arrow

शेखर कोइराला समूहको खवरदारी सभामा सयौंको उपस्थिति, मुद्दा 'समान अवसर र न्याय' 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ८ शनिबार
khawardari-sabha-2079-06-08.jpg

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गरेको छ । सभा राजधानीको बानेश्वर ब्यांकेटमा भइरहेको हो । कांग्रेस नेता जगदीश नरसिंह केसीको सभापतित्वमा भइरहेको खवरदारी सभामा सातै प्रदेशका सात जनाले सम्बोधन गर्नेछन् । 

सभामा केन्द्रीय सदस्यहरु, प्रदेश सभापतिहरु, जिल्ला सभापतिहरु, पराजित उम्मेदवारहरु, मंसिर ४ का लागि उम्मेदवारका आकांक्षीहरु, महाधिवेशन प्रतिनिधिहरु लगायत सयौंको उपस्थिति रहेको छ ।

उक्त खवरदारी सभामा पदाधिकारीहरु कोही पनि छैनन् । त्यसैगरी स्वयं डा. शेखर कोइराला पनि सहभागी छैनन् । शुक्रबार दिउँसो स्वयंभूमा बसेको भेलाले खवरदारी सभा आयोजना गर्ने निर्णय गरेको थियो । 

पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई अंगाल्नका लागि नेतृत्वलाई दबाब दिनका लागि खवरदारी सभाको आयोजना गरिएको नेताहरुले बताएका छन् । पार्टीभित्र समान अवसर र न्यायका लागि सभा आयोजना गरिएको उनीहरुको भनाइ छ । पार्टीभित्र समान अवसर सिर्जना हुनुपर्ने, सबैले न्यायको अनुभूति गर्नुपर्ने र पार्टीभित्रकै ४० प्रतिशत हिस्सेदार समूहलाई बाइपास गर्दै गएकाले खवरदारी सभा गर्नु जरुरी रहेको उनीहरुको भनाइ छ । 

पार्टीभित्रको एक पक्षलाई बाइपास गर्दा समग्रमा गठबन्धनमै पनि कांग्रेसलाई घाटा हुने उनीहरुको विश्लेषण छ । कोइराला समूहले यसलाई गम्भीरतापूर्वक लिने र त्यही अनुसारको दबाब दिन खवरदारी कार्यक्रम गरेको हो । 

केही दिनदेखि पार्टीका कतिपय नेताहरुले अस्वभाविक महसुस गरिरहेका छन् । नेतृत्वले एकलौटी निर्णय गरिरहँदा केबल साक्षीमात्र बस्न गएजस्तो अनुभूति कोइराला पक्षका नेताहरुले गर्दै आएका छन् । 

सोही कारण महामन्त्री गगनकुमार थापा लगायतका नेताहरु पार्टी सँगसँगै गठबन्धनको बैठकमा सहभागी भएका छैनन् । खवरदारी सभामा सहभागी एक नेताका अनुसार यस्तै स्थिति रहेर पेलेर जाने हो भने माथि शेखर कोइरालादेखि तल अन्तिम तहसम्मका नेताहरुको उम्मेदवारी नपर्ने अवस्था सिर्जना हुन सक्ने पनि हुने भएकाले नेतृत्वलाई गम्भीर हुन आग्रह गरिएको छ । 

एकलौटी गर्ने, न्याय नगर्ने, असमान व्यवहार गरिरहने र लगातार पेलिरहने हो भने देशैभर विद्रोह हुन सक्ने स्थितिलाई नेतृत्वले गम्भीर रुपमा नलिए कांग्रेसको अवस्था देशैभर बिग्रने निश्चित जस्तै भएको निष्कर्षमा शेखर समूह पुगेको छ । 

यही भेलामार्फत नेतृत्वले गम्भीर रुपले लेओस् भन्नका लागि आग्रह गरिएको ती नेताले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ