arrow

डा केसी काठमाडौं आउन मानेनन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
dr-kc-bed1.JPG

काठमाडौं ।  गत नौ दिनदेखि धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीले थप उपचारका लागि काठमाडौँ जानुपर्ने भनी गरिएको आग्रह अस्वीकार गरेका छन् । 
  
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत डा केसीको स्वास्थ्यको ख्याल गर्दै थप उपचारका लागि काठमाडौँ लैजान नेपाली सेनाको स्काइ ट्रक मङ्गलवार धनगढी पुगेको भए पनि उनले काठमाडौँ आउन अस्वीकार गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । उनले भने, “उहाँको स्वास्थ्य बचाउनुपर्ने छ, तर उहाँले काठमाडौँ नजाने अडान राखिरहनुभएको छ ।”   
  
चिकित्सा शिक्षाको सुधारको माग गर्दै बीसौँ पटक धनगढीको गीत सत्सङ्ग भवनमा उनी अनशन बसेका थिए । स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको थियो । 

अस्पतालका फिजिसिएन डा शेरबहादुर कमरले डा केसीलाई श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, मुटुको धड्कन बढ्ने, तौल घटेको, थकान महसुस हुनेजस्ता स्वास्थ्य समस्या देखिएको जानकारी दिए । 

उनको रगतमा चिनीको मात्रा कम भएको, शरीरमा पोषणतत्व र पानीको अभाव भई प्रेसर कम हुँदै गएकाले जुनसुकै समयमा पनि ज्यान जोखिममा पर्नसक्ने खतरा देखिएपछि अस्पतालले उनलाई बहुविशेषज्ञ भएको विशिष्ट अस्पतालमा स्थानान्तरण गर्न स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन, मानवअधिकार आयोगलगायतलाई सोमबार जानकारी गराएको थियो । 
 
अस्पतालले जारी गरेको विज्ञप्तिमा उनले मुखबाट पानी र नशाबाट रिङ्गर ल्याक्टेटबाहेक कुनै पनि पदार्थ लिन निषेध गरी स्वास्थ्य अवस्था जोखिममा पर्ने खतरा देखिएकाले विशिष्ट अस्पतालमा स्थानान्तरण गर्नुपर्ने उल्लेख गरिएको छ । 

यसैबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले मंगलबारै अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । त्यस क्रममा मन्त्री बोहराले प्रदेश सरकारको क्षेत्राधिकार पर्ने माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ