- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । चितवन राष्ट्रिय निकुञ्जका १७ गैंडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ ।
जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो ।
प्रजा २०६० सालमा पक्राउ परेका थिए । पन्ध्र वर्ष काराबासको सजायपछि उनी २०७५ मा रिहा भएका थिए । त्यति बेला उनले १७ गैँडा मारेको स्वीकार गरेका थिए ।
जेलबाट छुटेपछि पनि गैंडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार राति धादिङको मलेखुबाट पक्राउ गरेको छ ।
सिआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिए ।
विसं २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०/२२ वर्षको माउ गैंडा र तीन वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए ।
त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनका क्रममा थप दुई गैंडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चारवटै गैँडाको शिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको बताइएको छ ।