arrow

सत्ताधारी गठबन्धनलाई पराजित गर्न एमालेको छुट्टै रणनीति, को–कोसँग हुँदैछ तालमेल ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
uml-sachibalaya-2079-03-19.jpg

काठमाडौं । सत्तारुढ पाँचदलीय सत्तागठबन्धनले एमालेविरुद्ध मोर्चाबन्दी गरिरहेका बेला एमाले पनि अरु साना दलसँग सहकार्यको प्रयास गरिरहेको छ । भदौ ७ गते मंगलबार हुने स्थायी कमिटीको बैठकबाट अरु साना दलसँग सहकार्यको ढोका खुला गर्ने तयारी भएको हो । 

सचिवालय बैठकले भदौ ७ मा स्थायी कमिटी र ९ मा बस्ने पोलिटब्यूरो बैठकबाट यसको गृहकार्य गर्ने तयारी गरेको हो । पोलिटब्यूरो बैठक सकिएलगत्तै भदौ ११ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ । 

एमालेले यसअघि चलाएको प्रशिक्षणबारे समीक्षा गर्ने गरी मंगलबार स्थायी कमिटीको बैठक बस्नेछ । यसअघि आसन्न प्रदेश एवं प्रतिनिधि सभा निर्वाचनमा विपक्षी गठबन्धन बनाउन एमालेले गृहकार्य जारी राखेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच निर्वाचनमा सहकार्य गर्ने प्रारम्भिक समझदारी भएको थियो ।

एमाले अध्यक्ष ओलीनिवास बालकोटमा गत हप्ता भएको भेटवार्तामा दुई नेताबीच चुनावमा सहकार्यसहित अगाडि बढ्न सकिने प्रारम्भिक समझदारी भएको हो । भेटवार्तामा सँगसँगै जान सकिन्छ भन्ने सामान्य समझदारी भए पनि सहकार्यसँग जोडिएका प्राविधिक लगायतका विषयमा भने विस्तृतमा कुराकानी भएको थियो । 

राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी र वृजेशकुमार गुप्ताले ०७४ को प्रतिनिधिसभा चुनावमा पनि एमालेको सूर्य चिह्न लिएर चार सिटमा प्रतिस्पर्धा गरी निर्वाचित भएका थिए । 

गुप्ता अहिले एमालेमा प्रवेश गरिसकेका छन् । जसले गर्दा एमालेमा त्रिपाठी लगायतलाई स्पेश खाली भैसकेको छ । सीके राउत र नेकपा विप्लवसँग सहकार्य गर्न खोजिरहेको एमालेले राप्रपासँग करिब करिब सहमति नजिक पुगिसकेको छ ।  

राप्रपाको देशव्यापी संगठन नभएको र खास स्थान विशेष मात्रै संगठन भएकाले एमाले स्थान विशेषमात्रै गठबन्धन गरेर जाने तयारीमा रहेको छ । तर राप्रपाले देशव्यापी रुपमै गठबन्धन गर्ने प्रस्ताव गरिरहेको छ ।

 ‘जिल्ला र ठाउँ विशेषलाई आधार बनाएर सत्ता गठबन्धनभन्दा बाहिर रहेका शक्तिहरुसँगको गठबन्धन प्रयास जारी छ’, एमाले स्रोतले जनाएको छ । एमालेले राप्रपासँग झापा, चितवन, मकवानपुर र काठमाडौं लगायतका केही निर्वाचन क्षेत्रमा मात्र चुनावी तालमेल राप्रपासँग गर्ने प्रस्ताव छ । 

झापामा ओलीलाई राप्रपा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेको भर पर्नुपर्ने अवस्था रहेका कारण स्थान विशेषको कुरा भएको हो । दुवैले दुवैको आश र भर नगरेसम्म झापामा चुनावी प्रतिस्पर्धा सत्ता गठबन्धनसँग सकस पर्ने देखिएपछि एकअर्कामा लचक भएका छन् ।

मंगलबारदेखि बस्ने एमालेको स्थायी कमिटी बैठकले निर्वाचनको विषयमा छलफल गर्नेछ र आवश्यकता अनुसार गठबन्धनको कुरा हुनेछ,’एमाले स्रोतले भन्यो । 

एमालेले स्थायी कमिटीको बैठकपछि बस्ने पोलिटब्यूरो र केन्द्रीय कमिटीले यस बारेमा छलफल गरेर अघि बढ्ने एमालेका नेताहरुले जनाएका छन् । राप्रपाले सिन्धुपाल्चोकमा एमालेसँग तालमेल गरेर पूर्व अध्यक्ष पशुपतिशमशेर जबरा, नुवाकोटमा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, झापामा अध्यक्ष राजेन्द्र लिङदेन, नेपालगञ्जमा धबलसम्शेर राणा, चितवनमा नेता विक्रम पाण्डे, काठमाडौंमा विक्रमसिंह थापा, जुम्लामा ज्ञानेन्द्र शाही लगायतका नेताहरुलाई प्रत्यक्षमा निर्वाचनमा जिताउन चाहेको कारण पनि एमाले झस्किएको छ ।

 ‘एमालेले राप्रपासँग खास स्थान विशेष मात्रै तालमेल गर्न चाहेको छ राप्रपाको खास संगठन र मतदाता नभएका कारण जहाँ मतदाता छन् त्यहाँ तालमेल हुनसक्छ ’, एमालेका एक स्थायी कमिटी सदस्यले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ