arrow

अनुगमन अधिकृतको त्रुटीः उजुरी एउटाविरुद्ध, निर्णय अर्कोविरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
anugaman-mistake-ilam.jpg

इलाम । जिल्ला आचारसंहिता अनुमगन समिति इलामका अनुमगन अधिकृत भूमिराज भुषालको कार्यसम्पादनमा केही त्रुटी भेटिएको छ । आफ्नो कार्यालयमा प्राप्त उजुरीउपर छानबिन, अनुगमन, निर्णय एवम् कारबाहीमा त्रुटी भेटिएको बताइएको छ ।

भुषालले कार्यसम्पादनका क्रममा हेलचेक्र्याइँ गर्ने गरेको पाइएको हो । उनले आचारसंहिता प्रतिकुल घटनाका सम्बन्धमा एउटाविरुद्ध परेको उजुरीको निर्णय अर्कैविरुद्ध गरेको पाइएको हो ।

उजुरीकर्ताले दिएको उजुरीको भन्दा पनि सो उजुरीमा प्रमाणका रुपमा संलग्न कागजजातको विरुद्ध निर्णय गराएका हुन् ।

यस्तो छ उजुरीको प्रकृति
इलामको चुलाचुली गाउँपालिकाले आफ्नो नियमित त्रैमासिक कार्यक्रम अन्तर्गत घरघरमा सामाजिक सुरक्षा भत्ता दिने निर्णय गर्यो । सोही निर्णय बमोजिम गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको नेतृत्वमा पालिकाका कर्मचारी, बैंकका कर्मचारी र प्रहरीसहितको टोलीले घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्यो । 

गाउँपालिकाको सो नियमित कार्यक्रमको ’घटनापरक समाचार’ इलामको अनलाइन पत्रिका नयाँ बुलन्द अनलाइनले २६ असोजमा प्रकाशन गर्यो । सोही समाचार प्रकाशन भएपछि नेकपा एमाले इलामका उपसचिव रविन्द्र सुवेदीले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध निर्वाचन कार्यालयमा उजुरी गरे । 

सो उजुरीको प्रमाणका रुपमा नयाँ बुलन्दमा प्रकाशित समाचारको कटिङसमेत संलग्न गरे । उनले नयाँ बुलन्द अनलाइन विरुद्ध नभई गाउँपालिका अध्यक्ष विरुद्ध उजुरी दिएका थिए । तर जिल्ला आचारसंहिता अनुमगन समिति इलामका अनुमगन अधिकृत भुसालले अनुगमन र तथ्यपरक अनुसन्धान नै नगरी उजुरीमा प्रमाणका रुपमा संलग्न समाचार हटाउन लगाउन भन्दै ४ कात्तिकमा चुलाचुली गाउँपालिकालाई पत्राचार गरे । चुलाचुली गाउँपालिकाले अनुगमन समितिको पत्रानुसार भन्दै १५ कात्तिकमा नयाँ बुलन्द अनलाइनलाई समाचार हटाउन पत्राचार गर्यो ।

यसरी एउटा विरुद्ध परेको उजुरीमा अर्कैलाई कारवाही गर्ने निर्णय अपरिपक्व र उल्टो भएको स्वयम् उजुरीकर्ता एमाले इलामका उपसचिव रविन्द्रले बताए । ‘मैले समाचार प्रकाशन गर्ने मिडिया नयाँ बुलन्द अनलाइनको विरुद्ध नभई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गाउँपालिका अध्यक्षविरुद्ध उजुरी दिएको हुँ । नयाँ बुलन्दको समाचार त प्रमाणका रुपमा मात्र संलग्न गरेको हुँ’ सुवेदीले टेलिफोन सम्पर्कमा भने, ’यो त अनुगमन समितिको अक्षमता हो ।’

गाउँपालिकालाई प्रयोग गरे

यसैबीच आचारसंहिता अनुगमन समितिका अनुगमन अधिकृत भुषालले प्रमाणका रुपमा संलग्न संचारमाध्यमलाई सो समाचार हटाउन गाउँपालिकालाई प्रयोग गरेका छन् । सिधै संचारमाध्यमलाई पत्राचार नगरी भुषालले गाउँपालिकालाई पत्राचार गरेर समाचार हटाउन लगाएको पाइएको छ । 

यो घटनालेसमेत भुषालको कार्यसम्पादनमा असक्षमता पुष्टि हुन्छ । किनकि संचारमाध्यममा प्रकाशित समाचार हटाउन लगाउने अधिकार न अनुमगन समितलाई छ न त पालिकालाई नै छ । त्यसमा पनि प्रमाणका रुपमा मात्र संलग्न समाचार । अनुगमन समितिले उजुरीको व्यहोराबारे नै पूर्ण ज्ञान नभएको समेत पाइएको छ ।

चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले अनुगमन समितिबाट आएको पत्रानुसार मात्र आफूले पनि पत्राचार गरेको बताए । 

पत्रकार महासंघको आपत्ति 
यसरी जिल्ला आचारसंहिता अनुमगन समिति इलामको आदेशमा चुलाचुली नयाँ बुलन्द अनलाइन संचारमाध्यममा प्रकाशित समाचार हटाउन पठाएको पत्रप्रति नेपाल पत्रकार महासंघ इलाम शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विहीबार साँझ महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि सञ्चार माध्यमलाई समाचार हटाउन लगाउने कार्य नै पत्रकार आचारसंहिता २०७३ विपरीत रहेको स्मरण गराउँदै रुपमा नागरिकको मौलिक हकको स्वतन्त्रता हनन् हुने गरी सञ्चार क्षेत्रमा गरिने यस प्रकारका हस्तक्षप नदोहो-याउन चेतावनी  दिएको छ ।

’निर्वाचन जस्तो लोकतन्त्रको अपरिहार्य प्रक्रियालाई सफल पार्न हरेक चुनौति मोलेर सञ्चार कर्म गरिरहने पत्रकारका लागि यो विषयले गम्भीर बनाएको छ’ महासंघका अध्यक्ष विप्लव भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संविधानले परिकल्पना गरेभन्दा विपरित रुपमा नागरिकको मौलिक हकको स्वतन्त्रता हनन् हुने गरी सञ्चार क्षेत्रमा गरिने यस प्रकारका हस्तक्षप आगामी दिनमा नदोहोर्याउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ