गठबन्धनलाई कसैले पनि हल्का रुपले लिनु हुँदैन : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
2.1k
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनमा कर्णाली तथा सुदूरपश्चिमले खेलेको भूमिकालाई गहिरो अनुभूति गरेको र त्यसको न्याय गर्न नेतृत्व सचेत रहेको बताएका छन् । कर्णालीबाट नै प्रतिगमनविरुद्धको विद्रोह भएको उनको भनाइ थियो ।
“प्रतिगमनविरुद्ध यो गठबन्धन जन्मेको हो । यसलाई कसैले पनि हल्का रुपले लिनु हुँदैन”, प्रचण्डले भने, “यसले संविधान, सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशिताको रक्षा गरेको छ । त्यसैले संविधान मिच्नेका विरुद्धको यो गठबन्धन हो ।”
गठबन्धनले कर्णालीमा शत्प्रतिशत जित्ने पूर्ण विश्वास लिएको बताउँदै उनले कर्णालीको विकास र राजनीतिक स्थिरताका लागि जीत आवश्यक रहेको जनाए । गठबन्धन निर्माण भएबाट प्रतिगमनलाई परास्त गर्दै आएको र यो चुनावबाट पनि परास्त गरिने उनले दाबी गरे ।
उत्तेजित नभई संयमताका साथ चुनावी सफलता हात पार्नेगरी गठबन्धनका नेता तथा कार्यकर्तालाई अभियानमा कटिबद्धताका साथ लाग्नअनुरोध गर्दै उनले आर्थिक क्रान्तिसहित मुलुकको समृद्धिका लागि पनि गठबन्धनको विजय अपरिहार्य रहेको र यसका निम्ति गठबन्धनका नेताहरुबीचको विचार र भावनाको गहिरो एकताको सन्देश लिएर देशभरि हिँडेको बताए ।
युद्धलाई शान्तिमा रुपान्तरण गर्न तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, आफू र माधव नेपालको धेरै ठूलो योगदान रहेको स्मरण गर्दै उनले इतिहासको मुद्दालाई महानताका साथ लगिएको र त्यही अनुसार अघि बढ्न अपिल गरे ।