arrow

पार्टीभित्र पदाधिकारी चयन गर्न नसकेका प्रचण्ड बहकिँदै पुगे रुस–युक्रेन युद्धमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
prachanda-maoist-2079-03-19.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुस–युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडिरहेका बताएका छन् । काठमाडौंमा आइतबारबाट शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले राजनीति प्रतिवेदन पेस गर्दै सतहमा रुस–युक्रेन युद्ध देखिए पनि यसको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडेको बताएका हुन् । 

‘कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण अहिले विश्व राजनीति र अर्थतन्त्रमा गम्भीर संकट देखापरेको छ,’ प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘सतहमा रुस–युक्रेन युद्ध देखिए पनि यसको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडिरहेका छन् । यस युद्धले विश्व शक्ति सन्तुलनमा आउँदै गरेको परिवर्तनलाई संकेत गरेको छ ।’ 

युरोप र एसिया महादेशको बीचमा रहेको रुसको अवस्थिति, सोभियत संघको विघटनपछि भइरहेको पुनःउदय, चीनसँगको बढ्दो सहकार्य र निकटता, ताइवान, तिब्बत लगायतकाको विषयलाई लिएर चिसिएको चीन–अमेरिका सम्बन्ध, चीन–भारतको अर्थतन्त्र र सामर्थ्यको विस्तार नै वर्तमान अन्तर्राष्ट्रिय राजनीतिको प्रमुख मुद्दा रहेको प्रचण्डको दाबी छ । 

अबको अन्तर्राष्ट्रिय राजनीति यिनै सन्दर्भको वरिपरि घुम्ने बताएका प्रचण्डले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको परिवर्तनको प्रभावलाई नेपालजस्तो विशिष्ट भू–राजनीतिक अवस्थाको देशले कुशलतापूर्वक सामना गर्नुपर्ने चुनौती रहेको बताए । 

कोभिड महामारीको असर र रुस–युक्रेन युद्धले विश्वको आर्थिक तथा आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको उल्लेख गरेका प्रचण्डले नेपाल जस्तो आयातमा निर्भर अर्थतन्त्र भएका देशहरूमा मात्र नभई विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रसमेतको आर्थिक वृद्धिदरमा कमी आउने देखिएको बताए । 

केन्द्रीय समिति बैठकमा पार्टी पदाधिकारीहरुको चयन गर्न दबाब बढेको छ । अहिलेसम्म अध्यक्षमात्र चयन भएका छन् । अन्य पदाधिकारीहरु चयन भएका छैनन् । 

प्रचण्डले यसपटक पनि पदाधिकारी चयन गर्ने लक्षण ल्याएका छैनन् । उनले आफ्नो विषयवस्तुलाई मोड्न खोजिरहेको आरोप लाग्न थालेको छ । अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा आकांक्षी धेरै छन् । प्रचण्ड मौन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ