arrow

एक्सनमा नेपालगञ्जका नगर प्रमुख विष्ट : खाली गराउँदै फुटपाथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
mayor-bistas.jpg

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ खाली गराउन थालेको छ । शनिवारदेखि फुटपाथ खाली गराउने अभियानको सुरुवात गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, सडकमै साइकल र ठेलामा सामान बेच्ने, सडक र सडक पेटीमा जथाभाबी पार्किङ गर्ने कामलाई निरुत्साहित गर्न अब नियमित रुपमा अभियान सञ्चालन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए । 

शनिवार साँझ फुटपाथ खाली गराउन नगर प्रहरी र ट्राफिक प्रहरीको टोली बजारमा निस्केको थियो। ट्राफिक प्रहरी प्रहरी प्रमुख हिमालय शाहको कमाण्डमा नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीको टोलीले शनिवार विपी चोकदेखि तरकारी मण्डी सम्मको फुटपाथ खाली गराएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका अगाडिको क्षेत्र, विपी चोक, इदगाहरोड, त्रिभुवन चोक, त्रिभुवन चोक उत्तर तर्फको सदरलाइन, त्रिभुवन चोकको पूर्व लाइन हुँदै तरकारी मण्डी सम्मको सडक पेटी खाली गराइएको थियो । त्यस क्रममा बाटोमा जथाभाबी पार्किङ गरिएका केही मोटरसाइकल र रिक्सा समेत नियन्त्रणमा लिइएको छ । 

"हामीले माइकिङ गरेर सबैलाई जानकारी गराई रहकै छौं, फुटपाथ अतिक्रमण नगर्न भनिरहेका छौं, तर, अटेर भइरहेपछि शनिवारदेखि खाली गराउन सुरु गरेका छौं," नगर प्रमुख विष्टले भने, "अब नियमित अनुगमन पनि गर्छौँ, छड्के पनि हुन्छ, उपमहानगरपालिकाले यो कार्यलाई सशक्त ढङ्गले अघि बढाउँछ ।" 

सडक पेटी अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउने रणनीतिका साथ उपमहानगरपालिका अगाडि बढेको नगर प्रमुख विष्टको भनाई छ । यस विषयमा व्यवसायी एवम् व्यापारीहरुसंग छलफल गरेर थप कार्ययोजना बनाउन भोलि बिहान ११ बजे नेपालगञ्ज उद्योग वाणिज्य सङ्घसँग बैठक बस्न लागिएको पनि नगर प्रमुख विष्टले जानकारी दिए । 

यता ट्राफिक प्रहरी प्रमुख शाहले यो कार्यलाई तीव्रताका साथ अगाडि बढाउँदै झनै सशक्त रूपमा लैजाने र अटेरी गरे कारबाही समेत गरिने बताए। ट्राफिक प्रहरीले अब सधैँ यो कार्यलाई निरन्तरता दिने शाहले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ