arrow

वी.पी कांग्रेसका नेता-कार्यकर्ता राप्रपामा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
Bp Congress.jpg

पोखरा । वीपी कांग्रेस कास्कीका उपसभापति महादेव गिरीसहित ४० भन्दा बढि सदस्य तथा कार्यकर्ताहरु एकसाथ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।

राप्रपा कास्कीको पार्टी कार्यालयमा एक विशेष समारोहका बीच वीपी कांग्रेस पार्टीमा आबद्ध रहँदै आएका उनीहरु राप्रपा प्रवेश गरेका हुन् । राप्रपाले उठाउँदै आएको राजसंस्थासहितको प्रजातन्त्र र नेपाललाई हिन्दूराष्ट्र घोषणा हुनुपर्ने लगायतका पार्टीको मूल्य मान्यतालाई आत्मसाथ गर्दै पार्टी प्रवेश गरेको उनीहरुले बताएका छन् ।

‘राप्रपाले राष्ट्रियताको सवालमा उठाउँदै आएको एजेन्डाहरु हाम्रो व्यक्तिगत र समूहगत एजेन्डासँग मिल्यो । राजसंस्था, हिन्दू धर्म र भ्रष्टाचार निवारणमा राप्रपाले जुन खालको अडान लिएर अगाडि बढेको छ, त्यहि एजेण्डाले मलाई तान्यो ।’ पार्टी प्रवेश पछि महादेव गिरीले भने, ‘त्यसपछि पार्टीमा रहेका एजेन्डा मिल्ने अन्य साथीहरुलाई पनि मैले एकत्रित गरेर राप्रपा प्रवेश गरेका हौँ ।’

गिरीले राजसंस्थासहितको हिन्दू राष्ट्र कायम हुन सकेमात्र देशमा भ्रष्टाचारको अन्त्य हुने र साँच्चिकै देशले निकास पाउनेतर्क गरे । हिन्दू धर्म जोगाउनका लागि आफूहरु मर्नसमेत तयार भएको बताउँदै उनले राजसंस्थालाई स्थापित गर्न सकेमात्र धर्म पनि जोगाउन सकिने बताए ।

महादेव गिरीसहित वीपी कांग्रेस कास्कीका सचिव शंकरप्रसाद पौडेल, सहसचिव रोशन पोखरेल, झम्कनाथ आचार्य, सहकोषाध्यक्ष ऋषिराम भण्डारी, गणेश अधिकारी, सदस्यहरु सुरज शर्मा, योगराज पौडेल, महेश्वर सुबेदी, आनन्द पौडेल, भोला बराल, सुन्दर लामा, राजेश कार्की, अनुमारत्न तिमिल्सिना, गोविन्द रिजाल, नरबहादुर कुमाल, सौगात अधिकारी, छविलाल सुनार, माया गुरुङ लगायत राप्रपा प्रवेश गरेका थिए ।

राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले वीपी कांग्रेसबाट आएका ४० भन्दा बढिलाई पार्टी प्रवेश गराएका थिए । सोही क्रममा गुरुङले राप्रपाप्रति जनताको धारणा सकारात्मक हुँदै गएको बताए । ‘जनताको दु;ख बुझ्ने एकमात्र राजनीतिक दल राप्रपा भएको छ । अरु दलहरुले जनतालाई झुठो सपना बाँडेर शासन गर्ने काम मात्र गरेका छन् भने राप्रपाले साँचो रुपमा काम गरेर राष्ट्रियता जोगाउने अभियानमा लागेको छ’, पञ्चरामले भने, ‘धर्म र देश बेच्नेहरुको सयम अब सकिन लागेको पछिल्ला दृश्यहरुले देखाइरहेका छन् ।’

राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राप्रपाको विकल्प अन्य दलहरु नभएको कुरालाई बुझेर पार्टीमा आउनु राम्रो कुरा भएको बताए । उनले राप्रपालाई साँच्चै देश र जनताको चिन्ता भएको पार्टीको रुपमा पछिल्लो समय धेरैले लिने गरेको पनि दाबी गरे ।

पछिल्लो समय राप्रपा प्रवेश गर्नेहरुको संख्या निकै बढेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । राप्रपाले उठाएको एजेन्डाहरु र पार्टीको पछिल्लो नेतृत्वप्रतिको विश्वास जनतामा निकै बढेको कारणले पार्टीप्रति सर्वसाधारणहरुको आकर्षण बढेको उनले बताए । केही समय अगाडि मात्रै वीपी कांग्रेसका केन्द्रीय सदस्य झविन्द्र आचार्य पनि राप्रपा प्रवेश गरेका थिए । आचार्यकै पहलमा गिरीसहितको ४० भन्दा बढिको समूह एकसाथ राप्रपा प्रवेश गरेका हुन् ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य महेन्द्रबहादुर कार्की, कुलबहादुर गुरुङ, गण्डकी प्रदेश सचिव बरुणविक्रम राणा, पुर्व केन्द्रीय सदस्य रोमबहादुर भण्डारी लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ