arrow

ताइवानमा चिनियाँ सैन्य अभ्यासले दिएको सन्देश

logo
प्रकाशचन्द्र जोशी
प्रकाशित २०७९ साउन २४ मंगलबार
china-military-drill-taiwan.jpg

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीनले ताइवान वरपर छ वटा ठाउँमा लाइभ फायरिङ सैन्य अभ्यास गरेको छ ।

चीनले घोषणा गरेकाे दाेस्राे दिनमा सोझै सैन्य तैनाथीसँगै अभ्यास सफल गर्नुले पहिलाे त चिनियाँ सेना कति शक्तिशाली बन्दै गइरहेको छ भन्ने कुरालाई थप झल्काएको विश्लेषकहरूकाे भनाइ छ ।

यस्तै पेलोसीको भ्रमणले ताइवान एकीकरणमा कटिबद्ध रहेको चीनलाई त्यहाँ थप शक्तिशाली सैन्य गतविधि गर्ने बाटो खुला गरिदिएको अथवा त्यो स्थितिलाई सामान्य बनाइ दिएको छ ।

ताइवान वरपर खतरनाक चिनियाँ सैन्य गतिविधिहरु अब थप सामान्य बन्दै जाने छन् । किनकि यो अन्तर्राष्ट्रिय समुदायले स्वीकार गरेको नभए पनि यो पहिलाे पटक भएको छ र अब चीनले यस्ता सैन्य अभ्यासहरु थप गर्दै जाने अन्तरार्ष्ट्रिय मामिलाका जानकाहरूकाे भनाइ छ ।

अब, पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले ताइवान स्ट्रेट नजिकै धेरै लडाकु विमानहरू उडाउनु नयाँ सामान्य मापक बन्दै जान सक्छ । एक दिन ताइवानमाथि आक्रमण गरेर चीनले एकीकृत गर्नेछ भन्ने समर्थकहरुको विश्वास बढ्दै जाने र चीन सफल हुनेमा पनि उनीहरू विश्वस्त हुने स्थितिसमेत याे सैन्य अभ्यासले बनाएकाे छ ।

अर्काे महत्वपूर्ण कुरा भनेको चीनले पेलोसीको भ्रमण हुँदा एक्कासी यति ठूलो सैन्य अभ्यास गर्न सक्नुले चिनियाँ सेनाको विकास रोक्न नसकिने स्थितिमा पुगेको छ भन्ने संकेतसमेत गरेको विश्लेषकहरूकाे टिप्पणी छ । अचानक चीनले गरेकाे याे सैन्य अभ्यासकाे तयारी पेलोसीको ताइवान भ्रमण लिक भएसँगै भएको हुनसक्ने अनुमान पनि गरिएको छ ।

क्षणभरमै ताइवानलाई बाँकी विश्वबाट अलग गर्न सक्छ चीन

चीनको सैन्य अभ्यासले ताइवानलाई नियन्त्रण गर्न बेइजिङले आक्रमण गर्नु नै जरुरी नभएको स्पष्ट देखाएको विश्लेषकहरुको भनाइ छ ।

बेइजिङले बाँकी विश्वसँग ताइवानको सम्बन्धलाई एकछिनमै तोड्न सक्ने र विदेशी सेना, सैन्य रक्षा सामग्रीको आयात वायु र जल दुवै मार्गबाट रोक्न सक्ने क्षमता ताइवानको वरिपरि छ ठाउँमा गरेकाे सैन्य अभ्यासले देखाएकाे छ।

गत हप्ताको बिहीबारदेखि आइतबारसम्म चलेको ताइवान वरिपरिको चिनियाँ सैन्य अभ्यासका क्रममा सो क्षेत्रमा सार्वजनिक जहाज र विमानहरूको पहुँच प्रतिबन्धित गर्दै सेनाले लाइभ फायर अभ्याससहित मिसाइल प्रक्षेपण गरेको थियो ।

'चीनले कसरी ताइवानको बन्दरगाह काट्न सक्छ, यसको सबैभन्दा महत्त्वपूर्ण सैन्य स्थापनामा कसरी आक्रमण गर्न सक्छ र ताइवानलाई सहयोग गर्न आउने विदेशी सेनाको पहुँचलाई कसरी रोक्न सक्छ,' भनेर यी छवटा क्षेत्र छनोट गरेको पीएलए नेशनल डिफेन्स युनिभर्सिटीका प्रोफेसर मेङ सियाङकिङले राज्य सञ्चालित सीसीटीभीसँग बोल्दै बताएका छन् ।

ताइवानको गरिएको अभ्यासले ताइवानलाई जापान र संयुक्त राज्य अमेरिका दुवैको अत्यधिक सैन्य स्थापना रहेको ओकिनावा टापुबाट सहजै अलग गरेको मेङले बताएका छन् ।

दक्षिणी क्षेत्रमा गरिएको सैन्य अभ्यासले पीएलएले दक्षिण चीन सागरमा प्रवेश गर्ने र बाहिर निस्कने एकमात्र बाटो बाशी च्यानललाई नियन्त्रण गर्न सक्ने देखाएको उनले बताएका छन् ।

यस्तै पूर्वी क्षेत्रमा चिनियाँ सेनाले क्षेप्यास्त्र हानेर सजिलै विदेशी युद्धपोतहरूलाई ताइवानको पानीबाट पछि हट्न बाध्य पार्न सक्ने देखाएको उनले बताए । 'यो ताइवान टापुको अभूतपूर्व घेरा हो,' मेङले भनेका छन् ।

यसभन्दा बढी

आइतबार ताइवान स्ट्रेटमा ८० भन्दा बढी चिनियाँ लडाकु विमान र जहाजहरू देखिएका थिए । युद्ध अभ्यासकाबीच चीनले ताइवान नियन्त्रित टापुहरूतर्फ रकेटहरू पनि प्रहार गरेको थियो ।

यस्तै चीनले प्रहार गरेका ब्यालिस्टिक क्षेप्यास्त्रहरू ताइवानमाथि उडेर टापुको पूर्वी समुद्रमा खसेका थिए । जापानको एक्सक्लुसिभ इकोनोमिक जोनमासमेत पाँच चिनियाँ ब्यालिस्टिक मिसाइल झर्नुलाई ताइवान समर्थक जापानलाई चीनको चेतावनीका रुपमा बिश्लेषकहरुले हेरेका छन् ।

'यी छवटा चिनियाँ अभ्यास क्षेत्रहरू ताइवानलाई रणनीतिक डर र धम्कीको लागि मुख्य परिचालन क्षेत्र हुन्,' भन्ने चिनियाँहरुको विश्वास रहेको सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीजका सहायक फेलो एवं अस्ट्रेलियाली सेनाका पूर्व जनरलले मिक रायनको भनाइ छ ।

अमेरिकाको हवाईमा रहेको युएस प्यासिफिक कमाण्डको संयुक्त खुफिया केन्द्रका पूर्व अपरेसन निर्देशक कार्ल शुस्टरले 'छ वटा क्षेत्रको नाकाबन्दीले ताइवानको कब्जा पहिला ताइवानलाई बाँकी विश्वबाट अलग गर्ने रणनीतिबाट सुरु हुनसक्छ,' भनेर देखाएको बताएका छन् ।

सैन्य अभ्यासले द्वन्द्वका क्रममा नाकाबन्दीका लागि निरन्तर नौसैनिक उपस्थितिको आवश्यकता नपर्ने बरु समुद्री नाकाबन्दीका लागि हवाइ र मिसाइलको धम्कीबाट शिपिंग र हवाइ यातायात रोक्न सकिन्छ भन्ने कुरा देखाएको उनको भनाइ छ ।

सैन्य अभ्यास भन्दा बढी सी जिनफिङ नेतृत्वको चिनियाँ सरकारले सीमापार अपराध, लागूपदार्थ र समुद्री सुरक्षा सहित अमेरिकासँगको सहकार्य निलम्बन गरेको छ । यस्तै चीनले अमेरिकासँगको उच्च स्तरीय सैन्य वार्ता रोकेको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र जोयन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलिले गरेको वार्ता आग्रहको चिनियाँ पक्षले जवाफ नदिएको अमेरिकी सञ्चार माध्यमलेसमेत रिपोर्ट गरेका छन् ।

यस्तै बेइजिङले वाशिंगटनसँगको जलवायु परिवर्तन सहयोगसमेत निलम्बन गरेको छ। यसको अर्थ भनेको विश्वका सबैभन्दा ठूलो कार्बन उत्सर्जन गर्ने देशहरू जलवायु परिवर्तनका विषयमा बोलिरहेका छैनन् ।

पेलोसीको ताइवान भ्रमणले तनाव निकै बढाएको छ । समग्रमा यो तनाव चीनकाे ताइवान एकीकरण गर्ने प्रयासमा झनै सकारात्मक हुन सक्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ