युक्रेन द्वन्द्वले विश्वव्यापी खाद्य र भोकमरीको सङ्कट बढायो
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
543
Shares
काठमाडौं । रुसले कृषि शक्ति केन्द्रका रूपमा रहेको युक्रेनमाथि गरेको आक्रमणले विश्वव्यापी गहुँको आपूर्ति शृङ्खला र बजारमा गम्भीर असर पारेको छ । यसले मूल्य वृद्धि मात्रै नभएर केही देशहरूमा भोकमरी नै सिर्जना गर्ने चिन्ता बढेको छ ।
रोटी, पास्तादेखि मिठाईसम्मको ठूलो परिकार बनाउन गहुँलाई पीठोमा मिलाइन्छ। 'सबैले गहुँ खान्छन्, तर यसलाई उत्पादन गर्न सबै देश सक्षम छैनन्,' अर्थशास्त्री एवं फिडिङ ह्युमनिटी पुस्तकका लेखक ब्रुनो पारमेन्टियरले भनेका छन् ।
करिब एक दर्जन देशले मात्र निर्यात गर्न सक्ने पर्याप्त गहुँ उत्पादन गर्छन्। चीन विश्वको सबै भन्दा ठूलो गहुँ उत्पादक हो भने यसको १.४ अर्ब जनतालाई खुवाउन वस्तुको प्रमुख आयातकर्ता पनि हो।
रुस, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा र युक्रेन विश्वका शीर्ष निर्यातकर्ता हुन्। इजिप्ट, इन्डोनेसिया, नाइजेरिया र टर्की प्रमुख आयातकर्ताहरू हुन्।
रुसले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्न थालेपछि अनाजको मूल्य बढ्दै गएको थियो । यस पछाडिको कारण कोभिड१९ को महामारी, ऊर्जाको मूल्य बढ्नु लगायत थिए ।
कोभिड प्रतिबन्धको अन्त्यले सबै प्रकारका उत्पादनहरूको माग बढ्दै जाँदा विश्वव्यापी आपूर्ति शृङ्खलाहरूमा ठूलो अवरोधहरू निम्त्याएको थियो । यस्तै गत वर्ष क्यानडामा गर्मीको लहरले देशमा निराशाजनक फसल उत्पादन गराएको थियो ।
रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछि गहुँको मूल्य अझै बढेको छ, जुन मे महिनामा प्रति टन ४०० युरो नाघेको थियो भने, गत गर्मीमा यसको स्तर दोब्बर बन्यो ।
विकासशील देशहरूका लागि मूल्य वृद्धि ठूलो सङ्कट बन्ने अवस्था छ । संयुक्त राष्ट्र खाद्य र कृषि सङ्गठनका अनुसार ३० भन्दा बढी राष्ट्रहरू गहुँ आयात आवश्यकताको ३० प्रतिशतका लागि रुस र युक्रेनमा निर्भर छन्।
युरोपको रोटीको टोकरी मानिने यी दुई देशले युद्धअघि विश्वव्यापी अन्न निर्यातको ३० प्रतिशत हिस्सा ओगटेका थिए। तर, अहिले युद्धले गहुँ निर्यात र उत्पादनमा असर पारेसँगै यसले विश्वव्यापी रुपमा खाद्य सङ्कट र केही देशमा भोकमरीको अवस्था सिर्जना गर्ने चिन्ता बढेको छ ।