arrow

देउवाले पेलेपछि शेखर कोइराला समूह रणनीति बनाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
deuba-shekhar.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पाँच दलीय सत्ताधारी गठबन्धनबीच चुनावी एकताको पहल चर्को भइरहेको भए पनि प्रमुख दल नेपाली कांग्रेसभित्र भने चरम असन्तुष्टि बढेको छ । 

पार्टीको डा. शेखर कोइराला समूहले गठबन्धनलाई भन्दा पार्टीलाई महत्व दिन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै आएको छ । तर देउवा भने पार्टी भन्दा गठबन्धनको सभापति बनेर पार्टीका नेताहरुलाई नै पेल्ने रणनीतिमा लागेका छन् । 

स्थानीय तहको निर्वाचनपछि कोइराला समूहले देउवालाई पटकपटक सुझाव दिए पनि देउवा भने अहिलेको आवश्यकता गठबन्धन भएको भन्दै कांग्रेसी नेता कार्यकर्तालाई नै पेल्दै आएपछि स्थिति गम्भीर मोडमा पुगेको उच्च स्रोत बताउँछ । 

देउवा समूहले हरेक कुरामा पेल्न थालेपछि शेखर समूह चुप लागेर नबस्ने अवस्थामा पुगेको  छ । कोइराला समूहले प्रतिनिधि सभा र प्रदेश सभामा दलीय गठबन्धन गर्ने हो भने कांग्रेसले सय सिटमा नघटी सहमति गर्नुपर्नेमा अडान लिँदै आएको छ । 

तर देउवा पक्ष भने त्यो भन्दा निकै कममा आएर पनि सहमति गर्न तयार जस्तो देखिएपछि कोइराला समूह रुष्ट भएको छ । 

समानुपातिक लिष्ट बनाउँदा पनि देउवा समूहले एक्लै बढी हावी हुन खोजेपछि कोइराला समूह थप सशंकित भएको छ । 

समानुपातिकमा आफन्त, चुनाव लड्न डराएकाहरु राख्ने हो भने मतदाताले कांग्रेसलाई भोट किन हाल्ने ? भन्ने प्रश्न ब्यापक उठेको छ । 

समानुपातिकमा आसेपासे, नातागोता र सिनियर नेताले नै बस्न खोजिरहेका छन् । युवालाई राजनीतिमा प्रेरित गर्नका लागि र राजनीतिको नीति सिकाउनका लागि विभिन्न क्षेत्र समेटेर समानुपातिकमा उम्मेदवार बनाउनु पर्नेमा आफू निकटकालाई सुरक्षित राख्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएपछि कोइराला समूह सशंकित भएको हो । 

कोइराला समूहलाई समानुपातिकमा पनि पेलिएको एक नेताले बताए । त्यतिमात्र होइन गठबन्धनका कारण पार्टी तहसनहसको अवस्थामा पुगेको भन्दै सचेत गराउन कोइराला समूह लागेको छ । 

पार्टी पुरानै ढर्रामा चल्ने र पुरानै एजेन्डा अनि पुरानै नीतिसँगै कम्युनिष्टहरुको योजनामा समेत चल्न थालेपछि समानुपातिकमा के आधारमा मतदाताले मत हाल्ने ? भनेर प्रश्नसमेत तेर्सिएको छ । 

के गर्दैछ शेखर समूहले ?
शेखर समूहले शनिबारदेखि रणनीतिक कार्यक्रम गर्दैछ । शनिबार दिउँसो १ बजे बानेश्वर ब्यांकेटमा कार्यक्रम गरेर नेतृत्वलाई सचेत बनाउने भएको हो ।

त्यसअघि बिहीबार कोइराला समूहको रणनीतिक छलफल भएको छ । उक्त छलफलमा सहभागी एक नेताका अनुसार अहिलेलाई रणनीति बनाएर पार्टीलाई सचेत गराइने छ । 

यदि पार्टी आफ्नो नीति र धारणाभन्दा बाहिर गयो र एकलौटी ढङ्गले चल्यो भने चुनावसम्म गम्भीर मोडमा पुग्ने निष्कर्ष बैठकले निकालेको छ । 

सहभागी एक नेताले भने, ‘समानुपातिक लिष्ट पनि त्यसरी नै पेलेको देखियो । त्यसमाथि गठबन्धनका कारण झन् तहसनहस हुने अवस्था छ । नेतृत्वले तत्काल ध्यान नदिने हो भने अहिले रणनीतिक छलफल चलाउने छौं । पेल्ने अवस्था रहिरहने हो भने खवरदारी सभासमेत गर्नेछौं ।’

उनले अगाडि भने, ‘गठबन्धनका कारण पार्टी तहसनहस हुने नै भयो । जित्ने ठाउँमा अरुलाई दिने र हार्ने ठाउँमा आफूले लिने अवस्था आएपछि देशभर कांग्रेस खुम्चिने स्थिति छ । यसको देउवा पक्षले पूरै बेवास्ता गरेको देखिएको छ ।’

उनले युवाहरुबीच पनि तीव्र असन्तुष्टि बढेको बताए । युवालाई ठाउँ नै नराखिएपछि ठूलो जत्थाले विद्रोह गर्ने सम्भावना पनि उत्तिकै रहेको छ । 

गठबन्धनसँग एकता गर्न खोज्ने गर्दा कांग्रेस आन्तरिक रुपमा कमजोर देखिँदासमेत नेतृत्वले चासो नदिएपछि महामन्त्री गगनकुमार थापा गठबन्धनका पछिल्ला तीन बैठकमा सहभागी नै भएका छैनन् । 

ती नेताका अनुसार पार्टीले देशका लागि उठाउनु पर्ने मुद्दाहरु नउठाएपछि र पुरानै ढर्रामा जान खोजेपछि कांग्रेस धेरे ठाउँबाट बढारिने सम्भावना रहेको छ । 

बिहीबारको बैठकमा डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, डा. मिनेन्द्र रिजाल लगायतका नेताहरु सहभागी रहेका थिए । 

समानुपातिकमा जस्तै देउवाले यसरी नै पेल्दै जाने हो भने देशभर नै प्रत्यक्ष निर्वाचन बहिस्कार गर्नेसम्मको योजना बनाउन सकिने एक सहभागी सदस्यले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ