- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला न्याय माग्न पुगेकी बिनु यादव सर्वोच्च अदालतकै गेटबाट प्रहरीको नियन्त्रणमा परेकी छिन् ।
पतिबाट आफूमाथि हिंसा भएको र त्यसविरुद्ध न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार उनी सर्वोच्च अदालत पुगेकी थिइन् । तर, ट्याक्सीबाट ओलिर्नेवित्तिकै सुरक्षाकर्मीको घेरामा परेकी उनले आफू बोकेर गएको रातो रंग सर्वोच्च अदालतको गेटमा फ्याँकिन् । घोलिइरहेको रातो रंग गेटमा पोखेकी उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।
आफूमाथि भएको हिंसा र न्याय नपाएको विरोधमा रातो रंग फ्याँकेकी उनले प्रहरीको गाडीभित्रबाट कराइन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’
उनले भनेजस्तै ३१औं अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान संसारभर चलिरहेको छ । तर, दैनिकजसो महिला हिंसामा परेको, हत्या भएको, न्याय नपाएको घटना सार्वजनिक भइरहेका छन् ।
न्यायकै लागि सर्वोच्च अदालत पुगेकी सिरहाकी बिनु प्रहरी नियन्त्रणमा परेकी हुन् । प्रहरीले नियन्त्रणमा लिन थालेपछि उनले चिच्याउँदै भनिन्, ‘‘मलाई न्याय चाहियो ।’
उनको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । तर, न्यायका लागि भन्दै उनी सडक संघर्षम उत्रिन थालेकी छन् ।
केही महिनाअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी उनले आफूमाथि पतिसहित घरपरिवारबाट शारीरिक र मानसिक रुपमा हिंसा भएको बताउँदै आएकी छन् । काका ससुरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको उनको आरोप छ ।
बिनुसँगै ज्यास्मिन ओझालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।