arrow

मधेसमा ७ प्रतिशतले मात्र गराए स्वास्थ्य बिमा

logo
निरञ्जन कुमार साह ,
प्रकाशित २०७९ असोज ३० आइतबार
madhesh-samikcha.jpg

जनकपुरधाम। मधेस प्रदेशका जिल्लाहरूमा कूल जनसङ्ख्याको ७ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएका छन् । मधेस प्रदेशका जिल्लाहरूमा स्वास्थ्य बिमाको अवस्था भने सन्तोषजनक रहेको छैन।

स्वास्थ्य निर्देशनालयद्वारा जनकपुरधाममा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमको अन्तिम दिन आज मधेस प्रदेशको कूल जनसङ्ख्या ४ लाख १२ हजार ९ सय ९४ जनाले मात्र स्वास्थ्य बिमा गराएको जानकारी दिइएको छ । मधेस प्रदेशमा करिब ६२ लाख जनसङ्ख्या रहेका छन् ।

देशको बागमती प्रदेशपछि सबै भन्दा बढी जनसङ्ख्या मधेस प्रदेशमा रहेको छ । यति मात्र नभएर गरिबी तथा अशिक्षाको दृष्टिकोणले मुलुककै अग्रणी प्रदेश हो मधेस । मधेस प्रदेश समग्र मानव सूचकाङ्कको दृष्टिकोणले निक्कै पछाडि परेको छ । त्यस कारणले पनि प्रदेशमा स्वास्थ्य बिमाको अवस्था दयनीय रहेको छ ।

नेपालको संविधान २०७२ ले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु आम जनताको मौलिक हकको रूपमा रहेकाले स्वास्थ्यमा आम जनताको पहुँच बढाउनका लागि नेपाल सरकारले स्वास्थ्य बिमालाई ठूलो माध्यम बनाएको छ । २०७४ साल माघ २५ गते मधेस प्रदेशको महोत्तरी जिल्लाबाट स्वास्थ्य बिमा कार्यक्रम लागु गरेर अहिले प्रदेशको ८ वटै जिल्लामा लागु रहेको छ ।

स्वास्थ्य बिमा गराउने मध्ये २ लाख १० हजार ७ सय १४ पुरुष र २ लाख २ हजार ५ सय ८० महिला रहेको स्वास्थ्य बिमा बोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज पौडेलले जानकारी दिए। स्वास्थ्य बिमा गराएकाहरूले पनि पुनः दर्ता नगराउने पनि ठूलो समस्याको रूपमा रहेको छ । मधेस प्रदेशका सरकारी तथा निजी गरेर ८ वटै जिल्लामा ४८ वटा स्वास्थ्य संस्थाहरूले बिमा गर्ने गरेका छन् ।

जिल्ला स्तरमा सबैभन्दा बढी स्वास्थ्य बिमा सिराहा जिल्लामा भएको छ । सिराहा जिल्लामा कूल विमित मध्ये १ लाख ५ हजार ४ सय जनाले बिमा गराएको छ । सबैभन्दा कम सर्लाही जिल्लामा बिमा गराउनेहरू रहेका छन् । सर्लाही जिल्लामा २३ हजार ६ सय ५५ जनाले बिमा गराएको बिमा वार्डको प्रादेशिक कार्यालयले जानकारी दिएको छ । 

सिराहा जिल्लामा अति विपन्न समूहमा पर्ने १ हजार ८ सय १४ जनाले बिमा गराएका छन् । त्यस्तै स्वास्थ्य बिमा गराउनेले उपचार नपाएका कारणले बिमा प्रति सर्वसाधारणको रुचि नबढेको हो।

 बिमा गर्ने संस्थाले अस्पतालले गरेको विमितको उपचार खर्च समयमा नतिर्ने गरेका कारणले बिमा गराउनेको गति मधेस प्रदेशमा मन्द रहेको छ । बिमा प्रति स्थानीय सरकारका प्रमुखहरू ईमान्दार नबनेका कारणले बिमा कार्यक्रम राम्रो भए पनि गति लिन नसकेको बिमा बोर्डको धारणा रहेको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउनका लागि सबै पक्षको संयुक्त सहकार्य हुन आवश्यक रहेको मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ