arrow

बाबुराम जसले नौ पटक पार्टी फेरे, ढोकाबाट नसकेर झ्यालबाटै छिरे माओवादीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
baburam-bhattarai-maobadi-jhupadi.jpg

काठमाडौं । पूर्व माओवादी केन्द्रका नेता डा. बाबुराम भट्टराईले सात वर्षअघि माओवादी पार्टी परित्याग गरे पनि अहिले ढोकाबाट सिधै छिर्न नसकेर झ्यालबाट माओवादीमा प्रवेश गरेका छन् । माओवादीबाट बाहिरिएपछि तीन वटा पार्टी चाहर्दै अन्ततः माओवादीकै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएपछि बाबुरामको सो निर्णयलाई ढोकाबाट छिर्न नसकेर झ्यालको सहायता लिएको चर्चा गर्न थालिएको छ ।

माओवादी छाड्दै गर्दा र नयाँ शक्ति निर्माण गर्दै गर्दा  उनका पछाडि ठूलो पंक्ति थियो । उनले निर्माण गरेको नयाँ शक्ति पार्टीलाई मानिसहरुले वैकल्पिक राजनीतिक शक्तिका रुपमा लिएका थिए । अर्थमन्त्री हुँदा प्राप्त लोकप्रियता ३५ औं प्रधानमन्त्रीको रुपमा कार्यकाल पूरा गर्दै गर्दा कमी आएको भए पनि उनीप्रतिको ‘क्रेज’  घटिसकेको थिएन । 

२०७३ जेठ अन्तिम साता नयाँ शक्ति पार्टी गठन गर्दा उनको पक्षमा सँगै माओवादी परित्याग गरेकाहरु मात्रै थिएनन्, मुलुकमा परिचय स्थापित गरेका धेरै व्यक्तित्वहरुले साथ दिएका थिए । 

तर उनले त्यो उत्साह र व्यक्तित्वहरुलाई एक वर्ष पनि टिकाउन सकेनन् । २०७४ भदौमा उनी निकट देवेन्द्र पौडेल, खिमलाल देवकोटा लगायतका निकै नेता नयाँ शक्ति पार्टी छोडेर पुनः माओवादीमा फर्किए । 

नायिका करिष्मा मानन्धर, पूर्व एआईजी गणेश राई, पूर्व अर्थसचिव लगायतको एउटा समूह निष्कृय बस्यो । अन्ततः उनी र उनको सानो झुन्ड पनि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीमा विलय भयो । 

संघीय समाजवादी पार्टीपछि जनता समाजवादी पार्टी (जसपा) बन्यो र उनी संघीय समाजवादी पार्टीमा झैं संघीय परिषदको अर्थहीन अध्यक्ष भइरहे । 

उपेन्द्र यादवसँगको सहकार्यमा सकारात्मक नभएपछि उनी जसपा छोड्न बाध्य भए । त्यहाँ पनि उनी टिक्न सकेनन् र अहिले माओवादीकै पिँढीमा आइपुगेका छन् । 

राजनीतिक जीवनमा बाबुरामले नेपाल समाजवादी पार्टीसहित नौ पटक फरक नामका पार्टीमा रहेको अनुभव बटुलिसकेका छन् । मसाल, नेकपा विद्रोही मसाल, एकता केन्द्र, माओवादी, एकीकृत माओवादी, नयाँ शक्ति, संघीय समाजवादी, जनता समाजवादी र नेपाल समाजवादी बाबुराम संलग्न भएका दल हुन् । 

तर बाबुराम नवौं पार्टीमा पनि सीमित छैनन् । उनी पुनः माओवादी केन्द्रसँगको सहकार्यमा आइपुगेका छन् । वैकल्पिक नयाँ राजनीतिक शक्ति निर्माण गर्न भन्दै उनले थालेको अभियानले राम्रोसँग संगठित आकारसमेत ग्रहण गर्न नसक्दै पुरानै धारमा उनी आफैँ समाहित हुन आइपुगेका  छन् । 

संविधान जारी भएको एक सातामै पार्टी छाड्दा भट्टराईले लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर आर्थिक विकास र समृद्धि हुँदै समाजवादको दिशामा जाने अबको नयाँ युग शुरु भएको बताएका थिए । 

आफ्नो जीवनको महत्त्वपूर्ण समय लगाएर निर्माण गरेको माओवादी पार्टी निर्माणको वैचारिक कार्य पूरा भएको दाबी गरेका थिए । अन्तिमसम्म हार खाने होइन, लडिरहनुपर्छ भन्ने व्यक्तिगत स्वभाव भएका उनले असफलताकै बीचमा पनि मैदानमै बसेर एकपछि अर्को प्रयोग गर्ने गरेका छन् ।

पार्टी छाड्दा मात्रै नभएर पछि पनि भट्टराई पुरानो राजनीतिक दल तथा उनीहरुले अबलम्वन गर्दै आएको वैचारिक धारको चर्को आलोचना गर्दै आएका थिए । 

त्यतिमात्र होइन माओवादी पार्टी छाड्दै गर्दा बाबुरामले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठूलो भ्रष्टाचारी भएको आरोपसमेत लगाएका थिए । उनले शिविरमा भएको घोटलामा प्रचण्ड लगायतका व्यक्तिहरु संलग्न रहेको आरोप लगाएका थिए । 

अहिले हेर्दा ती सबै विषयहरुलाई टाढा राखेर उनी माओवादीको चुनाव चिन्ह प्रयोग गर्न आएका छन् । साथै उनले अबको दिनमा माओवादीको नाम फेरिए आफू पार्टीमै आउने चाहनासमेत व्यक्त गरेका छन् । 

प्रचण्डले पनि त्यसको संकेत गरिसकेका छन् । त्यस्तै माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट चुनाव लड्ने भट्टराईको निर्णय तत्कालका लागि निर्वाचन जित्ने रणनीतिक कदम मानिए पनि यो मंसिर लगत्तै पार्टी एकताको बलियो आधार भएको उक्त पार्टीका नेताहरुले ठानेका छन् । 

जसलाई पुष्टि गर्ने गरी मंगलबार साँझ भट्टराईले तस्बिरसहित ट्वीट गर्दै भनेका छन्–‘नयाँ यात्राको शुरुआतमा गम्भीरता र खुशी !१’उनले माओवादीसँगको मंगलबारको बैठकपछि ‘बृहत् अग्रगामी शक्तिको ध्रुवीकरण गर्ने लक्ष्य’ अनुरुप माओवादीको चिह्नमा लड्न लागेको बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले पनि ’बाबुराम र प्रचण्ड एकै ठाउँमा उभिनु अर्थपूर्ण छ’ भन्दै भावी गन्तव्यको संकेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ