- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हाइकु लेखनमा पैदा हुने ऋतुकालीन कम्पनलाई ऊर्जाको रूपमा आत्मसात् गर्ने कवि, लेखकले मात्रै सुन्दर हाइकु सिर्जना गर्न सक्छ । यस यात्रामा वसन्तराज अज्ञात आशा र उत्साहसहित ‘साँझको जून’ (हाइकुसङ्ग्रह, २०७९) मा देखा परेका छन् । उनले निरन्तर कविता, मुक्तक, गीत, गजल र हाइकुजस्ता काव्यात्मक विधा र उपविधाको सिर्जना गरेका छन् । यससँगै चित्रकारिता पनि उनको अभिन्न पाटो हो ।
विभिन्न स्रष्टाका पुस्तक र पत्रपत्रिकाको साजसज्जामा वसन्तजीको कला–कौशल आकर्षक रूपमा देख्न सकिन्छ । यसरी विधागत सिर्जनामा समर्पित उनको २०५० सालमा प्रतिभा साहित्यिक पत्रिकामा शुभकामना शीर्षकको कविता प्रकाशित भएको थियो । त्यसपश्चात् क्रमशः ‘सपना सजाएर आँखाभरि’ (गीतिसङ्ग्रह, २०६३) र ‘मखमली दरबार’ (गीतिसङ्ग्रह, २०६९) कृति प्रकाशित भइसकेका छन् । साथै, उनको उपस्थिति विभिन्न सहकृतिमा पनि रहेको छ ।
ध्वनि अर्थात् विद्युतीय सञ्चारमाध्यमबाट कतिपय गीतिरचनाहरू सङ्गीतबद्ध भई प्रसारित भएका छन् । विभिन्न सर्जकका पुस्तकका साथै उनले आधा दर्जनभन्दा बढी साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका छन् । यसरी हाइकुकार, गीतकार, गजलकारको छवि बनाएका वसन्तराज अज्ञात केही संस्थासँग आबद्ध भई कार्यानुभव गरिसकेका छन् ।
यस अर्थमा उनलाई स्रष्टा र द्रष्टाको दृष्टिकोणले हेरिएको हो । शाही निरङ्कुशताविरुद्ध २०६१ सालमा लोकतान्त्रिक जनआन्दोलन भएको थियो । त्यसमा उनले सक्रिय भूमिका निर्वाह गर्न पुगे । त्यस क्रममा सुरक्षाकर्मीको यातनाबाट झन्डै ज्यान गुमाउनुपरेको थियो । शिक्षण अस्पतालमा लगातार करिब दुई महिना उपचारमा रहनुप-यो । त्यस योगदानको सम्मानस्वरूप नेपाल सरकारले ‘जनआन्दोलन घाइते सम्मान
(२०६३) प्रदान गरेको थियो ।
खोटाङको चिउरीडाँडा वडा नं. ६, दोबेला (हालः दिक्तेल रूपाकोट मझुवागढी न.पा. ८) मा माता मैथकु श्रेष्ठ र पिता लालबहादुर श्रेष्ठको कोखबाट जन्मिएका वसन्तराज श्रेष्ठ नै नेपाली साहित्याकाशमा वसन्तराज अज्ञातको उपनामले परिचित छन् ।
यतिखेर अज्ञातको ‘साँझको जून’ हाइकुसङ्ग्रहबारे आफ्ना केही दृष्टान्तहरू व्यक्त गर्न चाहन्छु । त्यसअघि हाइकुको अभिलेखनलाई अति सङ्क्षेपमा प्रस्ट पार्न चाहन्छु ।
हाइकु जापानी काव्य विधाको लघुतम रूप हो । यसका बाह्य र आन्तरिक दुई रूप हुन्छन् । हाइकु क्रमशः ५–७–५ गरी त्रिपद र १७ अक्षरमा बन्धित हुन्छ, जसलाई बाह्य संरचना भनिन्छ । यसको मुख्य दर्शन भन्नु नै प्रकृतिप्रदत्त, ऋतुबोधक बिम्ब हो, जसलाई जापानमा किगो भनिन्छ । यो नै हाइकुको आन्तरिक संरचना हो । जुन हाइकुको ढुकढुकी हो । प्रकृति र जीवन दर्शनको सन्निकट रही निश्चित अक्षर, शब्द र लयको लालित्यले हाइकु प्रस्फुटित हुन्छ । यही मूलमर्मलाई आत्मसात् गरे मात्रै सुन्दर हाइकु रच्न सकिन्छ । हाइकुको पहिलो हरफले विषय उठान, दोस्रो हरफले सामीप्य र तेस्रो हरफले प्रदान गर्ने निष्कर्ष आफैँमा उत्कर्षमय हुन्छ ।
जुन बिम्बविधान विपरीत हाइकु भनी रचिन्छ, त्यो सेन्यु वा सपाट कविताको टुक्रा बन्छ । सेन्युमा हाइकुको बाह्य संरचना ज्युँका त्युँ रहन्छ । तर, आन्तरिक संरचना स्वतन्त्र, स्वेच्छिक र मनोगत रहन्छ अर्थात् कुनै पक्ष अनिवार्य रहँदैन ।
जापानी होक्कु, हाइकाइ, ताङ्का, सेदोका, बाका, रेङ्गा, हाइ–बुन र हाइगा आदि जापानी काव्य विधा र नेपाली कथ्य वा लेख्य रूपमा प्रचलित लघुतम काव्य उपविधाको चर्चा र चित्रणभन्दा पनि हाइकुकार वसन्तराज अज्ञातद्वारा रचित ‘साँझको जून’ हाइकुसङ्ग्रहमा केन्द्रित हुनु बढी सान्दर्भिक हुन्छ । यद्यपि त्यसअघि केही थप चर्चा गर्नु उपयुक्त ठानेको छु ।
जापानमा आठौँ शताब्दीमा प्रयुक्त होक्कुलाई नै पछि मोरीताके र बासोले पनि अपनाएका थिए । चोटिलो–पोटिलो र छोटो–मीठो रचनाको रूपमा यसले कविहरूको स्पन्दनलाई पगाल्न सक्यो । लोकोक्ति, उखान, वेद, ऋचा र चण्डीलगायतका प्राचीन र पौराणिक कतिपय ग्रन्थमा हाइकुजस्तै मिल्दाजुल्दा काव्यका लघुतम रूप र स्वरूपहरू प्राप्त गर्न सकिन्छ ।
यसै क्रममा जापानका विश्वप्रसिद्ध हाइकुकवि बासो (१६४४–१६९४) ले हाइकुमा प्राण भरे, सुस्थापित तुल्याए । यसको सुवास विश्वभर फैलियो । यसलाई अनुशरण गर्दै हाइकुलाई स्वतन्त्र काव्यको लघुतम विधाको रूपमा सिकीले नामाङ्कित गरे । यसलाई विभिन्न कविहरूले अनुशरण गर्न पुगे ।
नेपालमा भने जापानी हाइकु कवितालाई सुप्रसिद्ध निबन्धकार शङ्कर लामिछानेले प्रारम्भ गरेका हुन् । उनले २०१९ साल भदौमा प्रकाशित ‘रूपरेखा’ साहित्यिक पत्रिकामा ‘सूर्योदय’ शीर्षकको हाइकु प्रकाशित गरे । यसपश्चात् नेपाली काव्यात्मक इतिहासमा नवीनतम् सिर्जना र प्रयोगको रूपमा हाइकु भित्रियो । नयाँ संरचना, स्वाद, शिल्प र शैलीका कारण नेपाली साहित्यभित्र हाइकुले फुल्ने र फल्ने अवसर पायो । अहिले सयौँसयौँ हाइकुकार (हाइजीन) हरू नेपाली साहित्यमा स्थापित भइसकेका छन् । तिनै नाममध्ये अग्रपङ्क्तिमा वसन्तराज अज्ञात पनि देखा परेका छन् ।
यसै क्रममा नवीनतम हाइकुसङ्ग्रह ‘साँझको जून’ लिएर वसन्तराज अज्ञात उदाएका छन् । जब साँझले दिनलाई बिदा गरेर रातलाई सङ्केत गर्छ । सोझैभन्दा यो नियमित चक्र हो, जुन सायङ्कालले दिनभरका थकाइलाई मेट्न प्रेरित गर्छ । तापनि चकमन्न रातको यात्रालाई, अन्धमय, अधोगति र उल्टो पदचापको रूपमा व्यक्त गर्ने बिम्बात्मक दृष्टिकोण प्रचलित छ । यसका रिक्तता, मलिनता, अभाव र छट्पटीका भेदहरू आफ्नै प्रकारका छन् । जहाँ अँध्यारोलाई मुक्त गर्न र उज्यालोको मधुरता, (शीतलता) थप्न हाइकुकारले जूनलाई उभ्याएका छन् । यसले हाइकुको मर्म, विरोधाभास, अनन्त सम्भावना र खालीपनालाई अभिव्यक्त गर्छ । यद्यपि ‘साँझको जून’भित्रको विषयगत विविधताबारे सङ्क्षेपमा चर्चा गर्न चाहन्छु । जस्तैः
आफ्नो भन्दैन
प्रेममा आगो लाग्दा
निश्चेष्ट सोच !
हाइकुकार वसन्तराज अज्ञातले प्रस्तुत हाइकुमा सामाजिक तथा सांस्कृतिक मनोविज्ञान, अन्तरद्वन्द, विचरण र विरोधाभासलाई व्यक्त गरेका छन् । विकृत मानसिकता, चेतनहीन, अन्धोन्माद र चरित्रहीन उपक्रमप्रति प्रहार गरेका छन् । यस प्रवृत्तिले समाजलाई आक्रान्त तुल्याएको प्रति हाइकुकारले कटाक्ष गरेका छन् । यस प्रवृत्ति सन्निकट केही हाइकुलाई फेरि पढौँ –
बैँस उर्लियो
वर्षातको भेलझैँ
बाँध भत्कियो !
००
सुस्तायो खोला
प्रीतिगीत गाउँदै
सम्झेर तिमी !
००
प्रीतको फूल
फैलिन्छ चारै दिशा
बास्ना बनेर !
प्रस्तुत हाइकुले प्रेम र प्रणयको मनोभावलाई अभिव्यक्त गर्दै मानवीय जीवन र प्रकृतिबीचको अभेद्य सम्बन्धलाई चित्रण गरेका छन् । प्रकृति र ऋतुबोधक बिम्बबीचको अन्योन्याश्रित सम्बन्धलाई हाइकुकारले व्यक्त गरेका छन् । यद्यपि क्षणिक मनोभावना र आवेगले ती हाइकुमा क्षणभङ्गुरता पनि त्यतिकै देखिन्छ ।
तिनका हाइकु अभीष्टलाई बैँस, रात, वर्षात, आगो र फूल आदिले बिम्ब प्रधानताका रूपमा मलजल गरेको पाइन्छ । त्यस्तै अर्को सुन्दर हाइकु पढौँः
सागर भेट्न
कस्तो हतारमा छे
मोरी झरना !
प्राकृतिक रम्य र जीवनको प्रगाढ सम्बन्ध रहेको यस हाइकुले शृङ्गारिक लवज र शैलीलाई आत्मसात् गरेको भान पर्छ । यद्यपि यस हाइकुमा सागर र झरना बिम्बले गतिशीलताको सौन्दर्यलाई बोध गरेको छ । केन्द्रीय बिम्बको रूपमा ‘सागर’ शब्द देखा परेको छ । यो हाइकु निक्कै सरल, मिठास, सुन्दर, लयात्मक र भावमय छ । उपर्युक्त हाइकुहरूले सांस्कृतिक चलन, विचलन र जीवन सौन्दर्यको मनोकाङ्क्षालाई आत्मसात् गरेको छ । हाइकुकार अज्ञातमा विविधतायुक्त सुन्दर हाइकु रच्न सक्ने सामथ्र्य देखिन्छ । यसक्रममा फ्रायडको प्रभाव हाइकुकारमा देखा परे पनि हाइकु कविता शिष्ट, शालीन र बोधगम्य छन् । यो उनको शैलीगत विशिष्टता हो ।
दशैँ तिहार
अपूर्व भेटघाट
ऋतु शरद्को !
हाइकु कवितामा प्रकृति र संस्कृतिको अपूर्व मिलन रहन्छ । विशेषतः शरद् ऋतुमा दसैँ र तिहारजस्ता मौलिक नेपाली सांस्कृतिक पर्वहरू पर्दछन् । यिनले आपसी पहिचाहन, प्रगाढ र स्नेही सम्बन्धलाई अकाट्य रूपमा स्थापित गर्दै आएको छ । तसर्थ, यस हाइकुले जीवन–सापेक्षित सनातन सांस्कृतिक मूल्यलाई चित्रित गरेको छ । शरद् याममा मात्रै होइन, सम्पूर्ण याममा कुनै पनि वर्ग, तहतप्का र समुदायका चाडबाड पर्दछन् । ती सबै हाइकु सिर्जनाको सुन्दर बिम्ब बन्न सक्छन् । प्रकृति र संस्कृतिलाई बुझ्ने समुदायका नियमहरू फरक–फरक हुन्छन् । तिनको द्वन्द्वात्मक विश्लेषणसहित अध्ययन गर्न सके हाइकुलाई झनै गहन र प्रभावकारी रूपमा व्यक्त गर्न सकिन्छ ।
फेरि अर्को हाइकु पढौँः
उद्देश्य मेरो
सगरमाथा चुम्नु
जीवन रहे !
यस हाइकुमा सगरमाथा बिम्बले गतिशील र जीवनमुखी दृष्टान्तलाई यथार्थ रूपमा उभ्याएको छ । सूक्ष्म ढङ्गले उत्साह र उमङ्गलाई आत्मसात् गर्ने अभीष्ट पैदा गरेको छ । सगरमाथाको चुचुरो दृश्यावलोकन गर्दा जति सुन्दर लाग्छ, त्यही पेरिफेरीमा जिउनु त्यति नै विषमता छ । यसलाई चिर्दै अघि बढ्नु पनि जिन्दगीको लागि एउटा साहस र सामथ्र्य व्यक्त गर्नु हो । यसप्रति हाइकुकार सजग र सचेत छन् ।
तर हाइकुमा क्षणभङ्गुरता र अनन्त सम्भावना छ । जसको सङ्केत ‘जीवन रहे’ले गर्दछ । अब तीनवटा हाइकु हेरौँः
समय आयो
रगत बगाउने
देशका लागि !
००
बग्दै छ अझै
रगत र पसिना
देशका निम्ति !
००
रातो रगत
पुर्खाले बगाएका
देश खातिर !
प्रस्तुत हाइकुमा ऋतुबोधक बिम्ब नभए पनि आगो, रगत र पसिना जस्ता बिम्ब देखा परेका छन् । ती हाइकुको भावभूमि उस्तैउस्तै छ । जसमा विद्रोहको सौन्दर्यचेतनालाई जीवन्त रूपले अभिव्यक्त गरिएको छ । नव यथास्थिति र उपभोक्तावादी संस्कृतिले देश जर्जर र भयावह अवस्थामा आइपुगेको छ । राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा आँच आएको छ । अर्थ परनिर्भरताले जरो फैल्याएको छ । सांस्कृतिक प्रदूषण, विद्रुपीकरण र विभेद व्याप्त छ । यस प्रवृत्तिबाट मुक्त हुनु छ भने क्रान्तिकारी विद्रोह मात्रै विकल्प हुन सक्छ भन्ने हाइकुकारको ठम्याइ उपयुक्त छ । उनले मुक्तिका लागि जीवन उत्सर्ग गर्न समेत उत्प्रेरित गरेका छन् । उनी सांस्कृतिक रूपान्तरण र आमूल परिवर्तन चाहन्छन् भन्ने दृष्टिकोण प्रस्ट आएको छ ।
कुनै पनि परिवर्तनका लागि विद्रोह र रूपान्तरण हुन्छ । त्यसपश्चात् भने हाइकुकारले शान्तिको मनोकाङ्क्षालाई आत्मसात् गर्नुपर्ने बताएका छन् । यसैभित्र रहेर समुन्नत समाज निर्माण गर्न सकिन्छ । जुन हाइकु बिम्बात्मक र भावमय दृष्टिकोणले मार्मिक र सम्प्रेषणीय बनेको छ । जस्तैः
बढेछ गर्मी
चौतर्फी नेपालमा
परेन पानी !
त्यस्तै अर्को हाइकुप्रति चिन्तन गरौँः
कोसी–कर्णाली
बगिरहेछ उस्तै
बोकेर पीडा !
भारतसँगको असमान सन्धि, सम्झौता र हस्तक्षेपले नेपालको प्राकृति साधन–स्रोत, जल सम्पदा, माटो र देश दुखिरहेको छ । त्यस चोटको पीडालाई गम्भीर रूपमा हाइकुकारले चित्रण गरेका छन् । जसमा प्राकृतिक बिम्बले हाइकु ध्वन्यात्मकता, सुन्दर र सटीक रूपमा देखा परेको छ ।
अर्को हाइकु पढौँः
सुतेछ रात
चकमन्न शहर
कर्फ्यू लाग्यो कि !
प्रस्तुत हाइकुमा शासकीय त्रासदीपूर्ण समयलाई अभिव्यक्त गर्न हाइकुकार वसन्तराज अज्ञात खप्पिस देखिन्छन् । यस हाइकुमा रात, सहर र कफ्र्युजस्ता शब्दले विरोधाभासलाई सङ्केत गरेको छ । रात आफैँमा सुनसान रहने नियमित चक्र हो भने कफ्र्यु आकस्मिक र अनिश्चित परिणाम हो । यी दुवै बिम्ब र भावले रिक्तता र अनन्त सम्भावनालाई अभिव्यक्त गर्दछ । जसलाई एउटा सामथ्र्यवान् हाइकुको रूपमा लिन सकिन्छ ।
फेरि उनका केही सुन्दर हाइकुहरूको अध्ययन र विश्लेषणतिर लागौँः
हिमाल हाँस्छ
पहाडी सौन्दर्यमा
तराई मक्ख !
००
नजिस्क जून
तन्नेरी घामसँग
सौन्दर्य लुट्ला !
००
तुवाँलो खस्छ
झुपडी शिरमाथि
अगेनो चिसो !
००
कुकुर रुन्छ
मध्यरातमा सधैँ
तर्सिन्छ जून !
००
मडारिँदै छ
आकाश छेउछाउ
कालो बादल !
००
बाल्नु छ आगो
शिशिरसरि घर
चिसो अँगेनो !
००
खुलेछ बैँस
कुमारी पहाडमा
मोहनी रूप !
हाइकुकार वसन्तराज अज्ञातले विविधतायुक्त हाइकु रचेका छन् । जसमध्ये उनले प्रकृतिको विविध सुन्दरतालाई जीवन सापेक्षित रूपमा चित्रित गरेका छन् । ऋतुबोधक र प्रकृतिप्रदत्त बिम्ब विधानले मात्रै हाइकु संरचनाले सार्थक परिणाम दिन सक्छ । त्यसप्रति हाइकुकार सजग र सचेत छन् । हाइकुकार वसन्तराज अज्ञातले प्रकृति र ऋतुबोधक बिम्बको गहनतालाई व्यक्त गरेका छन् ।
उनले ‘साँझको जून’भित्र हिमाल, वसन्त, घाम, जून, फूल, शिशिर, चिसो, घाम, आकाश, बादल, दिनरात, तुवाँलो, क्षितिज, अँध्यारो, उज्यालो, हिउँ, वर्षा, साँझ, सिरेटो, आगो, गोधूलि, शिशिर, तारा, माछा, भ्यागुतो, बगैँचा, तारा, इन्द्रेनी, गुँरास, पहाड, शिरीष, बिहान, जुनेली, उन्यू, वनपखेरा, जङ्गल, साँप, पूर्णिमा, शीत, आँसु, हिउँद, पात, खोला, साँझ, खहरे, पसिना, शरद, ऐँजेरु, समुद्र, हावा, गर्मी, पहिरो, निद्रा, ओैँसी, मखमली, भूकम्प, हुरी, झरी, बिहान, शीतल, लालीगुँरासलगायतका प्रयुक्त बिम्बलाई सशक्त रूपमा चित्रित गरेका छन् । ती बिम्बमा प्रकृतिको पुज्न मात्रै होइन, मानवीकरणलाई आत्मसात् गर्दै सुन्दर र सार्थक हाइकु रचिएको छ । यस प्रकारका बिम्बबिधान बन्धित अरू हाइकु पनि छन् । यसर्थ, वसन्तजीमा हाइकु सिर्जनाको उज्ज्वल सम्भावना देखिन्छ ।
साँच्चिकै नमुना पढौँः
उज्यालो छर्दै
उदायो रातो घाम
पलायो आशा !
००
निष्पट्ट रात
चिर्दैचिर्दै मिर्मिरे
झुल्कियो घाम !
यी दुई हाइकुमा वसन्तजीले जीवनको सौन्दर्य र चेतनाको दीप खोजेका छन् । अँध्यारोको प्रतिरोधमा आशा र उत्साह भरेका छन् । यसमा घाम बिम्बले अग्रगमन र रूपान्तरणको सङ्केत गरेको छ । यी हाइकुमा केही विद्रोहको स्वर मुखरित भएको छ ।
उनले भूकम्प, कोरोना, बर्ड फ्लुलगायतको प्राकृतिक विपद् र महामारीबारे हाइकु रचेका छन् । विपद्मा पर्ने अभाव र वियोगको त्रासदी भयानक रहन्छ नै । त्यस्तो शोक र पीडालाई जापानी कवि र कलाकारले सिर्जनामार्फत नयाँ चेतना पैदा गर्छन् र सुन्दर हाइकु, हाइगा वा कविता आदि विधामा उतार्ने गर्छन् । यस प्रवृत्तिमा हाइकुकार वसन्तराज अज्ञात पनि देखा परेका छन् ।
बिसाउनीमा, कतिपय १७ अक्षर र तीन हरफलाई जोरजाम गरेकै भरमा हाइकुकार भनिन उद्दत छन् । त्यस्तो रचना सेन्यु वा सपाट टुक्रा बन्दछ । तर, हाइकुकार वसन्तराज अज्ञातद्वारा रचित ‘साँझको जून’ मा कतिपय हाइकुहरू सिद्धान्त अनुकूल रहेका छन् ।
तिनलाई हाइकुका सर्जक र अनुसन्धाताले अध्ययन गर्नु जरुरी छ । त्यस्तै, हाइकुको क्षणभङ्गुरता, अनन्त सम्भावना र विरोधाभासयुक्त जिजीविषा पाइन्छ । हाइकुको पृष्ठभूमि, बिम्बात्मक दर्शन, सिर्जनात्मक सौन्दर्यको तीव्रता छ । यस्तै सैद्धान्तिक, पठनीय र सम्प्रेषणीययुक्त हाइकुको थप अपेक्षासहित बिसाउनीमा अडेस लाग्दछु । (साँझको जूनको भूमिकाबाट, धमला नेपाल हाइकु संघका अध्यक्ष हुन्)