arrow

एकै दिन गोरखाका पाँच ठाउँमा प्रचण्डका कोणसभा, भने - गिरिजाबाबुले हँसिया हथौडामा भोट हालिसकेकाले हिच्किचाउन पर्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
prachanda-dahal-maoist-manifesto-2079-election.jpg

गोरखा ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रवार एकै दिन गोरखाका पाँच ठाउँमा भएको कोणसभालाई सम्बोधन गरेका छन् । क्षेत्र नं २ का विभिन्न स्थानमा वाम–लोकतन्त्रिक गठबन्धनको आयोजनामा भएको संयुक्त चुनावी जनसभा तथा कोणसभालाई सम्बोधन गर्दै उनले अबको पाँच वर्षमा गोरखाका धुलो सडकलाई कालोपत्र गरेर छोड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन् । 

'गोरखा जिल्लाभित्रका सडकहरु धुलाम्मे छन्', उनले भने, 'अबको पाँच वर्षमा यी सडकलाई कालोपत्र गरेर मात्र छोडिन्छ ।' प्रचण्डले चितवन जिल्लामा पाँच वर्षमा धुलाम्मे सडकलाई पूरै कालोपत्र गरेको भन्दै अब गोरखाको पनि धुलाम्मे सडकलाई कालोपत्र गर्ने बताए । उनले बृहत् शान्ति सम्झौतामार्फत हस्ताक्षर गरेर आफूले कांग्रेसको रूख चिह्नमा भोट हालेको र तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा भोट हालिसकेकाले अब दुवै पार्टीका कार्यकर्ताले एकअर्काको चुनाव चिह्नमा भोट हाल्न हिच्किचाउन नपर्ने स्पष्ट पारे । 

'शान्तिका लागि संविधानको रक्षाका लागि हँसिया हथौडाले पनि रूखमा भोट हाल्न तयार हुनुपर्‍यो', अध्यक्ष प्रचण्डले भने, 'रूखले पनि दृढताका साथ शान्तिका निम्ति, लोकतन्त्रका निम्ति संविधानको निम्ति हो भन्ने कुरालाई आत्मसात् गरी खुसी साथ हँसिया हथौडामा भोट हाल्न तयार हुनुपर्‍यो ।' उनले वाम–लोकतान्त्रिक गठबन्धन बृहत् शान्ति सम्झौताको निरन्तरता पनि भएको भन्दै संविधान र लोकतन्त्रका लागि गठन भएको वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न सबैलाई अपिलसमेत गरे । 

कोणसभा सम्पन्न पछि सदरमुकाममा आयोजित भेटघाट कार्यक्रममा उनले  प्रतिगमन एक पटक परास्त भए पनि अझै टाउको उठाउन खोजी रहेको भन्दै अबको निर्वाचनबाट त्यस्ता सदाका लागि परास्त गर्नुपर्ने बताए । 

'प्रतिगमनकारीहरु परास्त त भए एक पटक', उनले भने, 'यो चुनावमा फेरि राजावादी तथा अतिवादी संविधान विरोधी सबै एक ठाउँमा बसेर वाम लोकतान्त्रिक गठबन्धनकाविरुद्ध खडा छन् ।' प्रचण्डले देशको नेतृत्व गर्ने अवसर आए आफू तयार रहेको भए पनि प्रधानमन्त्रीका लागि मरिहत्ते नगरेको बताए । उनले गोरखा क्षेत्र नं २ मा आफ्नो प्रतिस्पर्धी कोही पनि नभए जस्तो लागेको समेत बताए । 

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि शुक्रवारदेखि अनुमति दिएलगत्तै अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र  गोरखा–२ मा चुनाव प्रचारलाई तीव्रता दिएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गोरखा नगरपालिका–१४ स्थित याङकोट, वडा नं १० को रानीटार, वडा नं ११ को छेवेटार,  वडा नं ८ को आहाले र वडा नं ६ को ठूलो आँगनमा कोणसभालाई सम्बोधन गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ