arrow

नेकपा माओवादी र नेकपा एसबीच पार्टी एकताको पहल थालिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
prachanda-madhav-nepal.jpg

काठमाडौं । निर्वाचन अघि नै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने सहमतिलाई कार्यान्वयनका लागि पहल थालिएको छ । चुनावी नतिजा लगत्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको पहल थालिएको नेकपा एसका एक नेताले जानकारी दिए । सोचेजस्तो अपेक्षित चुनावी नतिजा नआएपछि यी दुई दल एकता गरेर बलियो शक्ति बन्ने प्रयासमा लागेको स्रोतको दावी छ । माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरू एकताबारे छलफलमा गरेको भए पनि त्यसलाई बाहिर ल्याइएको छैन । 

एकताको विषयमा अन्तिम टुङ्गो नलगाए पनि पार्टीको नाम र चुनाव चिह्नसमेतको विषयमा छलफल भइरहेको छ । तर, नेताहरूले उक्त विषयमा औपचारिक रूपमा भने प्रतिक्रिया दिन मानिरहेका छैनन् । स्रोतले दिएको जानकारी अनुसार यो एकता प्रक्रियामा वामदेव गौतम, बाबुराम भट्टराई, घनश्याम भुसालसहितका नेताहरूलाई जोड्ने बारेमा पनि प्रयास भएको छ । त्यसका लागि माओवादी अध्यक्ष प्रचण्डले प्रयास गरिरहेको पनि माओवादी स्रोतको दाबी छ ।

प्रचण्डनिकट स्रोतको दाबीमा नेता भुसाललाई सहमत गराउन सकिए एकीकृत पार्टीको महासचिव बनाउन सकिनेमा गरी प्रस्ताव अघि सारिएको हो । स्रोतको दाबी अनुसार एकता हुँदा पार्टीको नाम पनि परिवर्तन हुनेछ । नयाँ पार्टीको नाम नेकपा समाजवादी हुन सक्ने पनि बताइएको छ । शीर्ष तहका नेताहरूबीच यो नाममा छलफल भइरहेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी दुवैको नाम परिवर्तन गरेर नेकपा समाजवादी राख्न सकिनेमा छलफल अगाडि बढेको छ । 

त्यसो गर्दा पहिला समाजवादी केन्द्र बनाउने गरी भएको छलफल र त्यसमा सहमत नेताहरूलाई जोडिन पनि सहयोग पुग्ने बताइएको छ । स्रोतका अनुसार चुनाव चिह्न कलम राख्ने विषयमा पनि छलफल भएको छ । दुई पार्टीबीच एकता गर्ने विषयमा पुरानै छलफल भएको तर अहिले ठूलो प्रगति नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङ बताए । ‘यो पुरानै कुरा अहिले सामान्य छलफल चलेको छ’, उनले भने । 

३१ साउनमा माओवादी केन्द्रले एकीकृत समाजवादीसँग एकता गर्न संयोजन समिति बनाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट १ भदौमा यी दुई पार्टीबीच एकता गर्ने एकीकृत समाजवादीले निर्णय गरेको थियो । दुवै पार्टीले ४ सदस्यीय संयोजन समिति बनाउने निर्णय गरेका थिए । तर यसलाई चुनाव पछि भन्दै रोकेका थिए । 

एकीकृत समाजवादीभित्र एकता गर्न नहुने मतसमेत रहेका कारण त्यति बेला प्रक्रिया स्थगित गएको थियो । चुनावमा अपेक्षित नतिजा नआएपछि भने उनीहरू पनि एकताका लागि तयार भएको समाजवादीका नेताहरूको भनाइ छ । एकीकृत समाजवादीलाई समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउन निकै सकस परिरहेको छ । 

४ मङ्सिरको चुनावमा खसेको १ करोड ९ लाखमध्ये ९९ लाख ८८ हजार मत गणना हुँदा एकीकृत समाजवादीले अहिलेसम्म थ्रेस होल्ड कटाएको छैन । राष्ट्रिय दलको मान्यता पाउनका लागि समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउने यो संर्घषमा एकीकृत समाजवादी सफल भएन भने उसको राजनीतिक भविष्यमाथि गम्भीर प्रश्न उठ्ने भएकाले पनि पार्टी एकीकरणको प्रक्रिया अघि बढेको स्रोतको दावी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ