arrow

इन्गेजमेन्ट रद्द भएपछि शरीरमा पेट्रोल छर्किएर आत्मदाह ! 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
puspa-neupane.jpg

काठमाडौं । दुवै पक्षवीच विवाह गर्ने सहमतिपछि भएपछि केटा पक्षले ‘इन्गेजमेन्ट’ रद्द गर्दा युवतीले आफू अपमानित भएको महसुस गर्दै केटाको घरमा पुगेर आत्मदाह गरेकी छन् । काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएकी प्रहरीले दावी गरेको छ । तर परिवारका सदस्यहरूले भने केटाका परिवारले पुष्पालाई आत्महत्या गर्न लगाएको वा परिवारका सदस्यहरूले नै पेट्रोल छर्केर हत्या गरेको आशङ्का गरेका छन् । 

शरीरमा आगो लागेको अवस्थामा प्रहरीले पुष्पालाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो । सोमबार बिहान पुष्पाको मृत्यु भएको छ । पुष्पाका काका उत्तम न्यौपानेका अनुसार पुष्पा जलेको अवस्थामै सुदन सङ्ग्रौलाका परिवारले देखेको र आफूहरूलाई खबर समेत गरेको तर उद्धार गरेका थिएनन् । 

एक वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो । यही बीचमा उनीहरूको सम्बन्धमा दरार आएपछि गत शनिबार इन्गेजमेन्ट रद्द गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । ‘इन्गेजमेन्ट रद्द भएपछि घरमा बोलाएर टर्चर दिने काम भयो जसका कारण पुष्पाको ज्यान गयो, उनीहरूलाई छानबिन गर्नुपर्छ’, पुष्पाका काका न्यौपानेले भने । 

परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेको आशङ्का छ । पुष्पाका परिवारले सुदनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेर दिएका थिए । आइतबार राति नै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । तर अदालतले सुदनविरुद्ध मात्रै सोमबार म्याद दिएको छ । सुदनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न महाराजगन्ज वृत्त प्रहरीले अनुमति पाएको छ । वृत्तबाट थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराले बताए । 

‘ सुदनको बाबुले पुष्पा जस्तै मानिस सडकमा जलेकी छिन् भन्दै हामीलाई जानकारी गराएको थिए, अस्पताल लैजानु पर्छ भन्दा उनले मानेको देखिएन’, पुष्पाका काका उत्तम न्यौपानेले भने । सुदनकै परिवारको दबाबमा पुष्पाको ज्यान गएको पनि उनको दावी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ