arrow

बल्चौरका १ सय २४ जना भूमिहीन बादीलाई जग्गाधनी पुर्जा वितरण

logo
देवानन्द न्यौपाने, 
प्रकाशित २०७९ भदौ ७ मंगलबार
badi-bhumihin-kailali-bhumi.jpg

लम्की । कैलालीको बल्चौरका १ सय २४ जना भूमिहीन बादीलाई मंगलबार जग्गाधनी पुर्जा वितरण गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नं ३ बल्चौरमा बस्दै आएको १५ वर्षपछि भूमिहीन बादी समुदायका १ सय २४ जनाले जग्गाधनी पुर्जा पाएका हुन् । घुमन्ते फिरन्ते जीवन बिताउँदै आएका उनीहरुले आफ्नै नाममा जग्गा धनी पुर्जा पाएपछि खुशी भएका बादी समुदायिका अगुवा नन्दाराम बादीले बताए । 

घुमन्ते फिरन्ते जीवन जिउँदै गाउँमा नाच्दै गाउँदै जीविकोपार्जन गरिरहेका बादीहरुले लालजुर्जा पाएपछि आफूहरुमा खुशीको सीमा नरहेको अर्र्की बादी अगुवा रमा बादीले बताइन् । वर्षौदेखि हक, अधिकार, स्वाधीनता सहितको भूमिप्रतिको हकको लागि लडाइँ लड्दै आएकोमा लामो समयपछि लडाइँले सार्थकता पाएको बल्चौका बादी समुदायकी पार्वती बादीले बताइन् । 

आफ्नो हक र अधिकारको लागि २०६४ सालमा काठमाडौंको सिहदरबार अगाडि अर्धनग्न प्रर्दशनको नेतृत्व गरेकी बादी अगुवा सुदूरपश्चिम प्रदेश सांसद उमा बादीले आफूहरुको आत्मसमानको जित भएको भन्दै खुशी ब्यक्त गरिन् । 

लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाहीले आफूले नगर प्रमुखको सपथ लिएको ९३ दिन मै वडा नम्बर ३ को बल्चौरका भूमिहीन बादी समुदायलाई लालपुर्जा बाँडेको बताइन् । 

आफ्नो कार्यकालयभित्रै नगरलाई भूमिहीन, सुकुम्बासी र अब्यवस्थित बसोबासीमुक्त पालिका बनाउने घोषणासमेत उनले गरेकी छिन् । उनले आफूले निर्वाचनमा जनता माझ गरेका प्रतिबद्धता र पार्टीको घोषणा पत्र अनुसार नै नगरबासीको विकासका लागि लागिरहने बताइन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले वर्तमान सरकाले विपन्न, पिछडा वर्ग र पछाडि पारिएको समुदायको हक हितको लागि लागिरहेको बताउँदै त्यसको उदाहरण अहिले बादी समुदायमा लालपुर्जा वितरण रहेको बताइन् । 
 
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका  कैलाली जिल्ला अध्यक्ष यज्ञराज उपाध्यायले लम्कीचुहामा १० हजार कित्ता जग्गाको नापजाचँ कार्य भएको र यी कित्तालाई प्रक्रियागत रुपमा लालपुर्जा तयार पार्दै वितरण गरिने प्रतिबद्धता जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ