जेम्स वेब टेलिस्कोपले खिच्यो आकाशगंगा देखिने ब्रह्माण्डको एतिहासिक तस्बिर
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
1.1k
Shares
काठमाडौं । जेम्स वेब टेलिस्कोपले खिचेको ब्रह्माण्डको अहिलेसम्मकै महत्वपूर्ण तस्बिर अमेरिकी राष्ट्रपति जो बाइडेनले अनावरण गरेका छन् अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसलाई अहिलेसम्मकै 'ब्रह्माण्डको सबैभन्दा गहिरो, तीखो इन्फ्रारेड दृश्य' भनेको छ ।
सोमबार साँझ ह्वाइट हाउसमा एक समारोहको क्रममा बाइडेनले यो तस्बिरको अनावरण गर्दै यो एउटा ऐतिहासिक दिन भएको बताएका छन् । यस्तै उनले शक्तिशाली अन्तरिक्ष विज्ञान टेलिस्कोपले ब्रह्माण्डलाई हेर्ने नयाँ झ्याल खुला गरेको बताएका छन् ।
जेम्स वेब टेलिस्कोपले खिचेको ब्रह्माण्डको यो तस्बिरमा चम्किलो सेतो, पहेँलो र सुन्तला रंगका बत्तीहरू देख्न सकिन्छ ।
It's here–the deepest, sharpest infrared view of the universe to date: Webb's First Deep Field.
यी चम्किला बत्तीहरु कुनै बेला हामीले देख्न नसकेका आकाशगंगाहरु भएको नासाले बताएको छ । बाइडेनले ब्रह्माण्डको इतिहासमा १३ अर्ब वर्ष पुरानो प्रकाश उल्लेख गरिएको कुरासमेत स्मरण गराएका छन् ।
'हामी मानव जातिलाई ब्रह्माण्डको नयाँ दृष्टिकोण दिनेछौं', नासाका प्रशासक बिल नेल्सनले गत महिना एक ब्रिफिंगमा पत्रकारहरूसँग बोल्दै भनेका थिए, 'र यो एक दृश्य हो जुन हामीले पहिले कहिल्यै देखेका छैनौं ।'
गत वर्ष अन्तरिक्षमा राखिएको ९ अर्ब अमेरिकी डलरको जेम्स वेब टेलिस्कोप खगोलीय विज्ञानको क्रान्तिकारी युगको शुरुआत गर्दै, ज्ञात ब्रह्माण्डको बिहानीसम्म हेर्नका लागि आविष्कार गरिएको थियो।
सन् १९६० को दशकमा मानिसलाई चन्द्रमामा पुर्याएको अपोलो अन्तरिक्ष कार्यक्रमका बेला नासाका प्रशासक रहेका जेम्स एडविन वेबको नामबाट जेम्स वेब टेलिस्कोपको नामाकरण गरिएको थियो ।