arrow

बाँके ट्राफिकले उठायो छ महिनामा झण्डै ९४ लाख राजश्व

सडक अनुशासनमा जोड दिँदै बाँके  ट्राफिक 

logo
सौरभ गिरी,
प्रकाशित २०७९ पुष २६ मंगलबार
bake-traffic.jpg

नेपालगञ्ज । बाँके ट्राफिकले सडक अनुशासनमा जोड दिँदै दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सडक दुर्घटना न्यूनीकरण ट्राफिकको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उसले सरोकारवाला सबैको जिम्मेवार पूर्ण व्यवहारको खाँचो महसुस गरेको छ  ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सबै नागरिकको जिम्मेवार पूर्ण कर्तव्य र इच्छाशक्तिले मात्र दुर्घटना न्यूनीकरणमा सहजता ल्याउने भन्दै सकारात्मक सोच र हातेमालोका निम्ति विभिन्न कार्यक्रमहरु गरिरहेको बताएको छ । 

ट्राफिक प्रहरीको अनुगमन र नियमन कमजोरीले मात्र दुर्घटना बढेको सामान्य बुझाइले पनि समस्या बढेको देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाह बताउँछन् । विद्यमान सवारी नीति नियम र कानुनलाई पालना गर्दै सडक अनुशासनमा ध्यान दिए दुर्घटना न्यूनीकरण गर्न सकिने शाहको बुझाई छ । 

विना लाइसेन्स र बिल बुक जथाभाबी सवारी चलाउने प्रवृत्ति दुर्घटनाको अर्को महत्त्वपूर्ण कारक भएको शाह बताउँछन् । ट्राफिकलाई छलेर अगाडि बढ्दा कुनै युद्ध जितिए जस्तो महसुस गर्ने, अभिभावकहरूले पनि आफ्ना बालबच्चा कहाँ र किन जाँदै छन् भन्ने कुराको हेक्का नराख्दा दुर्घटना बढेको देखिएको ट्राफिक प्रहरी प्रमुख शाहको भनाई छ । 

सडक अनुशासन कायम राख्दै सवारी दुर्घटना कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको उनी बताउँछन् । शाहका अनुसार  विभिन्न विद्यालय तथा क्याम्पसहरूमा गई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम समेत निरन्तर रूपमा सञ्चालन भइरहेका छन् । 

अटो-रिक्सा तथा इरिक्सा चालकहरूलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी एक महिने जनचेतनामूलक प्रशिक्षण, नेपालगञ्ज नगर क्षेत्रभित्र सञ्चालनमा रहेका इरिक्साहरुलाई नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरी दर्ता प्रक्रियामा ल्याई रुट परमिट वितरण, बाँके जिल्ला अन्तर्गत सञ्चालनमा रहेका निर्माण सामग्री ढुवानी सेवाका टिपरहरूलाई सवारी दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू, नेपालगञ्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको सडकमा अत्यधिक ट्राफिक जाम हुने हुँदा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन आवतजावत निषेध लगायतका कार्यक्रमहरु गरिएको शाहले बताए । 

यस्तै कोहलपुर नगरपालिकासँग समन्वय गरी कोहलपुर चौराहा क्षेत्रमा अव्यवस्थित तवरले पार्किङ गर्ने गरेका सवारी साधनहरू हटाई नो-पार्किङ लेखिएका बोर्डहरू राखिएको, अन्य सरोकारवाल निकायहरूसँग समन्वय गरी जिल्लाभित्र आवश्यक पर्न स्थानहरुको छनोट गरेर सचेतनामूलक होडिङ बोर्डहरू राखिएको, सवारी दर्घटना न्यूनीकरणका लागि प्रत्येक पोष्टहरुले चालक तथा सहचालकहरुसंग रुटिङ अनुसार प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम संचालन गर्दै आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

ट्राफिक प्रमुख शाहका अनुसार चाडपर्वलाई लक्षित गरी बसपार्कमा यात्रु सहायता कक्ष निर्माण गरेर यात्रुहरूका पीरमर्का तथा यात्रुहरूसँग अन्तर्क्रिया कार्यक्रम सञ्चालन, विभिन्न सङ्घ संस्थाहरूसँग समन्वय गरी सडक सुरक्षा कार्यक्रमहरु सञ्चालन, नेपालगञ्ज बजार  व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरी फुटपाथ तथा अव्यवस्थित पार्किङ हटाइएको छ । यसै गरी आन्तरिक मामिला तथा भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरी नेपालगञ्ज ट्राफिक पोष्टमा शौचालय निर्माण, अन्य सरोकारवाला निकायसँग समन्वय गरी ट्राफिक उपकरणहरू (म्याजिक लाइट, ह्युल लक, ब्रेथलाइजर, कोणहरू) उपलब्ध, नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरी ट्राफिक व्यवस्थापनका लागि एउटा मोटरसाइकल उपलब्ध, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन हुने गरी पुरस्कृत गर्ने गरेको, हुस्सु तथा बाक्लो कुहिरोको कारण हुन सक्न सवारी दुर्घटनालाई मध्यनजर गरी यस जिल्ला अन्तर्गत सम्पूर्ण सवारी साधनहरूलाई सचेतनमूलक कार्यक्रम तथा सवारी साधनहरूमा रिफ्लेक्टर स्टिकर टाँस्ने लगायत जेब्रा क्रसिङ लाइन बनाउने कार्यलाई समेत निरन्तरता दिइएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न अबदेखि बाँके ट्राफिकले दैनिक जिल्लाभरका धेरै जसो स्थानमा राती ८ बजेदेखि ११ बजेसम्म मापसे जाँच सुरु गर्दैछ।

सवारी साधनमाथि निगरानी बढाउँदै आएको बताउने बाँके ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा झण्डै ९४ लाख राजश्व सङ्कलन गरेको छ । साउनदेखि हालसम्म १५९५० सवारी साधन कारबाहीमा ९३ लाख ८० हजार ५ सय राजश्व सङ्कलन भएको हो । सबैभन्दा बढी सवारी कारबाही कार्तिक महिनामा हुँदा बढी राजश्व पनि यही महिनामा उठेको छ । ३१५० सवारी साधन कारबाहीमा पर्दा १८ लाख १० हजार राजश्व उठेको हो । अघिल्लो आर्थिक वर्षमा ट्राफिक प्रहरीले २ करोड २५ लाख ६७ हजार पाँच सय राजश्व उठाएको थियो । 

चालू आर्थिक वर्ष २०७९८० को हालसम्म जिल्लामा ५३ वटा सवारी दुर्घटना हुँदा ३० जनाले ज्यान गुमाएको तथ्याङ्क ट्राफिक प्रहरीसँग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ