- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आज क्वाँटी खाने दिन पनि हो । जनै पूर्णिमाको दिन ११ थरीका गेडागुडी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता रहेको छ ।
क्वाँटी चना, मस्याङ, मुग, बोडी, मास, भटमास, सिमी, बकुल्ला, सानो केराउ, ठूलो केराउ आदि गेडागुडीका टुसा उमारेर बनाइन्छ। यसले थकित शरीरमा ऊर्जा सञ्चार गर्छ भने चिसो पनि भगाउँछ।
स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ। क्वाँटी शाकाहारी, गर्भवती महिला एवं बालबालिकादेखि बूढाबूढीसम्मका लागि उपयोगी छ।
रेसादार खानेकुरा भएकाले यसले कब्जियत हटाउँछ अनि पाचन शक्तिमा सुधार ल्याउँछ।
यसले मधुमेह नियन्त्रण राख्न सघाउ पुर्याउनुका साथै उच्च रक्तचाप नियन्त्रणमा समेत सहयोग गर्छ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। कोलस्टेरोल नियन्त्रण गर्छ। शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
स्मरण शक्ति वृद्धि हुनुका साथै कुपोषण हटाउन पनि सहयोगी हुन्छ। रक्त सञ्चार तथा स्नायु प्रणालीलाई फाइदा पुग्छ।
बालबालिकाको वृद्धि–विकासमा समेत सहयोग पुर्याउने भएकाले क्वाँटीको महत्त्व बालबालिकादेखि वृद्ध वृद्धासम्म सबैका लागि निकै महत्त्वपूर्ण रहेको छ ।