arrow

कोहलपुरका मेयरका सय दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
purnaprasad-acharya.PNG

नेपालगञ्ज । कोहलपुर नगरपालिकाले एक सय दिनको अवधिमा भए गरेका कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । पालिकाले जेठ ११ गतेदेखि १४ गतेसम्मको अवधिमा भए गरेका प्रगति विवरणले कोहलपुरवासीलाई जनप्रतिनिधिप्रति आशा र भरोसा मात्र जगाएको छैन, सम्भावनाको दूरदृृष्टिको खाका कोरिदिएको छ ।

गएको वैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित नगर प्रमुख पूर्णप्रसाद आचार्य नेतृत्वको टोलीले एक सय दिनको अवधिमा ३२ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै खर्चमा मितव्ययिता अपनाइएको, पारदर्शिता, जबाफदेहिता, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन लगायतका सवालमा उल्लेखनीय कार्यहरू गरेको उल्लेख गरेको छ ।

नगरपालिकाले गर्ने सम्पूर्ण कामहरूलाई पारदर्शी एवम् सहभागितामूलक तवरले गर्ने गरिएको भन्दै ती कार्यहरू अधिकांश सार्वजनिक रुपमै जानकारी गराउने गरिएको पालिकाले जनाएको छ । 

पालिकाले आर्थिक मितव्ययिता एवम् पारदर्शिताको लागि कोटेशन खरिद प्रणालीलाई निरुत्साहित गरिएको स्पष्ट पारेको छ । गर्नै पर्ने भएमा कम्तीमा एक हप्ताको सूचनाबाट प्रतिस्पर्धात्मक तवरले गर्ने गरिएको उल्लेख छ । सरकारी एवम् सार्वजनिक जग्गा संरक्षणको लागि कुनै पनि व्यक्ति, संस्था वा निकायलाई जग्गा उपलब्ध नगराउने नीति अवलम्बन गरिएको पनि नगरपालिकाले आफ्नो प्रगति मानेको छ ।

यस्तै सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान सुरु भइसकेको र क्रमशः हटाउने प्रक्रियालाई प्रभावकारी ढङ्गबाट अघि बढाइएको पनि नगरपालिकाले जनाएको छ । एक सय दिनको अवधिमा स्थानीय भूउपयोग परिषद् गठन गरी नगर क्षेत्रका सम्पूर्ण जग्गा, कृषि एवम् गैर कृषि क्षेत्रमा वर्गीकरण गरिएको, कोहलपुर नगरपालिकाको आधारभूत तह (कक्षा १–८०) मा स्थानीय पाठ्यक्रम (हाम्रो कोहलपुर) तयार गरी सम्पूर्ण विद्यालयमा नेपाली भाषामा अध्यापन हुने गरी यसै आर्थिक वर्षबाट लागू गरिएको छ ।

कोहलपुर नगरपालिका नगर प्रमुखको सचिवालयद्वारा जारी प्रगति विवरणमा फोहर व्यवस्थापन विसर्जनका लागि ल्याण्डफिल साइटको प्रबन्ध एवम् सम्झौता गरी कार्यान्वयनमा ल्याइएको, कर्मचारी व्यवस्थापनका लागि दरबन्दी भन्दा अधिक सङ्ख्यामा रही नगरपालिकालाई थप आर्थिक दायित्व सिर्जना भएका ज्यालादारीतर्फ कार्यरत एवम् सेवा प्रदायक संस्थाबाट कार्यरत कर्मचारीलाई हटाइएको, नगरपालिकाको श्वेत पत्र निर्माणको काम सुरु गरेको, समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याइएको लगायतका प्रगति समेटिएको छ ।

कोहलपुर नगरपालिका प्रशासनिक भवनको ठेक्का सम्झौता भई निर्माण सुरु हुनुलाई पनि सय दिनको प्रगतिको सूचीमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ