arrow

लघुवित्तको किस्ता बुझाउन नसक्दा गाउँका महिला समस्यामा

logo
विवेक मिश्र,
प्रकाशित २०७९ साउन १७ मंगलबार
microfinance1.jpg

मोरङ । मोरङ बेलबारीका उद्यमी महिलाहरू लघुवित्तको कर्जा चुक्ता गर्न नसक्दा समस्यामा परेका छन् । लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा उनीहरू विभिन्न संस्थाहरूमा ऋण माग्नका लागि धाउन बाध्य भएका हुन् ।

एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्ने काम गर्दै कर्जाको दल दलमा फस्दै गएका छन् । ऋण तिर्न समय माग गर्दा पनि लघुवित्तहरूले समय नदिने र घरमै गएर धम्क्याउने गरेको उनीहरूको आरोप छ । 

सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुवित्तहरूबाट नै आम नागरिक अहिले दुःख पाइरहेको लघुवित्तमा आबद्ध महिलाहरूको गुनासो छ ।

सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महँगो व्याज तिर्न बाध्य बनाएको बेलबारी ११ कि कुमारी विश्वकर्मा बताउँछिन् । सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने व्याज लिने गरेको उनको भनाइ छ । पहिला लघुवित्तहरूले सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पार्ने गरेको र ऋण निकालेर तिर्दा अलि समय लागे वा आकस्मिक समस्या आइपरे पनि समस्या नबुझिने गुनासो लघुवित्तमा अबद्ध महिलाहरू बताउँछन् ।

बिरामी हुँदासमेत समस्या नबुझ्ने घरमा भएको सामान बेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नुपर्छ अरू केही विकल्प छैन भन्दै दैनिक फोनमा र कहिलेकाहीँ घरमै आएर धम्काउने समेत गरेको बेलबारी ११ लक्ष्मी मार्गकी पार्वती राई (नाम परिवर्तन) बताउँछिन् । विभिन्न लघुवित्तको दबाबले दिनरात सताउने गरेको महिलाहरूले दुखेसो पोखेका छन् । उनले ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य भए पनि लघुवित्तहरूले दिनदिनै दबाब दिँदा समस्या उत्पन्न भएको बताइन् ।

बेलबारी नगरपालिका क्षेत्र भित्र मात्रै पनि दर्जन भन्दा बढी लघुवित्तका शाखाहरू रहेका छन् । जसमा एकै महिला ती सबै लघुवित्तको समूहमा आबद्ध छन् । विना धितो समूह बनेकै भरमा सहज तरिकाले ऋण पाउने भएपछि ग्रामीण महिलाहरूको लघुवित्त प्रति आकर्षण बढेको हो । महँगो व्यजदरमा लिइने उक्त ऋण भरपर्दो आम्दानीको श्रोत नभएपछि र धेरै समूहमा भएको कारण नियमित किस्ता तिर्न समस्या भइरहेको हुनसक्ने बेलबारी ११ का वडाध्यक्ष विक्रम राईले बताए । 

नियामक निकायको उचित समन्वय र अनुगमनको अभावमा गाउँका महिलाहरू लघुवित्तको ऋणमा दिन प्रतिदिन भासिँदै गइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ