arrow

नेवार समुदायले मनाउँदै गठेमङ्गल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
ghantakarna.JPG

काठमाडौं । वर्षभरिका चर्तुदशीहरू मध्ये गठेमङ्गल चतुर्दशीको महत्त्व निकै फरक छ । यस दिनबाट औपचारिक रूपमा उपत्यकामा जात्राको सुरुवात भएको मानिन्छ । यस कारण आजको दिन नेवारहरूले निकै उत्साहका साथ मनाउने गरेको पाइन्छ । 

नेवा: शब्द गथांमुगः परिवर्तन हुँदै नेपालीमा गठेमङ्गल भएको हो । यो दिन दोबाटामा राक्षस र प्रेत आत्माका लागि भनी पात, दुना टपरीमा पाकेका भात अनि खानेकुरा राखिन्छ । 

यस्ता खानेकुरा राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाच लगायतका तन्त्र मन्त्रबाट जोगिन्छ भन्ने विश्वास गरिन्छ । तन्त्र मन्त्र र भूतप्रेतबाट बच्न गठेमङ्गललाई विशेष दिनका रूपमा लिइन्छ । 

गठेमङ्गलमा घण्टाकर्ण भन्ने भीमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ । घण्टाकर्णलाई सनातन धर्ममा भगवान् शिवका भक्तका रूपमा लिइन्छ भने बौद्ध धर्ममा भैरवको दूतका रूपमा लिइन्छ ।

आज राक्षस र प्रेतहरूका प्रतिमालाई ठाडो पारेर घुमाइन्छ भने यस क्रममा नीलो वस्त्र लगाएको पुरुषले घर–घरमा दान–दक्षिणा माग्ने चलन छ । 

अन्त्यमा यस्ता प्रतिमाहरूलाई खोलामा लगेर बगाउने वा आगोले जलाउने गरिन्छ । यसरी सेलाउँदा उक्त नीलो वस्त्र धारी पुरुष प्रतिमाहरूमाथि बस्ने चलन छ । यस अर्थमा गठेमङ्गल नराम्रो शक्तिमाथि मानवताको जीतका रूपमा पनि लिन गरिन्छ । 

आज मानिसहरूले गठेमङ्गलको औँठीका रूपमा धातुको औँठी लगाउने चलन छ । सम्पूर्ण रूपमा नराम्रा तत्त्व र दुर्भाग्यबाट समेत गठेमङ्गलको औँठीले सुरक्षा दिने जनविश्वास छ । 

आजको दिनमा भूतलाई भगाउन मूल ढोकामा तीन वटा किल्ला ठोक्ने चलन पनि छ । नेवारको संस्कारमा भगवान् र भूत दुवैले उत्तिकै आकर्षण पाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ