arrow

इम्बोस्ड प्लेट नम्बरको कमिशनमा राष्ट्रियतामाथि नै चलखेल

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०७९ भदौ ११ शनिबार
rajendra-panthi-article-46.jpg

राष्ट्रियता भनेको आफ्नो देशप्रतिको माया, आस्था वा श्रद्धा हो । व्यक्ति, समाज र राज्यले नै देशप्रति देखाउने प्रेम नै राष्ट्रियता हो । राष्ट्रियतालाई देशको भौगोलिक सीमानासित मात्र जोडेर हेर्नु हुँदैन । राष्ट्र वा देशमा जातजाति, भाषा, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा, चालचलन आदि थुप्रै कुरा पर्दछन् र यी सबै देशका पहिचान र अस्तित्व हुन् । 

सीमानालाई मात्र जोगाएर देश जोगिन । देशको पहिचान पनि जोगाउनु पर्छ । आज संसारमा नेपाल भनेर चिनाउने चिनारीमा सगरमाथा, गौतम बुद्ध, प्राकृतिक सुन्दरता, जातीय वा धार्मिक विविधता मात्र नभएर भाषा, संस्कृति र परम्परा आदि पनि हुन् । यी सबै कुराहरू नेपाल देशको अस्तित्वसँग जोडिएका छन् । नेपालको अस्तित्व र सम्पदालाई भुल्ने वा बेच्ने अनि नेपाली नागरिकताको प्रमाणपत्र भिरेर  नेपाली नागरिक बन्न सकिँदैन । 

हरेक नेपालीले यहाँका सबै किसिमका भाषा, संस्कृति र सभ्यताको जगेर्ना गर्नुपर्छ । नेपालको पहिचान सहितको नेपाली भएर जिउनु पर्छ । नेपालका भाषा बोल्न नसक्ने, नेपाली पोशाक पहिरन नसक्ने र नेपाली सभ्यता वा संस्कार नजान्ने व्यक्ति कसरी नेपाली हुनसक्छ र ?

नेपालमा पछिल्लो केही वर्षयता आधुनिक बन्ने नाममा नेपाली भाषा, धर्म, संस्कृति र परम्परालाई लत्याएर पश्चिमी सभ्यताको अन्धानुकरण गरिएको देखिन्छ । अंग्रेजी भाषाप्रतिको जबर्जस्त आकर्षणका कारण निजी विद्यालय र कलेजहरूले नेपाली भाषामाथि बन्देज लगाएको देखिन्छ । भाषा भनेको विचार विनिमयको साधन हो । यो साध्य होइन । तर देशको सम्पत्ति हो । 

अंग्रेजी भाषाप्रतिको नचाँहिदो मोहले गर्दा शैक्षिक संस्थाभित्र नै विद्यार्थीमा रहेको स्वस्फूर्त प्रतिभालाई बन्देज लगाइएको छ । बच्चाबच्चीलाई आफ्नै मातृभाषामा बोल्न दिनुपर्छ र मात्र उनीहरूको हरेक किसिमको सीप र क्षमताको विकास हुन्छ । अंग्रेजी भाषा राम्रो जान्ने बनाउन विद्यार्थीलाई निजी विद्यालयमा भर्ना गर्ने परिपाटीले एकातिर नेपाली भाषामाथि बन्देज लगाइको छ भने अर्कोतिर शिक्षाको व्यापारीकरण गरिएको छ ।

राज्यका जिम्मेवार निकायबाट नै नेपाली भाषामाथि बेला बेलामा प्रहार गरिँदा नेपाली भाषा माथि संकट पैदा भएको छ । नेपाली भाषा नेपालको राष्ट्रिय भाषा, अधिकांशले बोलिने भाषा, सम्पर्क भाषा र सरकारी कामकाजको भाषा हो । यो भाषा देवनागरी लिपिमा लेखिन्छ । भाषा वा संस्कृति यस्तो बनाउँछु भनेर बनाइने कुरा होइनन् । यी समाज परम्परा अनुसार आउने जाने कुरा हुन् । परम्परादेखि चल्दै आएको कुनै वस्तु बुझाउने शब्दलाई परिवर्तन गरेर अर्को शब्द बनाउँछु भनेर बन्दैन ।

नाकलाई बुझाउन ‘नाक’ र आँखा लाई बुझाउन ‘आँखा’ शब्दको प्रयोग गरिनुपर्छ । नेपाली भाषालाई सजिलो बनाउने नाममा झन जटिल र अस्वाभाविक बनाउने गरिएको पाइन्छ तर यस्तो गरिनु हुँदैन ।

नेपाली भाषा विश्वभरि रहेका नेपाली महाजातिलाई जोड्ने महत्वपूर्ण सूत्र हो । नेपाली भाषालाई जगेर्ना वा संरक्षण गर्नु भनेको अंग्रेजी वा अन्य भाषा जान्न हुँदैन भन्न खोजिएको होइन । भाषामा स्वभाविकै रुपमा गतिशीलता र परिवर्तनशीलता हुन्छ । 

भाषा विज्ञानको सिद्धान्तअनुसार पनि भाषालाई सधै एकैनाश राख्न खोज्नु वा एक भाषालाई अन्य भाषाको प्रभाव र सम्पर्कबाट मुक्त राख्न खोज्नु भनेको भाषाको प्रकृति नबुझ्नु हो पनि भनिन्छ । तर भाषा स्वभावैले सरलता उन्मुख हुन्छ । यसलाई एउटै रूपमा बाँधिराख्न असम्भव पनि छ । यो आफ्नै गतिले चलिरहन्छ । भाषालाई आफू अनुकूल जोड्न वा टुक्र्याउन सकिँदैन । आज हामीले बोल्ने नेपाली भाषा पनि अघि यही रूपमा थिएन र भविष्यमा पनि यस्तै रहला भन्न सकिँदैन । 

नेपाली भाषाको उत्पत्ति र विकासक्रम हेर्दा यो भाषाको इतिहास हेर्दा वैदिक संस्कृत, लौकिक संस्कृत र यसको अपभ्रंश, प्राकृत हुँदै विकासका विभिन्न चरण पार गर्ने क्रममा हिन्दी, अंग्रेजी, अरबी आदि अन्य धेरै भाषाहरूबाट पनि शब्द सापटी लिँदै आजको यस रूपमा नेपाली भाषा आइपुगेको छ । स्वभाविकै रुपमा अन्य भाषाबाट सापटी लिने भाषाहरूमा अंग्रेजी भाषा अग्रस्थानमा छ ।

अंग्रेजी भाषाको प्रयोग गर्दिनँ भने पनि स्वतः प्रयोग गरिन्छ । भाषाविज्ञानका पछि लागेर भाषालाई सहज बनाउने र भाषिक शब्दभण्डार बढाउने नाममा सतर्क हुन सकिएन र जबर्जस्त अंग्रेजी शब्दहरू भित्र्याइयो र प्रयोग गरियो भने नेपाली भाषा बलियो हुन सक्दैन । अंग्रेजी अन्तर्राष्ट्रिय सम्प्रेषणको भाषा हो । सिक्नु र जान्नु पर्छ तर अंग्रेजी जान्ने नाममा हाम्रो पैत्रिक सम्पत्तिको सत्यानाश नै हुने गरी प्रयोगमा ल्याउनु हुँदैन । नेपालीको भाषा र सभ्यता इतिहासमा मात्र सीमित हुने अवस्था नल्याउनको लागि सबै सतर्क, सचेत र संवेदनशील हुनुपर्छ ।

नेपालीका आफ्ना भाषा, संस्कार, संस्कृति, सभ्यता, रहनसहन हाम्रा पहिचान हुन् । यिनको संरक्षण नगरी अंग्रेजी भाषाको प्रयोग गर्दै जाँदा नेपाली भाषाको अस्तित्व नै समाप्त हुनसक्छ । नेपाली भाषामाथि  प्रहार गर्ने प्रक्रियामा अहिले नेपाल सरकार यातायात व्यवस्था विभाग पनि सक्रिय भएर लागेको देखिन्छ । सवारी साधनमा इम्बोस्ड प्लेट नम्बर राख्ने नाममा नेपाली भाषालाई अपमान गरेर सोझै अंग्रेजी भाषालाई भित्र्याइएको छ । 

सवारी साधनमा देवनागरी लिपिमा इम्बोस्ड नम्बर राख्नु पर्छ भनेर सबै नेपाली बोल्दा पनि सरकार लाचार र चुप लागेको देखिन्छ । सर्वोच्च अदालतलेसम्म नेपाली भाषामाथि प्रहार गरी इम्बोस्ड नम्बरमा रोमन लिपिको पक्षमा फैसला गर्यो । नेपाली भाषालाई प्रयोग गरिनु हुन्न भनेको अरबौंको कमिशनको खेल हो भन्ने कुरा प्रामाणिक रुपमा बाहिर आएका छन् । यसरी आज कमिशनको खेलमा नेपाली भाषालाई बेचिँदै छ ।

सुरक्षाको दृष्टिकोणले सवारी साधनमा इम्बोस्ड नम्बर राख्नु अत्यन्तै राम्रो हो । तर आफ्नो भाषा मारेर अर्को भाषा प्रयोग गरिनु अत्यन्तै निन्दनीय काम हो । नेपालीको आफ्नो भाषा र लिपि हुँदाहुँदै अरुको लिपि प्रयोग गरिनु नेपाली भाषाको अपमान हो । नम्बर प्लेटमा देवनागरी लिपि लेख्न मिलेन भन्नु वा छुट्याउन गाह्रो हुन्छ भन्नु हास्यास्पद मात्रै हो । 

अंग्रेजी बोल्दा वा लेख्दा शुद्ध हुनुपर्ने तर नेपाली जस्तो भए पनि हुने कुराले हाम्रो पहिचान हामी आफैं गुमाउँदै छौँ । नेपालका सरकारी कार्यालयमा लेखिने चिठीपत्र, सूचना, निवेदन, टिप्पणी, प्रतिवेदन आदिमा शुद्धभन्दा अशुद्ध धेरै लेखिएको हुन्छ । अर्काकी आमालाई माया गरेर सच्चा छोरो वा छोरी बन्न सकिँदैन । आफ्नै आमालाई माया गर्नुपर्छ । नेपाली भाषा बाहेक अन्य भाषा बोल्नु वा प्रयोग गरिनु हुन्न भनिएको होइन तर नेपाली भाषालाई अनिवार्य र अन्यलाई ऐच्छिक बनाउनुपर्छ ।

प्रविधिले मान्छे नबनाएर मान्छेले प्रविधि बनाएको हुनाले रोमन लिपिमा इम्बोस्ड प्लेट नम्बर बनाउन मिल्दैन भन्नु आधार र तथ्यहीन कुरा मात्र हुन् । राज्यका जिम्मेवार निकायले बेहोसमा पुगेर यस्ता गलत निर्णय गरिनु हुँदैन । नेपालका सवारी साधनमा लेखिएको अक्षर वा नम्बर पढ्न अमेरिका वा बेलायतका अंग्रेजी मातृभाषी सुरक्षाकर्मी त पक्कै आउँदैनन् होला । नेपाली जनतालाई भ्रममा पार्ने बकम्फुस कुरा गरेको पाइन्छ । 

नेपालीले झन् सजिलै चिन्ने र छुट्टयाउने भनेको देवनागरी लिपि नै हो । यसरी प्राविधिक रुपमा बनाउन गाह्रो हुन्छ भन्नु वा सुरक्षाको दृष्टिकोणले उपयुक्त हुँदैन भन्नु कपोकल्पित भ्रमित कुरामात्र हो ।

आज संसार नयाँ युगमा प्रवेश गरेको छ । नयाँ–नयाँ विज्ञान र प्रविधिको प्रयोग र आविष्कारले संसार साँघुरिएको छ ।नयाँ युगसँग चल्न सबै कुरामा सक्षम हुने प्रयत्न गर्नुपर्छ । तर आफ्नो अस्तित्व नै गुमाउनु हुँदैन । अंग्रेजी भाषामा संसार छ भनी भ्रममा परी आफ्ना भाषालाई कुल्चिनु हुँदैन । नेपाली भाषालाई थप सशक्त बनाउनु पर्छ । अंग्रेजी भाषाबाट नेपालीको आफ्नो स्वत्व प्राप्त गर्न सकिँदैन । मातृभाषा बाहेक अन्य भाषा जान्नुपर्छ । त्यसमा पनि अंग्रेजी भाषा बढी जान्नुपर्छ भन्नेमा दुईमत छैन । 

अंग्रेजी भाषाको महत्व छ भन्दैमा नेपालका राष्ट्रिय भाषाभित्र अंग्रेजीलाई घुसाउने नै प्रयत्न गरिनु हुँदैन । राज्यका जिम्मेवार निकायबाट नै विभिन्न प्रलोभनमा परी धर्म, संस्कृति र भाषालाई बेचेर राष्ट्रघात गरिनु हुन्न ।
 



नयाँ