arrow

कामको आधारमा प्रतिनिधि चयन गर्नुपर्छ : आचार्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
congress-kapil.jpg

कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवं पूर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले जनताले काम गर्ने नेतालाई चयन गर्नुपर्ने समय आएको बताएका छन् । उनले जनता न्यायाधीश रहेको भन्दै आगामी मङ्सिर ४ गते मतदान गर्दा कामको मूल्याङ्कन गर्ने समय आएको बताए । 

२०७४ सालमा स्वतन्त्रको नाममा एमालेको चुनाव चिन्ह लिई जितेका सांसद बृजेश कुमार गुप्ताले आफ्नो स्वार्थ अनुकूल विभिन्न दल फेर्दै एमालेमा प्रवेश गरेको बताए । राप्रपा, तमालोपा, स्वतन्त्र लगायत दलहरू फेरेर अहिले उत्तर तर्फको भोट पाएर जित्ने आसमा गुप्ता एमालेको प्रवेश गरेको उनले बताए । आफ्नो भिजन र दृष्टिकोण नै नभएको र खाली जित्नैका लागि पार्टी फेर्नेलाई जनताले यसपालिको निर्वाचनमा चिन्नु पर्ने बताए । 

आचार्यले चुनाव जिते पनि नजिते पनि जिल्लाको समग्र विकासमा दिनहुँ काम गरिरहेको बताए । विगतमा आफुले चुनाव जित्दा उत्तरी र दक्षिणी लगायतका क्षेत्रमा निरन्तर काम गरेको स्मरण समेत गरे । 

साथै आफ्नो निर्वाचन क्षेत्रमा नपरका उत्तरी उर्फका गाउँहरूमा सिचाइको व्यवस्था गरेको दाबी गरे । आफ्ना दाजु स्वर्गीय विष्णुराज आचार्यले गोरुसिङ्गे र ईमिलियामा तत्कालीन समयमा चलाएको बस्ती विकास योजनाका कारण अहिले ती दुबै लगायत अन्य स्थान धेरै विकसित भएको बताए । 

साथै डुमरा हर्दौना सडक , टिक्कर बुडढ्ी विचगौरी सडक लगायतका काम पनि विगत देखी वर्तमान सम्म स्तरोन्नति गरेको बताए । उनले यस पटक यस क्षेत्रका मतदाताहरूले आफूलाई जिम्मेवारी दिने र त्यो जिम्मेवारी आफुले पुरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा पार्टीका प्रदेश सदस्य एवं पूर्व एसएसपी विक्रम सिंह थापाले सुशासन विकास, स्थिरताका लागि कांग्रेसलाई मतदान गर्नु पर्ने बताए ।उनले कांग्रेसले राम्रै काम गरेकोले महाराजगन्ज र बुद्धभुमीमा दोहरिएर मेयरले जितेकोले पनि कांग्रेस प्रति जनताको लगाव रहेको उनले बताए । 

सो अवसरमा पार्टीका जिल्ला सभापति अब्दुल कलामले पार्टीको अनुशासन तोड्ने, अन्तर्घात गर्ने लगायतका पार्टी विरोधी गतिविधि गर्नेहरूलाई टिकट दिन नहुने बताए । 

त्यस्तै क्षेत्र नं २ का सभापति केशव कुमार श्रेष्ठले लोकतन्त्रलाई बचाउन र विकासलाई अगाडी लैजानको लागि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताए । संविधानको रक्षा गर्ने र कार्यान्वयन गर्ने एक मात्र दल कांग्रेस भएकाले विकास र देशको रक्षाको लागि कागे्रंसको नेतृत्व जरुरी रहेको बताए । 

नगर सभापति माधव दमासेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य रोमलाल खनाल , कपिलदेव तिवारी जिल्ला उप सभापति रजत राज आचार्य , महिला सङ्घकी अध्यक्ष मिना केसी , जिल्ला सदस्य सिता न्यौपाने लगायत बोलेको कार्यक्रमको सञ्चालन नगर सचिव कमल अधिकारी र स्वागत नगर उप सभापति सुरज प्रताप राणाले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ