arrow

मुलुकको समुन्नति र समृद्धिप्रति सबैले समर्पण देखाउन आवश्यक : धनराज गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
dhanraj Gurung.jpg

पोखरा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको समुन्नति र समृद्धिप्रति सबैले समर्पण देखाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार पोखरामा आयोजित नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिको तेश्रो अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले समुन्नति, मुलुक र जनताप्रतिको समर्पण अति आवश्यक रहेको स्पष्ट पारे । 

देशका राजनीतिज्ञहरु आर्थिक मोहबाट मुक्त हुन आवश्यक रहेको स्पष्ट पार्दै उनले मुलुकको रुपान्तरण खोज्ने र मुलुकलाई बदल्ने हो भने आर्थिक मोह त्याग गर्नैपर्नेमा जोड दिए । 

उनले भने, ‘नेताहरु एउटा कुराबाट टाढा रहनैपर्छ, त्यो भनेको राजनीति गर्ने नेताहरु आर्थिक मोहबाट धेरै टाढा रहनुपर्छ । मुलुकमा प्रजातन्त्र स्थापना भएको दशकौं वर्ष बितिसक्दा पनि, व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्त भएन, पात्र परिवर्तन भयो तर प्रवृत्ति परिवर्तन भएन भन्ने गुनासो छ ।’

‘हिजोका दिनमा शहीदहरुले मुलुकका लागि रगत बगाए । तर हामीले रगत बगाउन आवश्यक छैन, कम्तिमा पनि पसिना बगाउन आवश्यक छ । पसिना बगाउन नचाहे देश बन्दैन । राजनीतिमा मुलुकप्रतिको इमान्दारिता र जिम्मेवारिता संगसंगै हुन आवश्यक छ । तर नेपाली राजनीतिमा नैतिकताको खडेरी परेको छ ।’ 

देशको मुहार बदल्न आफू बदलिन आवश्यक रहेको भन्दै उनले जुन नेता आफू बदलिन सक्दैन, त्यो नेताले पार्टी र देश बदल्न नसक्ने ठोकुवा गरे ।

उनले चुनाव घोषणा भइसकेकाले चुनावको मितिभन्दा १५ दिन अघि नै गाउँ फर्किएर चुनावमा खटिन आग्रह गरे । 

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले चुनाव नजिकिंंदै गएकाले गाउँ फर्किन र चुनावमा केन्द्रित हुन निर्देशन दिए । 

नेपाली कांग्रेस धादिङका पूर्वसभापति रमेश धमलाले मुलुकको समृद्धि कांग्रेसबाहेक अन्य पार्टीबाट आश गर्न नसकिने स्पष्ट पारे । 

नेपाली कांग्रेस धादिङका वरिष्ठ नेता हरि अधिकारीले देश र जनताको भविष्य नेपाली कांग्रेससंग जोडिएकाले आगामी निर्वाचन कांग्रेसले जित्नुको विकल्प नभएको बताए ।

नेपाली कांग्रेसका नेता वासु तिमिल्सिनाले मुलुकलाई सही दिशातर्फ डोहोर्याउने पार्टी नेपाली कांग्रेसमात्र भएको बताए । 

नेपाली कांग्रेस कास्कीका पार्टी सचिव भानु ढकालले धादिङवासीलाई पोखरामा एक्लो हुन नदिने स्पष्ट पारे ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य राजन बुर्लाकोटी, क्षेत्रीय सभापतिद्वय कुमार बहादुर सिंखडा र राकेश धमला, धादिङ कांग्रेसका सचिव विकास श्रेष्ठ, कोषाध्यक्ष रामप्रसाद अधिकारी, ज्वालामुखी गाउँपालिकाका प्रमुख यामनाथ दनै लगायतले बोलेका थिए ।

नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिका सभापति लालप्रसाद पाठकको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपसभापति एवं कार्यक्रम संयोजक यादुप्रसाद ढकालले स्वागत र सचिव माधव लम्सालले सञ्चालन गरेका थिए । 



नयाँ