arrow

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
kheladi-upachar-kmc-nobel.jpg

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक गेम्स, दक्षिण एसियाली खेलकुद साग र एसियाली खेलकुदमा सहभागी नेपाली खेलाडीलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पिकमा सहभागी नेपालभरका सबै खेलाडी तथा साग र एसियाली खेलकुदमा सहभागी प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउने भएका हुन् ।

खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतबार विराटनगरमा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो । यो विषयमा नेपाल ओलम्पियन्स एशोसिएसन काठमाडौं र प्रदेश १ खेलकुद विकास बोर्ड विराटनगरले नोबेल र केएमसीसँग छुट्टा–छुट्टै सम्झौता गरेका छन् ।

प्रदेश १ खेलकुद विकास बोर्डसँग भएको सम्झौता पत्रमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा, नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल र प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, ओलम्पियन्स एशोसिएसनसँग भएको सम्झौतामा पनि काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.शर्मा, नोबेलका प्रवन्ध निर्देशक बराल र एशोसिएसनका अध्यक्ष दीपक बिष्टले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्काबीच साटासाट गरिएको थियो ।

सम्झौता अनुसार अन्तर्राष्ट्रिय खेलकुद ओलम्पीकमा भाग लिएका देशभरका सम्पूर्ण खेलाडीले नोबेल र केएमसीमा निःशुल्क उपचार पाउँनेछन् । साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का सम्पूर्ण खेलाडीहरुलाई पनि नोबेल र केएमसीले निःशुल्क उपचार गर्नेछ । उनीहरुले दुवै अस्पतालको क्याबिनमा रहेर उपचार गराउँदा पनि शुल्क लाग्नेछैन । ओलम्पिकमा हालसम्म नेपालका ८८ खेलाडीले भाग लिएका छन् । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ । यता, प्रदेश १ का २२५ खेलाडीले साफ र एशियन खेलकुदमा भाग लिएका छन् । उनीहरुले निःशुल्क उपचार सेवा पाउने छन् ।

यता, ती खेलाडीका आमा–बुबा, श्रीमान–श्रीमती तथा छोरा–छोरीको उपचारमा पनि दुवै अस्पतालले ५० प्रतिशत छुट दिने सम्झौता पत्रमा उल्लेख छ । निःशुल्क तथा उपचारमा छुट पाउनेहरुलाई नोबेल र केएमसीले उपलब्ध गराएको छुट कार्डको आधारमा सेवा दिइनेछ । आइतबारबाटै यो सम्झौता लागू भएको छ ।

कार्यक्रममा बोल्दै केएमसीका कार्यकारी अध्यक्ष डा.शर्माले देशको प्रतिनिधित्व गर्दै खेल्ने खेलाडीहरुको समस्यालाई मध्यनजर गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

‘खेलाडीहरुले आफ्नो देशको नाम राख्नका लागि कडा मेहनतले खेलिरहेका हुन्छन्, उनीहरुको जीवननै त्यसैमा समर्पित भइरहेको हुन्छ,’ डा.शर्माले भने, ‘देशका निम्ति खेल्ने खेलाडीहरुका आफ्नै पीडा व्यथा छन्, उनीहरुले कुनै रोग लाग्दा उपचार गर्ने पैसा छैन भन्न पनि अप्ठेरो भइरहेको हुन्छ, यस्तो समस्यालाई बुझेर निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हौं ।’

डा.शर्मा दम्पतीलाई सम्मान, मुख्यमन्त्रीले पनि गरे प्रशंसा
खेलाडीहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाएर सहयोग पुर्याएको भन्दै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा र नोबेल मेडिकल कलेजका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराललाई सम्मान गरिएको छ ।

प्रदेश १ खेलकुद विकास बोर्डले बोर्ड र ओलम्पियन्स एशोसिएसनको तर्फबाट डा.शर्मा र बराललाई सम्मान गरेको हो । विराटनगरस्थित नोबेल अस्पताल र काठमाडौंको सिनामंगलस्थित केएमसीले ओलम्पीकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुको निःशुल्क उपचार गर्ने गरी सोही कार्यक्रममा सम्झौता भएको थियो । खेलाडीका परिवारका सदस्यलाई पनि ५० प्रतिशत छुटमा उपचार गर्ने गरी बोर्ड र एशोसिएसनले नोबेल र केएमसीसँग सम्झौता गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ