arrow

जनताको मुहारमा हाँसो र खुशी ल्याएर मात्रै मर्छु : राजेन्द्र लिङ्देन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
rajendra lingden.jpg

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुहारमा हाँसो र खुशी ल्याएर मात्रै आफू मर्ने बताएका छन् । जनता अहिले पीरमर्कामा भएको र यसको कारण अहिलेका ठूला भनिएका राजनीतिक दल भएको बताउँदै लिङ्देनले राप्रपा मात्रै जनताको दुःख बुझ्ने पार्टी भएको दाबी गरे । 

बुधबार स्याङ्जाको पुतलीबजार नगरपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देशमा गरिखाने वातावरण नबन्दा सम्म जनताको भाग्य पनि नबन्ने ठोकुवा गरे । 

जनताले मत परिवर्तन नगर्दासम्म गरिखाने वातावरण नबन्ने भन्दै उनले राम्रो मान्छे र राम्रो पार्टीलाई आगामी चुनावमा जिताउन आग्रह गरे । ‘भाग्यलाई दोष दिएर मात्रै हुँदैन । साँच्चै परिवर्तन चाहने हो भने तपाईले आफ्नो मत परिवर्तन गर्न जरुरी छ ।’ 

उनले भने, ‘चुनावमा राजनीतिक नेतृत्व चयन गर्दा सबैभन्दा चनाखो हुनुपर्ने बेलामा प्रलोभनमा परि सजिलै गलत मान्छेलाई भोट हाल्दा सबैले दुख भोग्नुपरेको छ ।’ उनले त्यसैकारण यो पटक जनतालाई कसैको प्रलोभनमा नपर्न र सोँचेर, बुझेर मात्र मतदात गर्न आग्रह गरे । 

तीन दशकमा संसारका कैयन् गरिब मुलुकहरुले आर्थिक रुपमा ठूलो फड्को मारिरहँदा नेपालमा अझै पनि झोलुंगे पुल अभावमा छटपटाउनुपर्ने अवस्था विद्यमान रहेको बताउँदै उनले यो अवस्था कांग्रेस र कम्युनिष्टहरुको कारणले आएको आरोप लगाए । ‘देशलाई तीन दशकसम्म नेतृत्व गरि भड्खालोमा हाल्ने यी का‌ंग्रेस र कम्युनिष्टलाई फेरि भोट हालेर राष्ट्रदोहनमा सहभागी नहुन म सबैसमक्ष अपील गर्दछु’, उनले भने । 

जनताले यी दलहरुलाई भोट नदिने हो भने यिनीहरु देश बिगार्नका लागि सक्षम नहुने भन्दै उनले जनता पनि यो दोषको उत्तिकै भागिदार भएको उनले तर्क गरे । ‘यो देश बनाउन अब जनताले मत परिवर्तन गर्न जरुरी छ । नेतालाई गाली गरेर मात्रै होइन, मत बदलेर मात्रै देशको अवस्था बदल्न सकिन्छ । र, राप्रपाले यो कुराको वकालत गर्दै आएको छ ।’ 

राप्रपाले नेपालको राजनीतिमा एउटा संस्कार बसाउन खोजेको उनले बताए । ‘राजनीति कुनै पेशा व्यवसाय होईन, उद्योग होईन, कुनै पेट पाल्ने सात पुस्ता सपार्ने माध्यम होइन । उनले भने राजनीति त देश सेवाको पवित्र माध्यम हो ।’ राप्रपाले त्यही निष्ठाको साथ राजनीतिक गर्न चाहनेको उनले दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ