arrow

कोहलपुरको अतिक्रमित संरचना हटाउने अभियानमा फेरि सर्वदलीय बैठक बस्ने

एमाले र माओवादी केन्द्र अतिक्रमणकारीको पक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
sarbadaliya-meet.jpg

कोहलपुर । कोहलपुर नगर विकास समिति भित्रका अतिक्रमित संरचनाहरू खाली गराउन कानुन सम्मत रुपमा अगाडि बढ्ने सर्वदलीय तथा सर्वपक्षीय सहमति बनेको छ ।

कोहलपुर नगरपालिकाले नगर विकास समितिभित्र रहेका अतिक्रमित संरचनाहरू हटाउने क्रममा बसपार्क क्षेत्रमा विरोध भएपछि सोमबार रातीसम्म नगरपालिकामा आकस्मिक रुपमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले त्यसका लागि यही १५ गते बुधवार फेरि सर्वदलीय बैठक बसेर कानुन सम्मतरुपमा अगाडि बढ्ने निर्णय गरेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

‘सिडिओको आग्रहमा फेरि एक पटक सर्वदलीय बैठक बसौं भन्ने निर्णय भएको छ,' आचार्यले भने-‘कानुनी वैधता अनुसार स्थानीय सरकार अघि बढ्छ ।’ आफ्नो अभियान व्यवस्थित र सुन्दर कोहलपुर निर्माणका निमित्त रहेको प्रस्ट्याउँदै आचार्यले यसमा आफू दृढताका साथ अघि बढ्ने बताए । उनले विकासमा राजनीति नगर्न पनि सबैलाई अपिल गरेका छन् ।

नगर विकास समिति भित्रका संरचनाहरू आर्थिक वर्ष ०७५/७६ मै हटाउने सर्वदलीय सहमति भएको थियो । तत्कालीन नगर विकास समितिका अध्यक्ष अवराज खड्काको अध्यक्षतामा ०७५ साल भदौ ३ गते बसेको सर्वदलीय बैठकमा एमालेका तर्फबाट खिलप्रसाद भुषाल, काँग्रेसका तर्फबाट भूम भण्डारी, नेकपाका तुलाराम विष्ट, राप्रपाका यज्ञराज रेग्मी समेतले हस्ताक्षर गरेर नगर विकास समिति भित्रका संरचनाहरू हटाउने सहमति गरेका थिए । तर, आज संरचना हटाउने सवालमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले भने पछि हटेको देखिएको छ । राजनीतिक फाइदाका रूपमा जनतालाई भिडाउने काम माओवादी केन्द्र र एमालेको स्पष्ट देखिएको छ ।

नेकपा माओवादी केन्द्रबाट उपस्थित पूर्णाकुमारी सुवेदी र एमालेका खिलप्रसाद भुषाल सर्वदलीय बैठकमा सहभागी भए पनि हस्ताक्षर नगरेरै बाहिरिए । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सरकारी जग्गा संरक्षणमा राजनीति गर्न आवश्यक नरहेको बताए । 

उनले सार्वजनिक तथा सरकारी जग्गा संरक्षणमा स्थानीय सरकारले थालेको अभियानमा सघाउनु गृह प्रशासनको दायित्व भएको समेत स्पष्ट पारे । उनले भने-‘सरकारी जग्गा संरक्षण गर्छौं भनेर स्थानीय सरकारले गृह प्रशासनको सहयोग खोज्छ भने सहयोग गर्नु हाम्रो दायित्व हो ।’

कोहलपुरको न्यूरोड क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा र संरचना हटाउन मेयर आचार्य सहितको टोली सोमबार बिहानैदेखि खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको केही टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गा मुढा गरेर सिसा फुटाएपछि तनाव सिर्जना भएको थियो । त्यसपछि गृह प्रशासनको आदेशमा तत्काल संरचना हटाउने कार्यलाई रोकेर सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको थियो ।

सर्वदलीय बैठकमा मेयरले के भने ?
'कोहलपुर नगर विकास भित्रका संरचना हटाउन असार महिनादेखि नै उहाँहरूलाई आग्रह गरिएको हो । तर, अटेरी गरेपछि बाध्य भएरै संरचना हटाउने अभियान सुरु भएको हो । र, कानुनी प्रक्रिया अनुसार ती संरचनाहरू हटाइन्छ । अब प्रक्रियागत हिसावले कोहलपुर नगरपालिका अगाडि बढिसकेको छ । नगर विकास समितिले बनाएका टहराहरू व्यवसाय गर्न भनेर बनाइएको हो । तर, बसपार्क सुधार समितिको नाममा खडा भएको संस्थाले ती टहराहरूलाई अवैध धन्दा बनाएको छ । ती टहरामा जुवा र यौन धन्दा भइरहेको छ । ठग्ने काम भइरहेको छ । यसको जिम्मेवारी कसले लिने ?

पहाडबाट झरेका सोझा सिधा नागरिकलाई नाङ्गै पारेर पठाउने काम गरिएको छ । यो जस्तो विडम्बना अरू के हुन सक्छ ? यही बसपार्कमा नाङ्गै हिँडेको होइन कोही नागरिक ? कोहलपुरको देशव्यापी वद्नाम भएको हैन ? यसको जिम्मेवारी कसले लिने ? बसपार्क सुधार समितिले के हेर्‍यो ? बसपार्क सुधार समितिको कहाँ छ अडिट ? कहाँ छ कार्यसमिति ? कहाँ गर्‍यो सार्वजनिक संस्थामा लगानी ? त्यसको जवाफ स्थानीय सरकारले खोजिरहेको छ र निरन्तर खोज्छ पनि । स्थानीय प्रहरी प्रशासनले यसमा साथ दिनुपर्छ । दिएन भने हामी जनताकोमा जान्छौँ । यस्तै धन्दा क्रिकेट मैदानमा भइरहेको छ ।

बसपार्कमा करोडौंको धन्दा भइरहेको छ भने क्रिकेट मैदानमा अर्वौंको धन्दा भइरहेको छ । पहाड तिरका मान्छेहरूलाई फकाई फसाई ऐलानी जग्गा भनेर नगर विकास समितिको जग्गा बेचिएको छ । धेरैको उठिबास बनाइएको छ । त्यहाँबाट आउने कमिसन कहाँ कहाँ पुग्छ ? किन हामी मौन छौं ? देश भरी रहेका जो अवसरको खोजीमा कोहलपुर आए । के तिनीहरू सबैको व्यवस्थापन गर्ने जिम्मा कोहलपुर नगरपालिकाको हो ? कोहलपुर नगरपालिकामा स्थायीरुपमा बसेका नागरिकको व्यवस्थापनका निमित्त माथिल्लो तहमा आग्रह र अनुरोध गर्ने जिम्मा हो । देशभरिका नागरिकको जिम्मा लिन सक्दैन । भूमिहीनलाई व्यवस्थित गर्ने सवालमा १५ वटै वडामा फर्म भरिसकेका छन् । को सुकुम्वासी हो को भूमिहीन हो ? त्यसको छानबिन गर्ने प्रक्रिया अगाडि बढिसक्यो । अव कसको व्यवस्थापन गर्नुपर्ने हो ? लोकनगरमा गरिब भनेर बसाइएको छ । त्यहाँ कति गरिब छन् ? कोहलपुर नगरपालिका कोहलपुरको केन्द्रमा छ । उत्तर, पूर्व र पश्चिमतिर ठगी धन्दा बाहेक अरू केही भएको छैन ।

राजनीतिक नेतृत्वको आडमा, पार्टीको संरक्षणमा जसरी यो धन्दा मौलाइरहेको छ, यसको जिम्मेवारी हामी लिन सक्दैनौं । कोहलपुर नगरपालिका गरिबको विपक्षमा छँदै छैन । यो विषयमा मात्र होइन, प्रशासनिक सुधारका पक्षमा पनि निर्मम समीक्षा गरेर अगाडि बढिसकेका छौं । कोहलपुर नगरपालिकाको सुधारका लागि कसैसँग सम्झौता गरिँदैन । त्यसैले संरचना हटाउने अभियान सुरु भइसकेको छ अब कोहलपुर नगर विकास समितिले आफ्नो वैधता खोज्छ । कि त्यही बसपार्क सुधार समितिले ती संरचनाहरूको वैधता दिनु पर्‍यो हैन भने त नगर विकास समितिले भोलिदेखि वैधता खोज्छ ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ