- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । दिउँसाे साढे १२ बजेको समय । बुटवलको राजमार्ग चौराहा नजिक रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा नागरिक र प्रहरीहरुको खचाखच भीड थियो । बाहिरै प्रष्ट सुनिने कोलाहल पनि । भित्र पस्दा गेटको सिसा तोडिएको थियो । मान्छेहरुको भीडभाड बाक्लो थियो । कारण अधिकांशले दशैं, तिहारका बेलामासमेत पैसा निकाल्न नपाएको भन्दै आक्रोशित सदस्यहरुले बुधबार सहकारीको सिसा तोडफोड गर्न भ्याए ।
सोही भीडमा बुटवल उपमहानगरपालिका वडा न–९ का मनोज गुरुङ हातमा चेक लिएर बसेका थिए । होटल व्यवसायी रहेको बताउने गुरुङले दैनिक रुपमा बचत गरेको रकम १ लाख २६ हजार भएको बताए । बुटवल– ११ की रितिका थापाले पनि आफूले पैसा निकाल्न नपाएको बताइन् ।
दुर्घटनामा परी अस्पतालमा भर्ना गरिएको बिरामीका लागि उपचार गर्न १ लाख रुपैयाँ निकाल्न आएका तिलोत्तमाका यम पौडेल निराश अनुहारमा सहकारीका कर्मचारीसँग समस्या बताउँदै अनुनय गर्दै थिए । तर उनको अनुनय सुन्न कर्मचारीहरुले कुनै चासो दिएका थिएनन् ।
पौडेलले ३ वर्षअघिदेखि जम्मा गरेको बताउँदै बचतमा केही रकम र मुद्दती खातामा ५ लाख रुपैयाँ भएको जनाउँदै अप्ठ्यारोमा चाहिएला भनेर जम्मा गरेको रकम निकाल्न नपाउँदा उनी कसरी उपचार गर्ने चिन्तामा थिए । ईट्टाभट्टीका होटल व्यवसायी हरि थापाले करिब १ लाख २० हजार रुपैयाँ भए पनि सिमित पैसा निकाल्न नपाउँदा सहकारीको कार्यप्रति क्रोध पोखे ।
२०५७ सालमा स्थापना भएको सुप्रिम सहकारीको प्रधान कार्यालय बुटवल–९ चौराहामा छ । रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुमा कारोबार गरेको सहकारीले दाङमासमेत शाखा विस्तार गरेको उक्त सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङले बताए । २ हजार ५ सय शेयर सदस्य रहेको सहकारीमा १ अर्ब ३० करोड निक्षेप रहेको सहकारीका व्यवस्थापक सागर केसीले जनाए ।
सहकारी यस्तो अवस्थामा आउनुको कारण के हो ? भन्ने जिज्ञासामा व्यवस्थापक केसीले भने पछिल्लो समय नेपाली बजारको तरलताले यस्तो भएको प्रतिक्रिया दिँदै ग्राहकहरुको समस्यालाई समाधान गर्नका लागि सहकारीले सहजता अपनाउने बताए ।
सहकारीले तोडफोडपछि एक सूचना जारी गर्दै कार्तिक २३ गतेदेखि लागू हुनेगरी संस्थाको अर्को सूचना जारी नहुँदा सम्मको लागि प्रत्येक खाताबाट हप्ताको २ दिन भुक्तानी हुने गरी निम्न अनुसारको रकमको चेक सटही गरिने उल्लेख गरेको छ । आईतबार– बुधबार ५ हजारदेखि १० लाख, सोमबार– बिहीबार १० हजार १० लाख, मंगलबार– शुक्रबार २० हजार २५ हजार र प्रत्येक दिन ५० वटा चेक सटही गरिने जनाइएको छ ।
सो सहकारीले मेगा बैंक, सिटिजन बैंक, ग्लोवल आईएमई बैंक, प्राइम बैंक, गरिमा विकास बैंक र राष्ट्रिय सहकारी बैंक लगायतमा गरी २ करोड रुपैयाँ रहेको र बैंकले प्रतिदिन ९ लाख ९० हजार मात्रै दिने भएकाले पनि समस्या भएको हो । त्यसैले शेयर सदस्य र बचतकर्ताहरुलाई सहज प्रदान गर्न सहकारीको सञ्चालक समूह र व्यवस्थापक टिम लागि परेकाले सदस्यहरुलाई स्पष्ट पार्नका लागि मंसिर महिनाभित्रै साधारण सभा गर्ने तयारी गरेको व्यवस्थापक केसीले बताए ।
देशको आर्थिक अवस्था कमजोर बन्दै गएकाले समस्या भएको भनी प्रतिक्रिया दिएका व्यवस्थापक र सहकारीमा आएका सदस्यहरुको भनाइ भने बाझिन पुग्यो । सदस्यहरुले भने सुप्रिम सहकारीका सञ्चालकहरुले जग्गा खरिदमा धेरै लगानी गरेको र पछिल्लो समय जग्गा कारोबार ठप्प भएकाले समस्या आएको जनाएका थिए ।