arrow

बेपत्ता छानबिन आयोग ऐनलाई संशोधन गर्न द्वन्द्वपीडित परिवारको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
bepatta-pidit-aayog-demand.jpg

काठमाडौं । द्वन्द्वपीडित परिवारले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई पर्याप्त सुझावका आधारमा संशोधन गर्नुपर्ने माग गरेका छन् । 

राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको सो ऐनको संशोधन विधेयकमाथिको छलफलका क्रममा द्वन्द्वपीडित परिवारले सम्बन्धित क्षेत्रको सुझावविना ऐनको संशोधन विधेयकलाई संसद्मा लगिएको भन्दै गुनासो गरेका हुन् । 
    
द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले द्वन्द्वपीडितसँग कुनै सुझाव नलिइकन सरकारले ऐन संशोधन विधेयक ल्याएको भन्दै आफूहरुको सुझावलाई समेत समावेश गर्नुपर्ने माग गरे । 

उनले भने, “संशोधन विधेयकमा धेरै विषय पीडितलाई झन पीडा दिने गरी राखिएको छ, हामीले अझै पीडा खोजेको होइन, हामीले न्याय खोजेको हो, त्यसैले विधेयकलाई संशोधन गर्नुपर्छ ।” विधेयकमा परामर्शदाताको सुझाव र त्यसबारे अदालतले गरेको निर्णयलाई समावेश गर्नुपर्ने उनको भनाइ छ । 
    
द्वन्द्वपीडित रामचन्द्र विकले विधेयकमा हत्यालाई पनि मानवअधिकार उल्लङ्घन भनेर लेखिएको छ भन्दै त्यो गलत रहेको र त्यसलाई विधेयकको परिभाषामा नै सच्याउनुपर्ने बताए । द्वन्द्वपीडित साझा चौतारीकी अध्यक्ष मैना कार्कीले पीडितको सुझावका आधारमा ऐन संशोधन गरेपछि आयोग गठन गरी आयोगमा कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएको व्यक्तिलाई नियुक्त गर्नुपर्ने माग गरे । 
    
आयोगका अध्यक्ष तपबहादुर मगरले संशोधन विधेयकमा समावेशी कतिपय प्रावधान हटाउनका निम्ति आयोगले पहल गरिरहेको जानकारी दिए । आयोगका सदस्य सूर्य ढुङ्गेलले पीडितलाई न्याय दिनेभन्दा पनि पीडकलाई उन्मुक्ति दिने गरी ऐन संशोधन गर्ने तयारी गरिएको भन्दै पीडकले उन्मुक्ति पाउन नहुनेमा जोड दिए । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले राजनीतिक दलका कारण सङ्क्रमणकालीन मुद्दा टुङ्गो लाग्न नसकेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ