arrow

केपी ओली र माधव नेपालबीच दूरी बढ्यो, तत्काल ठूलो दल बन्ने एमालेको सपना चकनाचुर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
ko-oli-madhav-nepal1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि संसदमा नेताहरुबीच देखिएको जुहारीले सम्बन्धलाई कसिलो बनाउने भन्दा पनि बढाउने देखिएको छ । खासगरी एमालेबाट विभाजन भएको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति गरेको टिप्पणीले त्यस्तो अवस्था देखिएको हो । 

प्रतिनिधि सभाको शुरुआती बैठकमै संसद् विघटनको मुद्दामा ओलीले तत्कालीन समयमा ठीक भएको बताएपछि नेपालले त्यसमा प्रतिवाद गरेका थिए ।  संसद् विघटन प्रधानमन्त्रीको अधिकार हो वा संविधानको व्याख्यामा भर पर्छ भन्नेमा केन्द्रीत भएर ओलीले धारणा राखेका थिए । 

ओलीले जुनसुकै बेला प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने जिकिर गर्दै अघिल्लो सरकारप्रति कटाक्ष गरेका थिए । उनीपछि बोल्ने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष नेपालले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको असीमित अधिकार नदिएको बताएर ओलीको भनाइलाई खण्डनमात्रै गरेनन् संसद विघठन नहुने दाबीसमेत गरे । उनीहरु तीनै जनाको संशयमा प्रधानमन्त्री प्रचण्डले संविधानप्रतिको आफ्नो प्रतिबद्धतामा तलमाथि नहुने बताएर संसदमा भनाई टुंग्याएका थिए ।  

नयाँ संसद्को पहिलो बैठकमै उनले अघिल्लो कार्यकालमा आफूले गरेको संसद् विघटनको बचाउ गरेका थिए ।  शीर्ष नेताबीच घोचपेच भयो ।

 ‘एकताका नेपालमा बडो हल्ला चलाइयो, प्रतिनिधि सभा विघटन भनेको प्रतिगमन हो । त्यसो भए बेलायतमा त कतिपटक प्रतिगमन भएछ, भएछ । संघीय प्रणालीको जन्मदाता देशमा प्रतिगमन अस्तिसम्म पनि भएकोभयै थियो । यति धेरै जान्ने पनि अलि नहोउँ कि’, ओलीले आफ्नो कदमको रक्षा गर्दै सोमबार पहिलो बैठकमा भनेका थिए, ‘मौकाअनुसार यति धेरै व्याख्या पनि नगरौँ । प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन, जनताको अभिमतका लागि जनतामा जानु प्रतिगमन होइन । संसदबाट सरकार बन्नु, संसदबाट सरकार ढल्नु प्रतिगमन होइन । अन्यत्र लगेर षड्यन्त्रबाट सरकार ढाल्ने गरियो भने प्रतिगमन हुन्छ ।’ 

यसो भन्दै गर्दा नयाँ संसदमा पुराना मुद्दा उठाएर ओलीले घोचपेच गरेपछि एसका अध्यक्ष माधव नेपालले गल्ती स्वीकार गर्न नसकेको भन्दै कटाक्ष गरेर  संसद विघटन नहुने बताइदिए ।

 ‘हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभावी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् । ख्याल होस्, संसद् विघटन गरेर प्रतिगमनको कदम चालिएको थियो । त्यस्तो कदम फेरि नचालियोस् । मैले त यो गठबन्धनले शिक्षा लिएको होला, महसुस गरेको होला, आत्मालोचना पनि गरिसकेका होला भनेको त यहाँ गर्जेको देख्दा त अचम्म पो लाग्यो,’ नेपालले भनेका थिए । 

उनले  प्रतिनिधि सभा विघटन कसैको लहडको भरमा नहुने भन्दै ओलीतिर संकेत गरेर सर्वोच्च अदालतले नै व्याख्या गरेको विषयमा धेरै ठूलो स्वर नगर्नसमेत चेतावनी दिए ।

 ‘सर्वोच्च अदालतले व्याख्या गरिसकेको छ, फेरि त्यसपछि पनि स्वर ? कतिपय देशमा संविधानको व्याख्या गर्दा संविधान निर्माताले के बोलेका छन् भनेर पाना पल्टाइन्छ,’ नेपालले भने, ‘संविधान बनाउँदा बहुत बहस भएको छ । जथाभावी बीच–बीचमा संसद् भंग गर्दा राजनीतिक अस्थिरताको स्थिति पैदा गरेको हुनाले राजनीतिक स्थायित्वका निम्ति एकपटक सरकार बनेर विश्वासको मत प्राप्त गरिसकेपछि दुई वर्षसम्म सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन भन्ने प्रबन्ध संविधानमा भएको छ । त्यसैगरी अर्को सरकार गठन हुने विकल्प भएसम्म प्रतिनिधिसभा विघटन गर्न कसैको लहडको भरमा पाइँदैन ।’

नेपालले भने, ‘कहिले जापानका कहिले कहाँको कुरा ल्याएर हुँदैन । हामीले पनि संसारको संविधान पढेरै ०४७, ०६३ र ०७२ मा संविधान लेखेको हो । प्रतिनिधि सभा विघटन गर्ने कुरा गलत थियो । त्यसैले त्यो प्रतिगामी कदम भनेको हो । त्यसलाई स्वीकार गरेपछि पोल्छ भने शब्द बदलिदिउँला, नबोलिदिउँला । तर, महसुस त हुनुपर्यो, महसुस नै छैन । त्यस्तो काममा वर्तमान सरकार नजाओस् ।’

यी दुई नेताहरुको घोचपेचले नेकपा एस तत्कालै एमालेतिर नढल्कने अवस्था सिर्जना भएको छ । दुवै नेताहरुले समय पाएपछि एकले अर्कालाई घोचपेच गरेका कारण एसलाई ल्याएर एमालेलाई संसदमा सबैभन्दा ठूलो पार्टी बनाउने एमालेका केही नेताहरुको पहल पनि रोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ