arrow

निर्मला पन्त हत्याको चार वर्षः हत्यारा गुमनाम, एक सय दशको डीएनए परीक्षण, छ सय पैतीससँग सोधपुछ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
Nirmala-Pant.jpg

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाको उल्टाखामकी दुर्गादेवी पन्तको घरमा प्रहरी आउन छाडेको झण्डै वर्ष दिन भइसक्यो। दुर्गाले पनि जिल्ला प्रहरी कार्यालय धाउन छाडेको महिनौं भयो तर साउन ११ ले भने दुर्गालाई झस्काइरहन्छ। १३ वर्षकी छोरी निर्मला पन्तको हत्या भएको बुधबार चार वर्ष बितेको छ।

निर्मलाकी आमा दुर्गालाई भने अब न्याय पाउने आश छैन। ‘घरमा प्रहरी आउन छोडेको झण्डै वर्ष दिन भइसक्यो’, दुर्गाले भनिन्– ‘मैले पनि न्याय पाउने आश मारिसकें। त्यसैले मैले पनि जिल्ला प्रहरी कार्यालय धाउन छोडिसकें।’

हत्यामा संग्लनलाई कानुनी कारबाही नहुँदा सिङ्गो परिवारले नै असुरक्षित महसुस गरिरहेको दुर्गाको भनाइ छ। ‘हत्यामा संग्लन भएकाहरू अझै पनि खुलेआम घुमिरहेका छन्’, उनले भनिन्– ‘प्रहरीको नजरमा रहेका आरोपित पनि घर अगाडिकै बाटो भएर आउजाउ गर्छन्। नहुनुपर्ने घटना त भयो तर दोषी पक्राउ नगर्दा साह्रै असुरक्षित महसुस हुन्छ।’ 

दुर्गा कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखाममा रहेको घरमा दुई छोरीसँगै बस्छिन् । श्रीमान् यज्ञराज भने कान्छी श्रीमतीसँग छुट्टै बस्छन् । दुर्गा भीमदत्त नगरपालिकाले दिएको घर नजिकैको स्वास्थ्य चौकीमा जागिर गर्छिन् ।

अघिल्लो वर्ष दुर्गालाई उल्टाखामस्थित घरमै भेट्दा उनमा न्याय पाउने झिनो आशा थियो। सोही समयमा पाँचौं पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र दुर्गाको पहाड घर डडेल्धुरा हो।

 ‘आफ्नै गाउँठाउँका प्रधानमन्त्री भएका रहेछन्’, ०७८ साउन पहिलो साता दुर्गाले भनेकी थिइन्, ‘अब निर्मलालाई न्याय दिने–नदिने उहाँकै जिम्मा।’ निर्मलाको हत्या भएको सात महिनापछि घरमै पुगेर देउवाले दोषीलाई कानूनी दायरामा ल्याउने आश्वासन दिएका थिए ।

०७५ साल फागुनमा उल्टाखामस्थित घरमै पुगेर देउवाले भनेका थिए– ‘नेपाली काँग्रेसले शुरूदेखि नै निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गर्न दबाब दिँदै आइरहेको छ। हत्यारा पत्ता लाग्नेमा ढुक्क हुन आग्रह गर्दछु। वास्तविक अपराधीलाई कानूनी कठघरामा ल्याएर कारबाही गरिनुपर्ने आफूहरूको पनि माग छ।’ 

देउवाले दिएको आश्वासनको साढे तीन वर्ष र निर्मला हत्याको चार वर्ष भएको छ। अब न दुर्गादेवीलाई न्याय पाउने आश छ न त प्रधानमन्त्री देउवाले नै दोषी पत्ता लगाउन चासो दिएका छन् ।

६३५ जनासँग सोधपुछ, ११० जनाको डीएनए परीक्षण

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको १० जनाको टोली र डीएसपीको नेतृत्वमा सीआईबीको टोली अहिले पनि निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा सक्रिय छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक डीएसपी चक्रबहादुर शाह भन्छन्, ‘‘निर्मलाको केसमा नेपाल प्रहरी शुरूदेखि नै गम्भीर भएर लागेको हो । प्रहरीको पहिलो प्राथमिकताको केस पनि हो। त्यसैले अहिले पनि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ।’ 

डीएसपी शाहका अनुसार निर्मलाको बलात्कार र हत्याको अनुसन्धानका क्रममा ६३५ जनासँग सोधपुछ भएको छ। ‘अहिले नेपाल प्रहरीले नयाँ कोणबाट पनि निर्मला घटनाको अनुसन्धान गरिरहेको छ’, शाहले भने– ‘घटनास्थल वरपरका बासिन्दालाई पनि हामीले निगरानीमा राखेका छौं। लागूऔषध प्रयोगकर्ता पनि अनुसन्धानको घेरामा छन् । २० जना लागूऔषध प्रयोगकर्तालाई त नियन्त्रणमा लिएर सोधपुछ नै भइसकेको छ।’

घटनामा शंकास्पद मानिएका एक सय १० जनाको डीएनए परीक्षण पनि भइसकेको डिएसपी शाहले बताए। ‘एक सय सात जनाको त रिपोर्ट नै आइसकेकोमा कसैको पनि म्याच भएन’, प्रहरी नायब उपरीक्षक शाहले थपे– ‘शंकास्पद तीन जनाको डीएनए परीक्षणका लागि नमूना पठाएका छौं। रिपोर्ट आउन बाँकी छ।’

यस्तो थियो घटना विवरण

भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त ०७५ साउन १० गते साथीको घर गएकी थिइन् । तर साथीको घरबाट आफ्नो घर भने फर्किन पाइनन्।  १० साउनमै बेपत्ता भएकी निर्मलाको खोजी शुरू भयो। 

भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको शव फेला पर्‍यो। निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलिप सिंह बिष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गर्‍यो। 

स्थानीयले बिष्ट दोषी नभएको भन्दै आन्दोलन श्रू गरे। डीएनए म्याच नभएपछि बिष्ट पनि छुटे। नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो। निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भयो ।

भदौ ७ गते गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन टोली गठन गर्यो। उक्त टोलीले प्रहरीले प्रमाण नष्ट गरेको भन्दै सरकारलाई प्रतिवेदन बुझायो। प्रहरीले प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न एआइजी धिरू बस्न्यातको संयोजकत्वमा छानबिन टोली गठन गयो। 

उक्त टोलीको प्रतिवेदनअनुसार तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा अयोग्य नहुने गरी बर्खास्त गरेको थियो । 

डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठीलगायत ६ जना प्रहरीलाई निलम्बन गरियो । विभागीय कारबाहीमार्फत बर्खास्त भएका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाइ पाए । अहिले तत्कालीन एसपी बिष्टको बढुवा भइसकेको छ । (आईएनएस–स्वतन्त्र समाचारबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ