arrow

गान्धीवादी आदर्श नेता प्रदीप गिरीको स्वास्थ्य गम्भीर  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
pradip-giri_(1)1.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य गम्भीर भएको छ । घाँटीको क्यान्सरबाट पीडित गिरीको भारतमा एक वर्ष उपचार गरी फर्केसँगै साउन तेस्रो सातादेखि ललितपुरस्थित मेडिसिटी अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

उनको स्वास्थ्यमा सुधार नआएसँगै आईसीयूमा राखिएको हो । उनको स्वास्थ्य बिग्रिदै गएपछि गत मंगलबार मात्रै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा अस्पताल पुगेका थिए । त्यसयता निरन्तर रुपमा कांग्रेसका नेताहरु एवं शुभेच्छुक, शुभचिन्तकहरु अस्पतालमा भेट्न गइरहेका छन् ।

शुक्रबारमात्रै कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधी अस्पताल पुगेर फर्केपछि सामाजिक संजाल ट्वीटरमा निराशाजनक सन्देश राखेका थिए । उनले लेखेका थिए ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई मेडिसिटीमा दोस्रो पटक हेरेर बाटोमा फर्कदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौं !’

पछिल्ला केही दिन उनमा निमोनियासमेत थपिएपछि आईसीयूमा राखिएको हो । गिरी २०१७ सालदेखि नै राजनीतिमा होमिएका हुन् । उनका बाबु मित्रलाल कांग्रेस नेता भएका कारण त्यसको प्रभाव प्रदीप गिरीमा देखिएको थियो । उनी राजनीतिका क्रममा अहिलेसम्म चार पटक जेल परेका छन् । 

कांग्रेसको राजनीतिमा निरन्तर लागेका गिरी एक अध्ययनशील नेताका रुपमा चिनिन्छन् । त्यसैले जेलमा रहँदा पनि उनी पुस्तक पढ्ने बाहेक अरु कुनै चिन्तनमा लाग्दैनथे ।

उनले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनी तर्क गर्नमा निकै नै सिपालु नेताका रुपमा परिचित छन् । 

महात्मा गान्धीको राजनीतिबाट प्रभावित गिरी नेपालमा कृष्णप्रसाद भट्टराई (किसुनजी) को राजनीतिक दर्शनबाट प्रभावित छन् । 
 



नयाँ