
प्रेस कक्षमा बस्नुअघि ओलीले गौतमलाई खोज्दै भने, ‘बामदेव कमरेड खै ? ए.....तपाई पहिले यतातिर बस्नुस् ।’ अध्यक्ष ओलीले गौतमलाई आफ्नो बाँयातर्फ बस्न लगाए । 
 
विहीबार विमानस्थलमा उपाध्यक्ष गौतम निकै हसिँलो देखिन्थे । अध्यक्ष ओलीले पत्रकारसँग कुराकानी गरिसकेपछि बामदेव विमानसम्मै पुगेर फर्किए । केही दिन अघि सम्म सम्बन्धमा सुधार नआएको चर्चा भइरहेकामा विमानस्थलमा त्यस्तो देखिएन ।
 
ओली प्रधानमन्त्री हुँदा कार्यवाहकको जिम्मेवारी नदिएको र पार्टीको विभिन्न विभागको पदपूर्ति मिलाउने जिम्मा आफुलाई दिने भनिएकामा त्यसो नभएको भन्दै गौतम असन्तुष्ट थिए ।  यस्तै, माओवादी केन्द्रसंगको गठबन्धन तोडिएकामा एमाले नै जिम्मेवार रहेको भन्दै उपाध्यक्ष गौतमले नेतृत्वको आलोचना गर्दै आएका थिए ।  
 
यस्तै, भरखरै सकिएको स्थायी कमिटी बैठकमा समेत चर्चाचर्की भएको र प्रदेश इन्चार्ज तोक्ने विषयमा संघर्ष भएको खबर बाहिर आउँदा विहिबार विमानस्थलमा नेता कार्यकर्तालाई ओली र गौतमले चकित पारे । बैंकक भ्रमणपछि ओली इन्डोनेसिया भ्रमणमा जाने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ