arrow

देउवालाई हराउन वीपी कांग्रेससँग एमाले र समाजवादीको गठबन्धन 

logo
राम धामी,
प्रकाशित २०७९ असोज २६ बुधबार
darchula-politics-2079.jpg

डडेल्धुरा । प्रतिनिधि सभा सदस्य पदका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट उम्मेदवारी दर्ता गराएका राष्ट्रिय सभाका पूर्व सांसद चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता भएसँगै डडेल्धुरामा नेपाली कांग्रेस (वीपी), नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच चुनावी एकता भएको छ । 

एमालेले प्रतिनिधि सभामा वीपीका उम्मेदवार कर्णबहादुर मल्ललाई सघाउने सहमति अनुरुप प्रतिनिधि सभा सदस्य पदमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएको हो । पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दर्ता गराएको र वीपीसँग भएको सहमति अनुसार पार्टी केन्द्रीय कार्यालयबाटै आफ्नो उम्मेदवारी फिर्ता ल्याइएको स्नेहीले बताए ।
 
एमालेले प्रतिनिधि सभामा मल्ललाई सघाउने भएपछि प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘क’ बाट एमालेका उम्मेदवार पूर्वमन्त्री पठान सिंह बोहरालाई सघाउने सर्तमा नेपााली कांग्रेस (वीपी) ले पनि उम्मेदवारी फिर्ता गरेको छ । 

प्रदेश सभा क्षेत्र नं. ‘क’ मा एमाले उम्मेदवार बोहरालाई सघाउने सहमति भएकाले नेपाली कांग्रेस (वीपी) का उम्मेदवार गणेशप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेस (वीपी) डडेल्धुराका सभापति भरत नेपालीले बताए ।  

प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ मा भने नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य डा. ताराप्रसाद जोशीलाई नेपाली कांग्रेस (वीपी) ले सघाउने भएको छ । 

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने कसरतमा रहेका डा. जोशीलाई सत्तारुढ गठबन्धनबाट टिकट नमिलेपछि प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

डा. जोशीले सत्तारुढ गठबन्धनको अपहेलनामा परेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको र सिँगो पार्टी पंक्तिको समर्थन डा. जोशीलाई भएको नेकपा (एकीकृत समाजवादी) डडेल्धुरा जिल्ला कमिटी अध्यक्ष कविन्द्र बिष्टले बताए ।

उनले प्रतिनिधि सभामा नेपाली कांग्रेस (वीपी) का उम्मेदवार मल्ललाई समर्थन गरिएको जानकारी दिए । 

डा. जोशीले चुनाव चिन्ह लालटिन पाएका छन् । नेपाली कांग्रेस (वीपी) का सुदूरपश्चिम प्रदेश सभापति करुणाकर भट्टले सत्तारुढ गठबन्धनलाई पराजित गर्ने उदेश्यले जिल्लामा एमाले र (एकीकृत समाजवादी) सँग चुनावी गठबन्धन बनेको बताउँदै दुवै ैपार्टीप्रति कृतज्ञता जाहेर गरे । 

उनले डडेल्धुरामा अब सत्तारुढ गठबन्धन पराजित हुने जिकिर गरे । प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ बाट एमालेका नेता पूर्व जिविस सभापति गजेन्द्रबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ । डडेल्धुरामा प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दर्ता गराएकामध्ये पाँच जनाको उम्मेदवारी फिर्ता भएको छ ।

डडेल्धुरा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको क्षेत्र हो । उनी गठबन्धनका संयुक्त उम्मेदवार हुन् । 

तर कांग्रेसबाट निस्कासित मल्ल वीपीमा गएपछि केही असर देउवालाई पर्नेछ । फेरि नेकपा एसका नेता पनि बागी उठेपछि थप क्षति हुने आशंका उब्जिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ