arrow

गठबन्धनमा प्रचण्डको बखेडा, चुनाव जित्नुअघि नै प्रधानमन्त्री पद मागे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
prachanda-final6.jpg

काठमाडौं । सरकार सम्बद्ध दलहरुले मंसिरका ४ लागि तय गरिएको प्रदेश र संघीय निर्वाचनको सिट बाँडफाँटमा कुरा मिलेको बताए पनि प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछिको पहिलो प्रधानमन्त्री मागेपछि समस्या उत्पन्न भएको छ । 

गठबन्धनका दलहरु बढीभन्दा बढी सिट लिने प्रयासमा लागेको र पद बाँडफाँडलाई पनि केन्द्रमा राखेर प्रचण्डले पहिलो प्रधानमन्त्री मागपछि समस्या उत्पन्न भएको स्रोतले जनाएको छ । 

गठबन्धनका तर्फबाट कार्यदलमा नेपाली कांग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगनकुमार थापा, नेकपा माओवादी केन्द्रबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव वर्षमान पुन भए पनि उनीहरुले सीट संख्या टुंग्याउन नसकेपछि शीर्ष तहमा भएको वार्तामा प्रचण्डले सो दाबी गरेका हुन् । 

सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन दिने कार्यभार पाएको कार्यदलको साउन २३ गते बसेको पहिलो बैठकले सिटौलालाई संयोजक बनाएर सिट बाँडफाँट प्रयास गरिरहेको थियो । तर अहिलेसम्म सिट बाँडफाँड हुन सकेको छैन । 

चुनावी तालमेल गरेर निर्वाचनमा जाने निर्णय भइसकेका कारण सबैले आ–आफ्नो दाबी छोड्न जरुरी रहेको ती नेताले बताएका छन् । कांग्रेस पदाधिकारीले भनेजस्तो गठबन्धनका हरेक दलले बढीभन्दा बढी सिट खोजिरहेकाले बाँडफाँटमा टुंगो लाग्न ढिलाइ भने भएको हो होइन भन्ने छुट्याउन कठिन हुँदा प्रचण्डले आफूलाई केन्द्रमा राखेर सिट खोजिरहेको स्रोतले जनाएको छ । 

कांग्रेसले निर्वाचनपछि नै प्रधानमन्त्री पदको विषयमा कुरा गर्ने बताइरँहदा प्रचण्डले भने अहिले नै टुंग्याएर जानुपर्ने अडान लिएका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले मंसिरपछि गठन हुने सरकारको नेतृत्व गर्न चाहिरहेका छन् ।

 ‘उनीहरु दुवैमा पहिलो चरणमै सरकारको नेतृत्व लिने चाहना देखिएपछि कांग्रेसले यसलाई पछि सार्न खोजिरहेको छ । तर प्रचण्डले मुखै खोजेर पहिलो चरणको  प्रधानमन्त्री मागे’, स्रोतले भन्यो । 

उनीहरुबीच आधा आधा कार्याकाल चलाउने हो भन्नेमा आधारभूत सहमति भैसकेको तर कसले पहला सरकारको नेतृत्व गर्ने भन्ने बारेमा होडबाजी चलेको बेला प्रचण्डले मुख खोलेर प्रधानमन्त्री  मागेका छन् ।

 ‘प्रचण्डले प्रधानमन्त्री दावी गर्दै गर्दा सिट संख्या मिल्यो भनेर अभिव्यक्ति दिइसकेको छन्’, स्रोतले भन्यो । तर माधवकुमार नेपालले यही कुरा थाहा पाएपछि गठबन्धनमा सिट संख्या नै नमिलेको अभिव्यक्ति दिएका थिए । 

उनले गठबन्धन हुने कि नहुने भन्नेमै शंका रहेको भन्दै अभिव्यक्ति दिएका छन् । अबको निर्वाचनपछि कांग्रेस नै ठूलो पार्टी हुने भएकाले आधा आधा कार्यकालमा पहिलो पटक कांग्रेसले नेतृत्व गर्ने कुरा सोझो विषय भएकाले यसमा दायाँ बायाँ नहुने नेताहरुले जनाएका छन् । 

माओवादी अध्यक्ष प्रचण्डले आफू नै निर्वाचन पछिको सरकारमा नेतृत्व गरेर त्यसपछि मात्रै कांग्रेसलाई दिने पक्षमा रहेका छन् । 

यहाँनिर माधव नेपालले पनि प्रधानमन्त्री बन्ने चाहना राखेको स्रोतले जनाएको छ । कांग्रेससँग उनीहरुले लिखित कागज गरेर अघि बढ्ने गरी संवाद शुरु गरेको स्रोतको दाबी छ ।



नयाँ