arrow

अन्त मति सो गति 

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ भदौ ११ शनिबार
raja-rahugan.jpg

राजा भरत धर्मात्मा थिए । उनी जे जस्तो यज्ञ गरे पनि त्यसको फल भगवानमा अर्पण गर्दथे । उनले एक करोड वर्षसम्म राज्य गरे । भगवान्‌को स्मरण गर्दै काम गर्ने उनको स्वभाव थियो । उनी विरक्ति थिए ।
 
आफूसँग भएको राज्य आफ्ना छोराहरूलाई भाग लगाइदिएर उनी पुलस्त्य ऋषिको आश्रम हरिहर क्षेत्रमा गएर फलफूलले पूजा आराधना गर्दै तपस्या गर्न थाले ।

एक दिन उनी गण्डकी नदीमा स्नान गरेर फर्कँदै थिए । उनले त्यहाँ एउटा मृगिणी देखे । त्यही समयमा सिंह पनि गर्जन थाल्यो मृगिणी डराइन् । उनी गर्भिणी रहिछिन् । सिंहको गर्जनको डरले उनी गण्डकी नदीमा उफ्रिन पुगिन् । उनको उफ्राइले गर्दा बच्चा मृग जन्मन गयो भने आफू गुफामा खसेर मरिन् । 

भरतलाई बच्चा मृग देखेर माया लाग्यो । उनले मृग शावकलाई आफ्नो कुटीमा नै राखेर सेवा गर्न थाले । यसले गर्दा उनको तपस्याको यात्रा विस्तारै कम हुँदै गयो । उनी उसकै मोहमा पर्दै गए । 

समय बित्दै गयो । उनमा मृगको बच्चाप्रति प्रेम, आशक्ति बढ्दै गयो । उनले आत्म चिन्तन पनि बिर्सिए । एक दिन उनी मृत्युको चपेटामा परे । उनको भौतिक जीवनको अवसानको बेलामा पनि मृगको बच्चा अगाडि नै थियो । 

उनको आशक्ति मृगमा नै भएकोले उनले अर्को जन्ममा मृगकै रूप लिए । महापुरुषहरूले पनि अन्त मति सो गति भनेर सबैलाई ज्यादा व्यवहारमा आशक्त नहुन सल्लाह दिएका छन् ।

त्यसैगरी श्रीकृष्णले पनि गीतामा अर्जुनलाई उपदेश दिंदा पनि मनुष्यले आफ्नो इन्द्रियहरूलाई वशमा पारेर एकाग्र रूपमा ओमको उच्चारण गरेर प्राण त्याग गर्दछ भने उसले परम गति पाउँछ भन्नु भएको छ । 

उनको आफ्नो प्रारब्ध बाँकी भएकाले मृगमा आशक्ति भए पनि आफ्ना सञ्चित पूण्यको फलले गर्दा मृगकै शरीर लिए पनि उनमा ज्ञानको दियो त बलेकै थियो । (तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन्)
 



नयाँ